काठमाडौँ । पचासको दशकदेखि जलविद्युत् विकासमार्फत देशमै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले क्रियाशील भानेन्द्रकुमार लिम्बु कवि पनि हुन् भन्दा जो कोहीलाई अचम्म लाग्छ । भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ उपनामबाट काव्यलोकमा प्रवेश गरेका उनले राष्ट्रियता, जीवन र जगतसमेत समेटेर सिर्जना गरेको ‘निर्झर’ कविता सङ्ग्रह बजारमा आएको छ ।
भानेन्द्र उनै व्यक्ति हुन्, जसले २०५५/५६ सालतिर निजी क्षेत्रमा कसैले आँट नगरेको जोश र जाँगर देखाए । १ मेगावाट वा किलोवाट क्षमतामा जलविद्युत् आयोजना निर्माण गरिरहेको निजी क्षेत्रका लागि ५ वा १० मेगावाटका आयोजना ‘मेगा प्रोजेक्ट’ लाग्थे । त्यस्तो समयमा उनले १०१ मेगावाटको तमोर–मेवा निर्माण गर्ने हिम्मत जुटाए । त्यही हिम्मतको टेकोमा उभिएर सरकार, सरकारी निकाय, वित्तीय संघ संस्था र निजी क्षेत्रकै छाता संस्थासँग लड्दै उनले आयोजनालाई वित्तीय व्यवस्थापन गरी निर्माणको चरणमा पुर्याएका छन् ।
स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड स्थापना गरी स्वदेशमै उद्यमशीलताको अभियान थालेका ‘जुझारु’का सिर्जना जलविद्युत्मार्फत देशको अर्थतन्त्रमा इँटा थपेजस्तै जागरणका पर्याय हुन् भन्दा अन्यथा हुँदैन । आफ्नै हिम्मतले आफैँलाई ढाडस दिँदै सङ्घर्षका क्रममा लड्दै, उड्दै र फेरि हिँड्दै नयाँ मोडमा पुगेकै कारण हो कि उनको उपनाम ‘जुझारु’ले पनि सार्थकता पाएझैँ लाग्छ ।
यही आँट र हिम्मतका पर्यायावाची ‘जुझारु’को कविता सङ्ग्रह गत साता सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित कविता सङ्ग्रहको विमोचन समारोहको सभापतित्व वरिष्ठ प्राडा गोविन्दराज भट्टराईले गरे ।
समारोहमा सिक्किमेली साहित्यकार प्रा.डा. रुद्र पौडेल, डा. तुलसीप्रसाद भट्टराई, डा. तुलसी गौतम र डा. ज्ञानु अधिकारीले कविता सङ्ग्रहमाथि विवेचना गरे । डा. तुलसी गौतमले समालोचकीय मन्तव्य राख्दै नेपाली साहित्यको कविता विधामा ‘निर्झर’ कविता सङ्ग्रह एक अब्बल कृतिको रूपमा दर्ज भएको बताए । यस कविता सङ्ग्रहले जीवन भोगाइ र अनुभूतिलाई अत्यन्तै सुन्दररूपमा उतारेको उनको विवेचना थियो ।
कवि ‘जुझारु’का कविता र उनको जीवनी हेर्दा मन, वचन र कर्ममा एकरूपता पाइने गौतमको भनाइ थियो । कविले गुरु त्रय भनेर ‘दुःख, गरिबी र प्रकृति’लाई मानेका सन्दर्भ जोड्दै उनले ‘ब्रह्मा, विष्णु र महेश्वर’लाई विम्ब मानेर आफ्नो जीवन हिडाएको विश्लेषण गरे । आफूले भोगेका, आफूलाई लागेका र देखेका कुराको सुन्दरतम रूपमा सार खिचेर प्रतीकहरूको प्रयोग गरेर जस्ताको तस्तै कवितामा व्यक्त गरेको प्रसङ्ग पनि उठाइयो ।
कृति समालोचक अधिकारिले ‘निर्झर’ कविता सङ्ग्रह शीर्षक जति सुन्दर, त्यति नै साधारण शब्द, स्वछन्द भाव र मिठास र गम्भीर अर्थ पाइने बताइन् । उनले कवितामा प्रेमका विविध रूप पाइने बताइन् । देशप्रेम, मातृभूमिप्रतिको प्रेम, प्रकृतिप्रेम, प्रणयप्रेम र अस्तित्वप्रेमले कवितालाई भरिपूर्ण बनाएको उनको समालोचकीय दृष्टि थियो ।
प्रमुख अतिथि काइँलाले निर्झर कविता सङ्ग्रह देश, संस्कृति तथा प्रेम र प्रकृतिलाई फ्युजन गर्दै उत्कृष्ट कृति बनेको भन्दै खुसी व्यक्त गरे । कविका कविता लेख्नुको उद्देश्य प्रेम, करुणा र सद्भावनाको सकारात्मक उजागर गर्नु रहेको उल्लेख गरे ।
कार्यक्रमका सभाध्यक्ष भट्टराईले कवि ‘जुझारु’को निर्झर कविताले साहित्यमा उज्यालो रंग लिएर आएको बताए । ‘परम्परागत धार पक्रेर सुन्दरताले पूर्ण शब्दको प्रयोग, कुनै नौलो प्रयोगतिर नलागेको र समाजलाई ध्यानमा राखेर कविता लेख्नेमध्ये एक उत्कृष्ट हुन्,’ उनले भने, ‘उनका कवितामा राष्ट्रप्रेम र कोमल प्रेम पाइन्छ ।
कार्यक्रममा डा. भट्टराई, सिक्किमेली साहित्यकार डा. पौडेल लगायतले मन्तव्य राख्दै कविलाई शुभकामना दिए । ओरिएन्टल पब्लिकेशन हाउसले बजारमा ल्याएको ‘निर्झर’ विमोचन समारोहमा जलविद्युत् व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो ।