विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लामो समयदेखि विद्युत् बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको ‘लाइन’ काटिएको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सवै सडकबत्तीको विद्युत् लाइन काटिदिएको हो ।

नगरपालिकाले २०७५ सालदेखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य इकाइजस्ता ठाउँको महसुल नबुझाएपछि लाइन काट्नु परेको वितरण केन्द्रले जनाएको छ । नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायत महसुल तिर्न पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि लाइन नै काट्नुपर्ने बाध्यता भएको वितरण केन्द्रका लेखा प्रमुख गोविन्द सुवेदीले बताए ।

कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग पटक–पटक छलफल गरेर भुक्तानीका लागि ताकेता गरे पनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रुपमा लाइन काट्न थालेको उनले बताए ।  जनप्रतिनिधि र नगरका कर्मचारी प्रशासनसँग छलफल गर्दा जनप्रतिनिधिहरू सकारात्मक भए पनि कर्मचारी प्रशासन भुक्तानी गर्न तयार नभएको उनले बताए ।

विद्युत् प्राधिकरणका अनुसार सडकमा जडान गरिएको बिजुलीबापत कुश्माले ७४ लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । कुश्मा नगरपालिका र विद्युत् प्राधिकरणबीच ४ वर्षअघि सडकबत्ती राख्ने सम्झौता भएको थियो ।

सम्झौताअनुसार सडकबत्तीवापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख गरिएको छ । कुश्मा–४, ५, ६, ७, ८ र ९ तथा वडा नम्बर २ का केही भागमा सडकबत्ती विस्तार गरिएको छ । झन्डै १५० भन्दा बढी ठाउँमा सडकबत्ती विस्तार गरिएको थियो ।

गत असोज १० गते सम्पन्न दशौँ नगरसभाले विद्युत् महसुल भुक्तानीका लागि ६५ लाख रुपैयाँ विनियोजन गरेको भए पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले भुक्तानी नदिएको वितरण केन्द्रको आरोप रहेको छ । प्राधिकरणले लाइन काटेका सडकबत्ती बक्यौता रकम भुक्तानी र नयाँ सम्झौता भएपछि पुनः जडान गरिने लेखा प्रमुख सुवेदीले बताए ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभाव भएका कारण महसुल भुक्तानी रोकिएको बताए । उनले अहिले आधार रकम भुक्तानी गरिने र आधा रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भइरहेको बताए ।

एक साताभित्र महसुल भुक्तानी गर्ने उनले बताए । यति लामो समयसम्म बक्यौता रहेको रकम एक साताभित्र भुक्तानी गर्छौं लाइन नकाटिदिनुहोस् भनेर वितरण केन्द्र र  विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पनि अनुरोध गरेको उनले बताए । उनका अनुसार नगरकार्यपालिकाको कार्यालयको विद्युत् महसुल रकम भने नियमित भुक्तानी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit