विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एकपछि अर्काे जलविद्युत आयाेजना निर्माण हुने क्रम बढिरहँदा बजारमा लगानीयाेग्य पुँजीकाे संकट थपिँदै गएकाे छ । बैंक वित्तीय संस्थाहरूमा रहेकाे तरलता संकुचन, देशभित्रै पुँजी निर्माण हुन नसक्नु र वैदेशिक लगानी भित्रिने वातावरण नबन्नु जस्ता कारणबाट पीडित जलविद्युत प्रवर्द्धकहरूले वैकल्पिक बाटाे राेजेका छन्, हकप्रद सेयर जारी गरेर पुँजी संकलन गर्ने ।

पछिल्लाे समय विद्युत नियमन आयाेग तथा नेपाल धिताेपत्र बाेर्डले समेत जलविद्युत कम्पनीहरूलाइ हकप्रद सेयर जारी गर्ने प्रावधान खुकुलाे बनाइदिएकाे छ । यही आधारमा टेकेर सक्षम मात्र हाेइन, बैंक ऋणकाे किस्ता तिर्न नसक्ने कमजाेर र आर्थिक अपारदर्शिताबाट चलेका कम्पनीहरूले समेत हकप्रद सेयर निष्कास गरी सर्वसाधारणबाट रकम उठाउन थालेका छन् ।

जलविद्युत आयाेजना विकास गर्ने सन्दर्भमा यी गतिविधिहरू धेरै हदसम्म सकारात्मक रहे पनि अन्ततः सर्वसाधारणसँगकाे सानाे सानाे पुँजी समेत अयाेग्य आयाेजनामा दशकाैंसम्म फस्ने खतरा देखिएकाे छ । यसमा नियमनकारी निकायले बेलैमा ध्यान पुर्याउनुपर्ने यस क्षेत्रका विश्लेषकहरू बताउँछन् ।

चालू आर्थिक वर्ष (आव) २०७९/९० मा मात्र १० हाइड्रो पावर कम्पनीले जलविद्युत आयोजना निर्माण तथा सेयर लगानी गर्न र बैंककाे ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाएका छन् । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, अरुण भ्याली हाइड्रो पावर लिमिटेड, बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले सेयर निष्कासन प्रक्रिया अघि बढाएका छन् ।

यसैगरी, आँखु खोला जलविद्युत कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, अपि पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गरी आयोजनाको निर्माण प्रक्रिया अघि बढाएका छन् । जसमा केही आयोजना निर्माणाधीन छन् र केही निर्माणमा जाने तयारीमा छन् । हकप्रद सेयर निष्कासन अनुमति दिँदा ५ मेगावाटका आयोजनाले ५० मेगावाटबढी क्षमताको अर्को आयोजना बनाउन सुरु गरेका छन् ।

२०७८ भदौदेखि ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट  व्यापारीक उत्पादन सुरु गरेको अप्पर तामाकोसीले दुई जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । १ः१ को अनुपात अर्थात १० करोड ५९ लाख कित्ता सेयर निष्कासनपश्चात प्राप्त रकम ९९.५ मेगावाटको तामाकोसी–५ र २० मेगावाटको रोल्बालिङ खोलामा लगानी गर्ने कम्पनीको योजना छ ।

यसैगरी, ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरीररहेको नेशलन हाइड्रोले २६.१५ मेगावाटको ३ आयोजनामा लगानी गर्न १०ः५ को अनुपातमा सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासनपश्चात प्राप्त रकम निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा, ४.५ मेगावाटको तल्लो इन्द्रावतीमा लगानी गर्ने र सञ्चालनमा रहेको इन्द्रावती तेस्रोको जिर्ण उपकरण फेरबदल गर्ने कम्पनीको योजना छ ।

५ मेगावाटको घलेम्दी निर्माण सम्पन्न गरी सञ्चालन गरीरहेको घलेम्दी हाइड्रोले ६३ मेगावाटको छुजुङ आयोजनामा लगानी गर्ने भएको छ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित आयोजना लगानी गर्न घलेम्दीले १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

अरुण भ्यालीले पनि ३० मेगावाटको लिखु खोलामा लगानी गर्ने भएको छ । ३ मेगावाटको पिलुवा खोला र ९.८४ मेगावाटको काबेली बी–क्यासकेड सञ्चालन गरिरहेको कम्पनीले सेयर निष्कासनपश्चात प्राप्त रकम पिके हाइड्रो पावरद्वारा प्रवर्द्धित आयोजनामा साढे ९३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गर्ने भएको हो । बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३ सय रुपैयाँ कम्पनीले सञ्चालनमा गरीरहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना निर्माण गर्दा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

धादिङमा ८.४० मेगावाटको आँखुखोला सञ्चालन गरिरहेको आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २० मेगावाटको आँखुखोला–२ मा लगानी गर्न १ः१.५ को अनुपातमा सेयर निष्कासन गर्ने तयारी गरेको छ । गणेश हिमाल हाइड्रो पावर प्रालिले निर्माण गर्न लागेको आयोजनामा स्वपूँजीको ६० प्रतिशत लगानी गर्ने तयारी गरेको छ ।

दोलखामा २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सिंगटीले ३५ मेगावाटभन्दा बढी क्षमताका आयोजनामा लगानी गर्न १ः१ को अनुपातमा सेयर निष्कासन गर्न लागेको छ । सेयर जारीबाट प्राप्त रकम अर्बिट इनर्जी प्रालिद्वारा प्रवर्द्धित २१.५ मेगावाटको सभा खोला ‘बी’ र ६.३ मेगावाटको सभा खोला ‘सि’ मा ५१ प्रतिशत र ह्याबिट्याट पावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित ७.५ मेगावाटको हेवा ‘ए’ मा ५१ प्रतिशत लगानी गर्ने जनाइएको छ ।

तेह्रथुम पावरले २ मेगावाटको खोरुङ्गा ताङमाया खोला जलविद्युत आयोजनामा लगानी जुटाउन १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत केन्द्रको क्यासकेडको रुपमा पहिचान भएको आयोजना निर्माण गर्न लागेको हो ।

बागलुङ जिल्लाको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला सञ्चालन गरिरहेको बाराहीले ३.४५ मेगावाटको सिंकोस खाला र ०.७५ मेगावाटको तल्लो ठेउले खोला जलविद्युत (क्यासकेड) आयोजना निर्माण गर्न १ः१ को अनुपातमा सेयर निष्कासन गर्न लागेको हो ।

राधी विद्युतले पनि कसुवा खोला हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत सेयर लगानी गर्न हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । यसैगरी, अपि पावर कम्पनीले पनि निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलियामा लगानी गर्न हकप्रद सेयर निष्कासनको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit