काठमाडौँ । कालिका सन पावर प्रालिले प्रवर्द्धन गर्न लागेको ५ मेगावाटको जानकी सौर्य विद्युत् आयोजनाको विद्युत् प्रसारण गर्न ३३ केभी लाइन निर्माण गरिने भएको छ । यसका लागि अनुमति पत्रको माग गर्दै प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।
आयोजनाका अनुसार बाँकेको कोहलपुर नगरपालिका–१४ मा निर्माण गर्न लागिएको आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न ११.६६ किलोमिटर लामो सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रसारण लाइन अन्तर्गत आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको नेपालगन्ज सबस्टेसनसम्म ३४४ वटा पोलहरू जडान गरिने छ ।
पोलहरूको उचाइ न्यूनतम ११ देखि अधिकतम १४.५ मिटरको रहने छ । यसका लागि ०.००८६ हेक्टर जग्गा आवश्यक पर्ने र विद्युत् मार्गको क्षेत्राधिकार (राइट अफ वे) का लागि दायाँबायाँ ३/३ मिटर गरी कुल ६.९९८४ हेक्टर जग्गा आवश्यक पर्ने छ ।
प्रसारण लाइनको निर्माण १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लाइन निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिए ३५ दिनभित्र विभाग वा आयोजना प्रवर्द्धक कम्पनी समक्ष लिखित राय–प्रतिक्रिया दिन आह्वान गर्दै विभागले बुधबार सूचना जारी गरेको छ ।