काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्न प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मंसिर १ गते सोमबार सम्पन्न भएको हो । सम्झौता पत्रमा ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेशमान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्न लागेको छ । कम्पनीले कास्कीमा अवस्थित इदी खोलाको पानी सदुपयोग गर्ने गरी इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ वैशाख ८ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । साथै, उक्त आयोजनामा बैङ्किङ, जलविद्युत्, बिमा, पुँजी बजार क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरूको समूहको संलग्नता भएको र आयोजनाको हाइड्रोलोजी क्यु ६५ को संरचनामा निर्माण भएको हो ।
ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनमा अन्य जलविद्युत् आयोजनाका साथै सौर्य तथा हरित ऊर्जाको क्षेत्रमा लगानी गर्ने योजना बनाएको अध्यक्ष कायस्थले बताए ।