विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । मुलुकका निजी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरंगित छ । यही मंसिर ११ गतेबाट सुरु भई १३ गते महासंघको नयाँ कार्याकालका लागि निर्वाचन हुने भएको छ । यस चुनावमा वरिष्ठ उपाध्यमा चन्द्रप्रसाद ढकाल उम्मेदवारका रूपमा उभिएका छन् । यसै सेरोफेरोमा ढकालसँग गरिएको कुराकानीको अंश :

यहाँ महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । यहाँले महासंघमा १० वर्ष बिताउँदासम्म के काम गर्नुभयो ?

मेरो मान्यता त म आफंैले के गरेँ भनेर आफ्नोबारे भन्ने होइन । मेरो कामको मूल्यांकन मेरा अग्रजहरूबाट पनि भएकै छ । म कार्यकारिणी समिति सदस्यमा पहिलो पटक आउँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि आजसम्म मैले संस्थाको लागि के दिन सकेँ र मुलुकको उद्योग व्यवसाय क्षेत्रका साथीहरूले मेरो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ भन्ने नै मेरो संस्थागत सम्पत्ति हो । त्यो नै वास्तावमा मेरो उपलब्धि हो ।

मलाई लाग्छ, संस्थाले दिएको उपलब्धि अब्बल दर्जामा रहेर पूरा गर्न सकेँ भन्ने छ । यहाँ रहँदा १० वर्षसम्म गरेको कार्यलाई अहिले नै पूरै स्मरण गर्न त नसकौँला तर पछिल्लो एक उदाहरण रोजगारदाता परिषद्को सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानलाई पनि लिन सकिन्छ ।

लकडाउनको तलबमान निर्धारणका विषयमा म आफू नै सो परिषद्को सभापति भएकोले महासंघको प्रतिनिधित्व गर्नुपथ्र्यो, गरेँ । सरकार र मजदुर साथीहरूका प्रतिनिधिहरूसँग बसेर नेगोसिएसन गर्नुपर्ने गरियो । यसमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने काम मेरै समन्वयबाट भएको हो । जुन कुरा मिडियामा आइसकेको छ । यसलाई मैले सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरका रूपमा पनि लिएको छु ।

त्यसैगरी, दुर्गमका जिल्ला नगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु । हामीलाई अर्थात् व्यवसायलाई नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु । महासंघको प्रादेशिक संरचना अनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य संघको पूर्वाधारको व्यवस्था लगायत जिल्ला नगरका हरेक इस्यु र जिल्लाका साथीहरूका गुनासा सुल्झाउने प्रयास गरेको छु । यी सबै कामको साक्षी महासंघका साथीहरू हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

यहाँलाई विदितै छ, निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर, त्यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन । जुनबेला मुलुकको निजी क्षेत्रलाई अभिभावक चाहिएको हुन्छ त्यसबेला यसको भूमिका प्राप्त गर्न सकेको छैन भन्ने हाम्रा अनुभव छन् । महासंघ नेपालको समग्र उद्योग व्यवसायीहरूको प्रतिनिधित्व गर्ने आधा शताब्दीभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो ।

मेरो उम्मेदवारी यो क्षेत्रले सम्मान पाउन सक्ने अवस्था दिलाउनका लागि हो । राज्यबाट अभिभावकत्व पाउनका लागि हो । यसका लागि हामीले संघर्ष र संवाद दुवै गर्नुपर्ने हुनसक्छ । तर, म चाहिँ संवादमा बढी विश्वास गर्छु । आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हिजो हामीले पाएको सम्मानमा आज ह्रास आएको छ ।

हामीले हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । त्यसका लागि म र हाम्रो टिमले सशक्त रूपमा काम गर्नेछ । निजी क्षेत्रलाई राज्यले बोलीमा त देशको विकास र समृद्धिको स्टेकहोल्डर ठानेको छ । त्यसलाई व्यवहारमै आत्मसात गर्न सक्ने बनाउनुपर्छ । त्यसैले हामी महासंघको नेतृत्वमा पुग्नुपर्ने अवस्था छ । कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न सक्षम र सबल नेतृत्व चाहिन्छ । यसैका लागि हामी महासंघ नेतृत्वका लागि अघि बढेका हौँ ।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको पनि एक सशक्त इन्जिन हो । यो इन्जिनलाई सञ्चालनमा ल्याउन कामयवी बनाउन र यसबाट बढीभन्दा बढी लाम लिनसक्ने बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवशयक छ । मैले यही महसुश गरेर नै राज्य र निजी क्षेत्रबीच नै हातेमालो हुनु आवश्यक छ भनेको हो ।

हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका पनि छौँ । एजेन्डाका रूपमा अगाडि बढाएका पनि छौँ । हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौँ । यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्नेगरी काम गर्ने हाम्रो प्रयास रहनेछ । यसैले नै हामीले समृद्धिको आधार नै राज्य र निजी क्षेत्रको साझेदारी भनेर हाम्रो मूल नारा तय गरेका हौँ ।

अर्काे कुरा म महासंघमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको भए पनि जिल्लानगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु । यहाँले देखि नै रहनुभएको छ कि म अहिले पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरूलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासंघको म नै एक पदाधिकारी हुँ भन्दा मलाई गर्व लाग्छ ।

