बागलुङ । बागलुङमा निर्माण गरिएको दरम खोला जलविद्युत् केन्द्रबाट ९.६ मेगावाट विद्युत्को व्यावसायिक उत्पादन सुरु भएको छ । २०७७ देखि निर्माण सुरु भएको उक्त केन्द्रबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको उक्त केन्द्रको विद्युत्लाई गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो ।
गलकोट नगरपालिका–८ काँडेबासमा बनाइएको बाँधदेखि ४.५ किलोमिटर पश्चिम मनेवापाटामा रहेको विद्युत्गृह पानी लगेर विद्युत् उत्पादन सुरु गरिएको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए । बर्खामा ९.६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताए ।
इञ्जिनियर चौधरीले भने, ‘दरम खोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सबस्टेशनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिनाअधि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९.६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिदैन ।’
उक्त आयोजना निर्माणको ठेक्का रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । आयोजना निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्माण पूरा गर्न समय लागेको दरम खोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उनको भनाइ छ ।
निर्माण सम्पन्न गर्न २ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अध्यक्ष पुन बताउँछन् । आयोजनाबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ बस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको छ ।
‘दरम खोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ, यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ’, अध्यक्ष पुनले भने, ‘१७ वर्षअघि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरुले नयाँ कम्पनीमार्फत आयोजना निर्माण गर्यौँ ।’