काठमाडौँ । नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी) को १३औँ बैठक मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । द्विदेशीय ऊर्जा सहकार्य र साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यसहित बैठक बस्न लागेको हो ।
बैठकमा नेपाली प्रतिनिधि टोलीको नेतृत्व मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गर्ने छन् । भारतीय पक्षको नेतृत्व भारतको विद्युत् मन्त्रालयका विद्युत् प्रसारण हेर्ने सहसचिव पंकज कुमारले गर्ने भएका छन् ।
बैठकमा सीमापार विद्युत् प्रसारण पूर्वाधारको सुदृढीकरण तथा विस्तार, विद्युत् व्यापारमा सहजीकरण, विगतका द्विपक्षीय सहमति–समझदारीहरूको कार्यान्वयन समीक्षा जस्ता विषयमा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बैठकले अघिल्लो पटक भरतको नयाँ दिल्लीमा भएको १२औँ बैठकबाट भएका निर्णयहरू कार्यान्वयनको समीक्षा गरी आगामी दिशाबारे निर्णय गर्ने छ । जेडब्लुजीको अघिल्लाे बैठकले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् आयात–निर्यात क्षमता ८०० मेगावाटबाट १००० मेगावाट पुर्याउने निर्णय गरेको थियो । त्यस्तै, चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, इनरुवा–पूर्णिया तथा दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन संयुक्त लगानी मोडेलमा निर्माण गर्ने, थप विद्युत् निर्यातका लागि नयाँ प्रसारण पूर्वाधार विकास गर्ने तथा विद्युत् निर्यात स्वीकृतिलाई थप सहजीकरण गर्नेलगायतका निर्णयमा सहमति गरेको थियो ।
संयुक्त कार्य समूहको बैठकका निर्णय, सहमति तथा सिफारिसलाई बुधबार बस्ने द्विदेशीय सचिवस्तरीय संयन्त्र (संयुक्त निर्देशक समिति–जेएससी) को बैठकमा प्रस्तुत गरी छलफल गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । बुधबारको बैठकको नेतृत्व भने नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले गर्नेभएकी छन् ।