यसैले मैले हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई उठाउने छौँ भन्ने कुरा जिल्ला नगरका साथीहरूलाई म विश्वास दिलाउन चाहन्छु । नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई सहभागि गराउन पहल गर्ने र निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउने काम हामीले गर्नेछौँ ।

हामीले पहिले पनि भनेका छौँ कि गाउँ गाउँमा उद्यमशीलताको विकासका लागि अरु पहलहरूका अतिरिक्त एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ । त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्न महासंघसँग सीधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौँ ।

यी र यस्ता अनेकन समस्या छन् हाम्रा । यसमाथि पछिल्लो समयमा फेरि कोरोना महामारीले समग्र मुलुककै उद्योग र व्यवसाय क्षेत्रलाई नै सबैभन्दा बढी मारमा पारेको छ । हामीले इतिहासमै यसअघि कहिल्यै नभोगेको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । मैले यी विचारहरू यहाँसँग राखिरहँदा पनि हामी यो महामारीको चपेटामै छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने कुराको स्पष्टता कतै आएको अवस्था छैन ।

यसकारण पनि यो जटिल चुनौतीसँग जुध्नका लागि महासंघमा दरिलो नेतृत्वको खाँचो महसुस भएको हो । यही सङ्कटसँग जुध्नका लागि हाम्रो उद्योग व्यवसाय क्षेत्रमा हामी मुलुकका सबै व्यवसायी साथीहरूलाई बलियो काँध चाहिएकोले उहाँहरूले मलाई अघि सार्नुभएको हो । त्यसैले म नेतृत्वमा पुगेपछि मुलुकका यी समग्र समस्याहरूको समाधानका लागि लागिपर्ने प्रतिबद्धता पनि यहाँ व्यक्त गर्न चाहन्छु ।

निर्वाचनमा तपाईंको टिमले विजय हासिल गर्ने ‘स्ट्रेन्थ’ के हो ?

हाम्रो टिमको कुरा गर्नुहुन्छ भने यो नेपालको उद्योग व्यवसायको क्षेत्रको अनुभवले खारिएको टीम छ । म लगायत उहाँहरू सबैमा वास्तवमा यो क्षेत्रका लागि र यसमार्फत मुलुकका लागि केही गरौँ भन्ने उत्साह छ । युवा जोशदेखि दशकौँ लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टिम हाम्रो मात्र छ ।

व्यावसायिक होस कि भौगोलिक या अरू नै हिसाबले किन नहोस् हाम्रो टिम बढी समावेशी छ । यसले व्यावसायिक र क्षेत्रगत सन्तुलन समेटेको छ । उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ । यसैले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ या पोलिसी डायलग गर्न पनि यो टिम सक्षम र सशक्त छ ।

हाम्रो मान्यता पनि के हो भने महासंघमा रियल स्टेकहोल्डरले मात्र नेतृत्व गर्नुपर्छ भन्ने हो । जस्तो हेरौँ न हाम्रो टिममा सानो व्यवसायदेखि ठूलो कर्पाेरेट लेवलमा व्यवसाय गरेकाहरूको प्रतिनिधित्व छ । जस्तो कि राज्यले दिने सिआइपी सम्मान पाउने नै हामी चारजना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना नै छौँ । यो पनि हामीले चुनाव जित्ने धेरैमध्येको एक आधार हो ।      

हाल कोरोना महामारीले उद्योग व्यवसाय संकटमा छ । यस्तो बेला मुलुकको समग्र व्यवसाय क्षेत्रलाई नै पुनर्स्थापना गर्न यहाँ र यहाँको टिमले कस्तो पहल गर्छ ?

यतिखेर महामारीले देश आक्रान्त छ । मलाई लाग्छ उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा छ । हामीले इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । अझै यो महामारीले कुन रूप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो सङ्कटसँग जुध्न पनि हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको हो ।

वास्तवमा कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेला बलियो नेतृत्व चाहिने हो । हामीले बेलाबेलामा भन्ने गर्छौँ नि नेतृत्व भनेको संकटको सारथी हो भनेर । हामी त्यही सारथीको काम गर्ने जिम्मेवारीमा जाँदैछौँ । म आफू त यो संकटको सारथी भएरै काम गर्छु । प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्नेछ ।

नेतृत्वमा पुगेपछि मेरो प्रयास पनि यसैमा केन्द्रित रहनेछ । पछिल्लो समय महामारीले हामीमाथि अकल्पनीय चुनौती थपिदिएकोले त्यसको ट्याकल गरी देशको उद्योग व्यवसायलाई राहात प्रदान गर्दै माथि उठाउन हामीसँग कार्ययोजनाहरू छन् । हामीले ‘एफएनसिसिआई भिजन २०२५’ को मस्यौदा बनाएर सार्वजनिक गरेका छौँ । हामी त्यसैमार्फत अघि बढ्छौँ । त्यसमा कारोना महामारीका कारण देशको उद्योग व्यवसायका क्षेत्रमा सिर्जित समस्याको समाधानका प्रशस्त कार्यक्रमहरू छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit