काठमाडौँ । कालिञ्चाेक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यस मध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता प्राथमिक सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । सो सेयर खरिदका लागि दोलखाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका– १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरका ८२ लाख ५०० हजार कित्ता साधारण वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते निष्कासन बन्द हुने छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते निष्कासन बन्द हुने छ ।
केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ ।