काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जर्मनी र युरोपेली संघको संयुक्त सहायतामा निर्माण हुने पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजना ऊर्जा खपतका लागि महत्त्वपूर्ण भएको बताएका छन् । मन्त्रालयमा बुधबार जर्मन राजदूत उडो युजेन भोल्जसँग भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
सन् २०२९ सम्ममा विकास हुने उक्त परियोजनाले त्यस क्षेत्रमा विद्युतीय सवारी साधनसहितका विद्युतीय उपकरणको प्रयोग बढाउँदै विद्युत्को नयाँ माग सिर्जना गर्ने उनले बताए । उक्त परियोजनामा जर्मन सरकारले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै त्यस क्षेत्रमा प्रसारण र वितरण सञ्जाल विस्तारको काम तत्काल सुरु हुने जानकारी गराए ।
परियोजना अन्तर्गत पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेकाले तीन सहर जोड्ने गरी ट्रली बस चलाउने, चार्जिङ स्टेसन सञ्चालन गर्ने, त्यस क्षेत्रमा बढ्ने विद्युत्को भार र त्यसको व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधारका लागि गर्नुपर्ने कामका लागि अध्ययन आवश्यक भएकाले सहयोग गर्न जर्मनीसँग उनले राजदूत भोल्टमार्फत आग्रह गरे ।
मन्त्री घिसिङले जर्मनीको सहायतामा निर्माण भएका मध्यमर्स्याङ्दी र मर्स्याङ्दी जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रको ‘जीवन मार्ग’ बनेको भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
भेटमा जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रूपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्याउँदै आएको सहायता बढाउन आग्रह गरे ।
उनले जेन–जी आन्दोलनका क्रममा आगलागी भई गम्भीर क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको परीक्षण गरी पुनर्निर्माणको उपाय यकिन गर्न स्वदेशी विज्ञ उपलब्ध नरहेकाले अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराइदिनसमेत राजदूतसँग आग्रह गरे ।
भेटमा राजदूत भोल्जले जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि सहायता उपलब्ध गराउने क्षेत्रको पहिचान, सहायता पुनरावलोकन लागि परामर्श गर्न आगामी डिसेम्बरमा टोली आउन लागेको जानकारी गराए ।