काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का सल्लाहकार मोतिलाल दुगडले आगामी इपान कार्यसमितिको चुनाव निष्पक्ष र विवादरहित बनाउन सुझाव दिएका छन् । अध्यक्ष दुगडले इपान अध्यक्ष गणेश कार्कीलाई पत्रमार्फत आइतबार ४ बुँदे सुझाव दिएका हुन् ।
सुझाव पत्रमा उनले भनेका छन्, ‘मत दिने व्यक्ति सदस्य कम्पनीको सञ्चालक समितिको अध्यक्ष र सदस्यहरू (स्वतन्त्र सञ्चालकबाहेक) मध्य एक व्यक्तिले मात्र मतदान गर्न पाउनु पर्दछ । यो प्रवर्द्धकहरूको संस्था भएकोले कर्मचारीहरूले मतदान गर्न नपाउने व्यवस्था गर्नु पर्दछ । बहालवाला सञ्चालक समितिका सदस्यहरूको नाम अध्यक्ष वा कम्पनी सचिवले प्रमाणित गरेर दिनु पर्दछ ।’
त्यस्तै, नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र मध्ये कुनै एउटा सक्कल परिचयपत्रमार्फत मतदानको व्यवस्था गर्नुपर्ने, कम्पनी नवीकरण गराउँदा कम्पनीको एकाउन्ट पे चेकले मात्र भुक्तानी लिनुपर्ने र सञ्चालक समितिमा सदस्य कम्पनीको प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक (उच्चतम) पदमा रहने व्यक्तिले समय उम्मेदवार हुन पाउने व्यवस्था गर्न उनको सुझाव छ ।
उल्लिखित सुझावहरू कार्यान्वयन गरी नयाँ कार्यसमितिको चुनाव गराए विवादरहित हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
इपानको २४औँ साधारण सभा तथा ८औँ अधिवेशन आगामी जेठ २९ गते गर्ने गरी इपानले आवश्यक तयारी अघि बढाइरहेको छ ।