काठमाडौँ । एमसिए–नेपालले ४०० केभीको न्यू बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजित एक समारोहबिच अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले उक्त निर्माण कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधिका साथै एमसिसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्कोको समेत उपस्थिति थियो ।
समारोहलाई सम्बाेधन गर्दै अर्थमन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको बताए । उनले भने, ‘एमसिसी र एमसिए–नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि यो सम्झौता कार्यान्वयनमा अघि बढेका छौँ ।’
त्यस्तै, अमेरिकी राजदूत थम्प्सनले थप भरपर्दो ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा एक प्रतिबद्ध साझेदारका रूपमा नेपालसँग उभिन पाउँदा संयुक्त राज्य अमेरिकालाई गर्व लागेको बताए । उनले भने, ‘प्रसारण लाइन तथा सबस्टेसन जस्ता आयोजनाहरूले घरपरिवार तथा व्यवसायहरूका बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ । आजको यो कार्यक्रम हामी सहकार्यबाट के कति हासिल गर्न सक्छौँ भन्ने कुराको प्रमाण हो ।’
कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा एउटा नयाँ अध्याय थपिएको छ बताए । ‘यस प्रसारण लाइन तथा सबस्टेसनले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपालीका लागि दीर्घकालीन लाभ दिलाउनमा नयाँ अवसरहरू सिर्जना गर्नेछन्,’ उनले भने, ‘नेपाल सरकार तथा अमेरिकी सरकारको एमसिसीसँगको निकटतम साझेदारीमा यस आयोजनाको कार्यान्वयन गर्न पाएकोमा एमसिए–नेपाल गौरवान्वित छ र यसलाई सफल बनाउनमा प्रतिबद्ध छ ।’
यस १८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने छ । करिब ५ करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यो प्रसारण लाइन तथा सबस्टेसनले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने लक्ष्यलाई सघाउने अपेक्षा गरिएको छ ।
यस १८ किलोमिटर प्रसारण लाइन र न्यू बुटवल सबस्टेसनले नेपालमा बढ्दो रूपमा उत्पादन हुन थालेको जलविद्युत्लाई क्षेत्रीय बजारसँग जोड्ने हुनाले यिनीहरू नेपालको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ ।
एमसिए नेपालको यस प्रसारण लाइन आयोजनाले नेपालमा उच्च भोल्टेजयुक्त विद्युतीय सञ्जाललाई सशक्त बनाउँदै घरायसी तथा औद्योगिक प्रयोजनका लागि विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउने अपेक्षा गरिएको छ ।
एमसिए नेपालका अनुसार यो प्रसारण लाइन आयोजनाले विद्युत् चुहावट घटाउनुका साथै नेपाललाई ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउने छ । यी सुधारबाट व्यवसाय सञ्चालनको खर्च घट्ने र नयाँ निजी लगानी आकर्षित हुने अपेक्षा छ । नेपालका विकास प्राथमिकतामा पुनः लगानी गर्न सकिने थप राजस्व आर्जन गर्न सहयोग पुग्ने छ ।
एमसिए नेपालले अघि बढाएको ४०० केभीका ३ सबस्टेसनसहित ३१५ किलोमिटर प्रसारण लाइन र सडक सुधार आयोजनाका लागि नेपाल सरकारले १९ करोड ७० लाख अमेरिकी डलर लगानी गर्ने छ । साथै, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले ५५ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने छ । यसरी कुल ७५.७ करोड अमेरिकी डलरमा यो आयोजना अघि बढेको हो ।