काठमाडौँ । गोरखाको धार्चे गाउँपालिकास्थित माछा खोलामा निर्माण भइरहेको १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । कृषि विकास बैंक लिमिटेडको अगुवाइ र लुम्बिनी विकास बैंक लिमिटेडको सहभागितामा यस आयोजनाका लागि ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन पूरा गरिएको हो ।
आयोजनाको प्रवर्द्धक वाटर इनर्जी डेभलपमेन्ट प्रालिका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य र सहवित्तीयकरण ऋण लगानीको नेतृत्वकर्ता कृषि विकास बैंकका योगेन्द्रबहादुर सिंह र लुम्बिनी विकास बैंकका भेषराज गौतमले शुक्रबार उक्त ऋण लगानी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कुल ३ अर्ब ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७३.२२ प्रतिशत अर्थात् २ अर्ब ६८ करोड रुपैयाँ ऋणमार्फत व्यवस्थापन गरिने भएको छ । सम्झौता अनुसार आयोजनामा कृषि विकास बैंकले १ अर्ब ५० करोड र लुम्बिनी विकास बैंकले १ अर्ब १८ करोड रुपैयाँ लगानी गर्नेछन् । बाँकी ९८ करोड रुपैयाँ संस्थापक तथा अन्य लगानीकर्ताबाट सेयरका रूपमा लगानी जुटाइने छ ।
प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाबाट वार्षिक ९८.४९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । यसमध्ये ३२.४२ प्रतिशत सुख्खायाममा र ४७.५८ प्रतिशत वर्षायाममा उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादन हुने ऊर्जालाई २२ किलोमिटर लामो प्रसारण लाइनमार्फत् विद्युत् प्राधिकरणको बोराङ सबस्टेसनमा जोडिने छ ।
आयोजनाको पहिलो वर्षको अनुमानित आम्दानी ५८.७६ करोड रुपैयाँ रहने र विद्युत् खरिद–बिक्री सम्झौता अनुसार सुरुका ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुने व्यवस्था छ ।
५६२.५० मिटर ग्रस हेड रहेको आयोजना अन्तर्गत २५ मिटर लामो बाँध, ३,३८३ मिटर लामो सुरुङ र १,९९७ मिटर लामो पेनस्टक पाइप रहने छ । यही वैशाखदेखि आयोजनाको सुरुङ खन्ने कार्य समेत सुरु भइसकेको छ ।
जलविद्युत् क्षेत्रमा अनुभवी ठेकेदारमार्फत निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । यस आयोजनामा अनुभवी उद्यमीहरूका साथै स्थानीय बासिन्दाहरूको समेत लगानी रहने र भविष्यमा सर्वसाधारणका लागि समेत सेयर निष्कासन गरिने योजना रहेको छ ।
वित्तीय व्यवस्थापन भएपछि आयोजना निर्माणले थप गति लिने बताइएको छ ।