विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २६, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
१६ हजार मेगावाटको पिपिए खुलाउनुपर्नेसहित इपानका १३ बुँदे माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया अघि बढाएको जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीसँगको भेटमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यस्ताे जानकारी गराएका हुन् ।

इप्पानको प्रतिनिधि मण्डलसँगको भेटमा श्रेष्ठले आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसिओडी) थपका लागि समेत प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार आरसिओडी थपसम्बन्धी विषयमा आयोजना र समस्याको प्रकृति अनुसार आयोजनाहरूलाई ‘ए’ र ‘बी’ वर्गमा वर्गीकरण गरी बनाएर काम सुरु गरिएएको छ ।

निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण र इपानबीच संयुक्त संयन्त्र बनाएर अघि बढ्न आफूहरू तयार रहेको पनि कामु कार्यकारी निर्देशक श्रेष्ठले बताए । निजी क्षेत्रका ऊर्जा उत्पादकसँग नियमित संवाद, समस्या पहिचान र समाधानका लागि संस्थागत संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस्तै, निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण क्षेत्रमा सहभागी गराउने विषयमा समेत प्राधिकरण सहजीकरण गर्न तयार रहेको श्रेष्ठले बताएका छन् । विद्युत् उत्पादनमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले आगामी दिनमा विद्युत् व्यापार, प्रसारणलगायतका क्षेत्रमा समेत निजी क्षेत्रको सहभागिता विस्तार गर्न सहजीकरण गर्ने उनको भनाइ थियो ।

भेटमा इपान अध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न प्राधिकरणसँग आग्रह गर्दै तत्काल आवेदन दिएका १६ हजार मेगावाटका आयोजनाको पिपिए खुला गर्न माग गरे । ‘लामो समयदेखि पिपिए हुन नसकेका आयोजनाको समस्या तत्काल समाधान गर्ने १६ हजार मेगावाटको सीमा नै खुला गरेर सबै योग्य आयोजनाको पीपीए प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले भने, ‘पिपिए रोकिँदा अध्ययन तथा निर्माणको चरणमा रहेका आयोजनाहरूको लगानी, वित्तीय व्यवस्थापन र समग्र आयोजना विकासमा असर परेको छ ।’

अध्यक्ष डाँगीले निजी क्षेत्रले विद्युत् उत्पादनमा ठूलो लगानी गरिसकेको र आगामी दिनमा पनि ठूलो लगानी गर्ने तयारीमा रहेकाले नीतिगत तथा कार्यान्वयन तहका समस्याका कारण लगानीको वातावरण बिग्रन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्ने बताए ।

पछिल्लो समय प्राधिकरणबाट जलविद्युत् आयोजनाको पिपिएका लागि जारी गरिएका 'विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि, २०८३' का कारण निजी ऊर्जा उत्पादकमा थप अन्योल सिर्जना भएको भन्दै उक्त निर्देशिका खारेज गरेर निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्न माग गरे । निजी क्षेत्रका समस्यालाई सामान्य प्रशासनिक मात्र नभई ऊर्जा क्षेत्रको दीर्घकालीन विकाससँग जोडिएको विषयका रूपमा लिएर समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

डाँगीले निजी क्षेत्र र प्राधिकरणबीच सहकार्य बलियो बनाएर मात्रै मुलुकले उत्पादन गरेको विद्युत्‌को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार र विद्युत् निर्यातको लक्ष्य हासिल गर्न सकिने बताए । आगामी दिनमा प्राधिकरण र निजी क्षेत्रबीच समस्या–समाधानमुखी संवादलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

इपानले प्राधिकरणसमक्ष पेश गरेको मागपत्रमा प्राधिकरणको प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण प्रवर्द्धकलाई परेको आर्थिक क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने, प्रसारण लाइन उपलब्ध नभएसम्म ‘कन्टिन्जेन्सी’ तथा ‘टेक एण्ड पे’ पिपिएको अभ्यास अन्त्य गरी आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् खरिद सुनिश्चित हुने व्यवस्था गर्नुपर्ने तथा माग पनि इपानको छ । निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउने, ग्रिड एक्सेसलाई लगानीमैत्री बनाउने तथा ह्विलिङ चार्ज वैज्ञानिक, पारदर्शी र न्यायोचित आधारमा निर्धारण गर्नुपर्ने मागसमेत इपानले राखेको छ ।

त्यसैगरी, लागत वृद्धि, मुद्रास्फीति तथा वित्तीय अवस्थालाई आधार मानेर पिपिए दरको पुनरावलोकन गर्नुपर्ने र उत्पादन अनुमतिपत्रभन्दा कम अवधिका लागि पिपिए भएका आयोजनाको बाँकी अवधिका लागि पिपिए नवीकरणको व्यवस्था गर्नुपर्ने माग इपानले गरेको छ ।

इपानले अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंककाे लगानीका लागि योग्य हुने गरी पिपिएको ढाँचा तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने, निजी क्षेत्रका आयोजनाको ग्रिड कनेक्सन प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउनुपर्ने तथा प्राधिकरण र निजी ऊर्जा उत्पादकबीच नियमित संवाद, समस्या समाधान र नीतिगत समन्वयका लागि स्थायी संयुक्त संयन्त्र गठन गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३