images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ९९.८ मेगावाटकाे तामाकोसी–५ जलविद्युत् आयोजनाकाे निर्माण ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पाेरेशन लिमिटेडले पाएकाे छ । सिनाे हाेइड्राे र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाकाे संयुक्त उपक्रम (जेभी) कम्पनीले निर्माण ठेक्का पाएकाे हाे । आयोजनाको निर्माणका लागि प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम रकम कबोल गर्ने सिनो हाइड्रो छनोटमा परेर ठेक्का पाएकाे हाे ।

उक्ता खरिद प्रक्रियामा भाग लिएका मध्ये सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन प्राविधिक प्रस्तावमा पास भएका थिए । यी मध्ये आर्थिक प्रस्तावमा कम कबोल गरेपछि सिनो हाइड्रोले ठेक्का पाएको प्रवर्द्धक कम्पनी तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए ।

‘डेढमहिनाभित्र ठेकेदार कम्पनीसँग सम्झौता हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सम्झौतापछि पूर्वतयारी गरी ५/६ महिनाभित्र निर्माण सुरु हुन्छ ।’ निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे पनि उनले बताए ।

तामाकोसी–५ दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको क्यासकेड आयोजना हो ।

आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेका छन् । दुई प्याकेजमा निर्माण गर्न लागिएको आयोजनाकाे पहिलो प्याकेजमा सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको काम हुनेछ । दोस्रो प्याकेजमा इलेक्ट्रो मेकानिकल र प्रसारण लाइनको निर्माण हुने कम्पनीले जनाएको छ ।

यसअघिको ठेक्का रद्ध

कम्पनीले यसअघि २०७९ साउन ९ गते आयोजना निर्माणका लागि ठेकेदार छनाेट गर्न बाेलपत्र आह्वान गरेकाे थियाे । आयोजना निर्माणका लागि इच्छा जाहेर गरेका ४ मध्ये दुई कम्पनी प्राविधिक प्रस्तावमा छनौट भएका थिए । उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए । ती दुवै कम्पनीको वित्तीय प्रस्ताव प्रवर्द्धककाे लागत अनुमानभन्दा बढी भएपछि ठेक्का प्रक्रिया अघि बढ्न नसकेर रद्ध भएको थियो । यी मध्ये सिनो हाइड्रोले आर्थिक प्रस्ताव कम कबोल गरेको थियो ।

२१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान

कूल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ । स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । कोषसँग गत जेठ ७ गते सम्झौता भएको थियो ।

आयोजनाको संरचना

तामाकोसी–५ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । यसको हेडवर्क्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत् गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ ।

आयोजनाको ८ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युत्‌गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । आयोजनाको आवास निर्माणको काम सुस्त गतिमा भइरहेको छ । २ किलोमिटर लामो २२० केभी प्रसारण लाइनलगायत संरचनाहरू निर्माण हुनेछन् । आयोजनाका सम्पूर्ण संरचना विगु गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माण हुनेछन् ।

थप विवरण

आयोजनाको नामः तामाकोसी–५ (माथिल्लो तामाकोसीको क्यासकेड)

प्रवर्द्धक:  तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड

आयोजनास्थलः दोलखा, विगु गाउँपालिका, वडा नम्बर १, २, ३, ४

क्षमताः ९९.८ मेगावाट

सुरुङः ८ किलोमिटर

विद्युत्‌गृहः भूमिगत

लागतः २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ

प्रसारण लाइनः २२० केभी प्रसारण लाइन, २ किलोमिटर

निर्माण अवधिः ४ वर्ष

वार्षिक ऊर्जाः ४९५.१४८ गिगावाट घन्टा

बर्खायामः ३७१.६५८ गिगावाट घन्टा

हिउँदयामः ६४.१२७ गिगावाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit