काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्ने छन् । १८ वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकले आगामी कात्तिक २८ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीका अनुसार यस पटकदेखि नबिल एसएसई कार्यक्रमलाई देशको विकास, गरिबी निवारण र सशक्तीकरणको लक्ष्यसहित गरिब र विपन्न वर्गलाई केन्द्रित गरिएको बताए ।
'मुलुकको विकासप्रति हाम्रो प्रतिबद्धता पूरा गर्न सामाजिक उद्यमीको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेका उनको भनाइ छ । नबिल एसएसई अन्तर्गतका कार्यक्रम उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालन गर्दै पछाडि पारिएका समुदायसम्म पुग्न तथा वित्तीय नवप्रवर्तन प्रवर्द्धन गर्दै समावेशी विकास र रोजगारी सिर्जनामा केन्द्रित भएको बताए ।
नबिल एसएसई अन्तर्गत दुई वटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन् । बैंककाअनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौँ समूहका लागि आवेदन खुलाइएको हो । छ महिना अवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायसँगको सहकार्यमा सञ्चालन भइरहेको छ ।
फेलोसिप कार्यक्रम स्टार्टअप तथा नवीनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन् । साथै, नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् । फेलोसिपअन्तर्गत हालसम्म ७६ जना सहभागी भई ६२ जना उद्यमी सञ्चालन भइरहेका छन् ।
त्यसैगरी, सर्टिफिकेट कोर्स सात वटै प्रदेशमा सञ्चालित छ । तीन महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । बैंकका अनुसार हाल यो कोर्स कोसी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेस प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्ड्री इङ्लिस बोर्डिङ स्कुल र बागमती प्रदेशमा क्याम्पियन कलेजमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
साथै, लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशको सुर्खेतस्थित सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूर पश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालित छ । सामाजिक उद्यमीमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । हालसम्म सर्टिफिकेट कोर्समा आबद्ध भई एक हजार ६९ जनाले लाभ लिइसकेका छन् ।
बैंकले यस वर्षदेखि नबिल एसएसई सर्टिफिकेट कोर्सलाई प्रदेशअनुसार फरक फरक प्राथमिकताका क्षेत्रहरू निर्धारण गरी सञ्चालन गर्ने भएको छ । जसअनुसार कोसी प्रदेशमा हाई भ्यालु क्रप्स, मधेसमा एग्रो भ्यालु चेन, बाग्मतीमा डिजिटल नवप्रवर्तन तथा हरित उद्यम विकास र गण्डकीमा सामुदायिक होमस्टे र पर्यटन प्रवर्द्धन कार्यक्रमलाई मुख्य प्राथमिकता दिइने छ । साथै लुम्बिनी प्रदेशमा एग्रो भ्यालु चेन, धार्मिक पर्यटन, संस्कृतिसँग सम्बन्धित उद्यमशीलता, कर्णालीमा पर्वतीय उद्यम अभियान, मौरी पालन, बाँस र जडीबुटीजन्य उद्यम प्रवर्द्धन र सुदूरपश्चिममा ग्रामीण पर्यटन र पशुपालन उद्यम प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।
बैंककाअनुसार नबिल एसइईका दुवै कार्यक्रममा सहभागी हुन चाहनेले नबिल बैंकको वेबसाइट, नबिल एसएसईको सोसल मिडियामार्फत आवेदन दिन सक्नेछन् । बैंकले नबिल एसएसईलाई दिगो विकासमा योगदान पुर्याउने उद्यमशीलतालाई सुदृढ गर्न आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ । यस कार्यक्रममार्फत हालसम्म १७ हजारभन्दा बढी रोजगारी सिर्जनामा सहयोग पुगेको बैंकको भनाइ छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ ।