काठमाडौँ । अस्ट्रियाली प्रविधि समूह एन्ड्रिजले भारतको महाराष्ट्रमा निर्माण हुन लागेको १००० मेगावाटको भिभपुरी पम्प जलाशय आयोजनाका लागि मुख्य उपकरणहरू आपूर्ति गर्ने जिम्मा पाएको छ । टाटा पावरले निर्माण गर्न लागेको आयोजनाका लागि तीनवटा अत्याधुनिक रिभर्सिबल पम्प टर्बाइन, मोटर–जेनेरेटर र इलेक्ट्रोमेकानिकल उपकरणहरू आपूर्ति, जडान तथा परीक्षणका लागि एन्ड्रिजसँग सम्झौता गरेको हो । यो खरिद सम्झौताको रकम झन्डै १० करोड युरो रहेको कम्पनीले जनाएको छ ।
आयोजनाले महाराष्ट्र राज्यमा तीव्र रूपमा विस्तार भइरहेका सौर्य तथा वायु ऊर्जा केन्द्रहरूले राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्ने विद्युत्लाई सन्तुलित मिलाउन र ग्रिडको विश्वसनीयता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नवीकरणीय ऊर्जाको हिस्सा बढ्दै जाँदा प्रणालीमा देखिने विद्युत् आपूर्ति तथा भोल्टेजको उतार–चढावलाई व्यवस्थापन गर्न पम्प जलाशयमा आधारित विद्युत्लाई विश्वभरि नै भरपर्दो ऊर्जा भण्डारणको रूपमा लिने गरिएको छ ।
एन्ड्रिज हाइड्रो इन्डियाका क्षेत्रीय कार्यकारी निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत (सिइओ) रवीन्द्र जी. ले ठूला ऊर्जा भण्डारण प्रणालीहरू कार्बन उत्सर्जन न्यूनीकरण र दिगो ऊर्जा प्रणाली निर्माणका लागि अपरिहार्य रहेको बताए । ‘यो सम्झौता टाटा पावर र एन्ड्रिजबीचको पहिलो ठूलो पम्प स्टोरेज सहकार्य हो, जसले यी दुई कम्पनीबीचको व्यावसायिक सम्बन्धमा नयाँ आयाम थपेको छ,’ उनले भने । हाल एन्ड्रिजले भारतभर ११ गिगावाटभन्दा क्षमताका ७ वटा विभिन्न पम्प जलाशय आयोजनाहरूको निर्माणमा सहकार्य गरिसकेको उनले जानकारी दिए ।
भारतले सन् २०३३–३४ सम्म पम्प जलाशय जलविद्युत् केन्द्रहरूको जडित क्षमता करिब ८७ गिगावाट पुर्याउने लक्ष्य राखेको छ । यही सन्दर्भमा निर्माण हुन लागेको उक्त आयोजनालाई दक्षिण एसियाकै ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको छ ।
आयोजना निर्माणका लागि एन्ड्रिजले भारतमा रहेका आफ्ना उत्पादन केन्द्रहरू र विश्वव्यापी इन्जिनियरिङ सञ्जालको प्रयोग गर्ने जनाइएको छ ।