प्युठान । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले प्यूठानको दरिमचौरमा आफ्नो ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजना सफलतापूर्वक उद्घाटन गरेको छ । यो पाइलट परियोजना बिपिसीद्वारा सञ्चालित १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्रको परिसरमा स्थापना गरिएको हो ।
भविष्यको स्वच्छ ऊर्जा समाधानको रूपमा नेपालमा हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषण र व्यावसायिक सम्भावना पहिचान गर्न यो यसलाई महत्त्वपूर्ण कदम मानिएको छ । यहाँबाट नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत् इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्दछ ।
परियोजनालाई विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य (युके) सरकारको विदेश, विभाग तथा विकास कार्यालय अन्तर्गत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको बिपिसीले जानकारी दिएको छ ।
विश्वव्यापी रूपमा न्यून-कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा हरित हाइड्रोजनलाई क्रान्तिकारी ऊर्जा वाहकका रूपमा हेरिएको छ । नवीकरणीय स्रोतबाट उत्पादित बिजुलीको प्रयोग गरी पानीलाई इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत हाइड्रोजन र अक्सिजनमा टुक्रयाएर यो ग्यास उत्पादन गरिन्छ । यसरी उत्पादित हरित हाइड्रोजनले यातायात, भारी उद्योग, रासायनिक मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण जस्ता क्षेत्रहरू, जहाँ प्रत्यक्ष विद्युतीकरण कठिन मानिन्छ, त्यहाँ कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बहस हुँदै आएको छ ।
बिपिसीको यस पाइलट प्लान्टमा ५० किलोवाट क्षमताको अत्याधुनिक क्षारीय इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ, जसले ९९.९९ प्रतिशतसम्मको उच्च शुद्धता भएको हाइड्रोजन उत्पादन गर्ने विश्वास गरिएको छ । उत्पादित हाइड्रोजनलाई १५० बारको उच्च चापमा सङ्कुचित गरी विशेष सिलिण्डरमा भण्डारण गरिने व्यवस्था मिलाइएको छ । भण्डारित हाइड्रोजनबाट भविष्यमा विभिन्न सम्भावित प्रयोगको प्राविधिक परीक्षण तथा मूल्याङ्कन गरिने बताइएको छ ।
चीनको सीपीयु हाइड्रोजन पावर टेक्नोलोजी कम्पनी लिमिटेडले परियोजनाको इन्जिनियरिङ, खरिद र निर्माणमार्फत काम पूरा गरेको छ । २०८२ साल चैत ३० गते प्लान्ट सफलतापूर्वक सञ्चालनमा ल्याइएको थियो । सोही दिन पहिलो हाइड्रोजन सिलिण्डर सफलतापूर्वक भरिएको पनि बिपिसीले जनाएको छ ।
नेपालले आफ्नो दीर्घकालीन ऊर्जा रणनीतिमा हरित हाइड्रोजनको भूमिकाबारे गृहकार्य गरिरहेको सन्दर्भमा यो परियोजना अत्यन्तै समय सान्दर्भिक देखिएको छ । प्रचुर जलविद्युत् क्षमता भएको नेपालले वर्षायामको अतिरिक्त नवीकरणीय विद्युतलाई हरित हाइड्रोजनमा रूपान्तरण गरी घरेलु उपयोग, औद्योगिक प्रयोजन, यातायात तथा क्षेत्रीय बजारमा निर्यात समेत गर्न सक्ने प्रचुर सम्भावना देखिन् छ।
यही सिलसिलामा नेपाल सरकारले समेत हेटौँडामा २.५ मेगावाट क्षमताको अर्को हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने योजना बनाएको छ, जसले यस प्रविधिमा देशको बढ्दो चासोलाई थप पुष्टि गर्नेछ ।
बिपिसीका अनुसार यो परियोजना ऊर्जा नवप्रवर्तन र उदीयमान स्वच्छ ऊर्जा प्रविधिप्रति कम्पनीको प्रतिबद्धताको प्रतीक मानिएको छ । यसबाट हाइड्रोजन उत्पादन, सङ्कुचन, भण्डारण, सुरक्षा मापदण्ड, प्राविधिक कार्यसम्पादन तथा आर्थिक व्यवहार्यता सम्बन्धी महत्त्वपूर्ण व्यवहारिक अनुभव र सिकाइ प्राप्त हुनेछ ।
प्राप्त अनुभवले भविष्यमा व्यवसायिक स्तरका आयोजनाहरूको विस्तार र नेपालको स्वच्छ ऊर्जा मिश्रणमा हाइड्रोजन एकीकरण सम्बन्धी नीतिगत तथा व्यावसायिक निर्णयमा मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।
लुम्बिनी प्रदेशका सांसद, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च प्रतिनिधिहरू, प्युठान जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, एफसिडिओ, विश्व बैंक, बिपिसी, नेपाल विद्युत प्राधिकरण तथा नेपालको ऊर्जा क्षेत्रसँग आबद्ध विभिन्न सरोकारवालाको सहभागितामा परियोजनाको उद्घाटन गरिएको थियो ।
बिपिसी नेपालको निजी क्षेत्रको अग्रणी ऊर्जा कम्पनी हो, जसले जलविद्युत् विकास र ऊर्जा क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर स्वच्छ र भरपर्दो ऊर्जा समाधानमार्फत नेपालको दिगो भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको छ ।