काठमाडौँ । एनएमबि बैंकले तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत बैंकले तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा उक्त सहयोग प्रदान गरेको जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजीव रञ्जितलगायतले संयुक्त रूपमा वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै बैंकका गण्डकी प्रदेश प्रमुख रञ्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताए ।
एनएमबि बैंकले हाल देशभरि १९८ शाखाहरू, १७६ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।