काठमाडौँ । दाङमा सञ्चालित घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र धनुषामा सञ्चालित कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालिले लोडसेडिङका बेला डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युत्को बक्यौता महसुल रकमको पहिलो किस्ता तिरेका छन् । बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी नेपाल विद्युत् प्राधिकरणलाई पहिलो किस्ता बुझाएका हुन् ।
घोराही सिमेन्टले कुल बक्यौता ५० करोड ८५ लाख रुपैयाँ रहेकोमा पहिलो किस्ता बापत १ करोड ८१ लाख ६१ हजार ९७६ रुपैयाँ बुझाएको हो । त्यस्तै, कसमस सिमेन्टले ९ करोड ७७ लाख रुपैयाँ कुल बक्यौता मध्ये ३५ लाख रुपैयाँ तिरेको हो ।
उनीहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइनको बिजुली प्रयोग गरे बापतको प्रिमियम महसुल बुझाउन सुरु गरेका हुन् ।
बक्यौता महसुलको पहिलो किस्ता बुझाएपछि सम्बन्धित उद्योगमा प्राधिकरणले विद्युत् लाइन जोडिदिएको छ । विद्युत् महसुल नबुझाएका उद्योग मध्ये कात्तिक ४ गते ६ वटा र ८ गते १९ वटा गरी २५ वटा उद्योगको लाइन काटिएको थियो । लाइन काटिएका १७ उद्योगले हालसम्म पहिलो किस्ता बुझाएर विद्युत् सेवा सुचारु गराइसकेका छन् ।