काठमाडौँ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले ताप्लेजुङमा प्रवर्द्धन गर्न लागेको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनामा लगानी जुटेको छ । कुल २३ अर्ब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा लगानी जुटेको हो ।
आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा कृषि विकास बैंक, नेपाल एसबीआई बैक, ज्योति विकास बैंक, आइसिएफसी फाइनान्स, नेपाल फाइनान्स र गुडविल फाइनान्सको ऋण लगानी रहने गरी बिहीबार सहवित्तीयकरण ऋण लगानी सम्झौता गरेको हो । सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र बैंकहरूका तर्फबाट नेतृत्वकर्ता सिद्धार्थ बैंकका कर्पोरेट क्रेडिट प्रमुख अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कुल लागतको ७५ प्रतिशत बैंकको ऋण लगानी हुनेछ भने बाँकी २५ प्रतिशत प्रवर्द्धक कम्पनीले स्वपुँजी लगानी गर्ने छ ।
आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्रवर्द्धक कम्पनीले २०७७ साल असोज २५ गते विद्युत् विकास विभागबाट प्राप्त गरिसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए रिपोर्ट) २०७५ असार ३१ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ । त्यस्तै, २०८० साल असोज २४ गते नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ ।
प्रवर्द्धक कम्पनीका अनुसार हालसम्म आयोजनाको मुख्य संरचनाहरू निर्माण चालु रहेको २५ प्रतिशत निर्माण प्रगति भइसकेको छ । आयोजनाले २०८५ साल असोज २५ गतेसम्ममा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेर काम गरिरहेको छ ।