काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ थान विद्युतीय सवारीसाधन (इभी) आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
उक्त अवधिमा ५ अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका ३ हजार ६८० थान विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।
त्यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।
इन्धन खर्चमा बचत, वातावरणमैत्री प्रविधि तथा सरकारी नीतिगत सहुलियतका कारण इभीको आयात र प्रयोग दुवै विस्तार हुँदै गएको देखिन्छ ।