विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बैशाख पहिलो साता काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी र असिना–पानी पर्यो । यसले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा समस्या देखियो । हावाहुरी र असिना–पानीले विद्युतीय संरचनामा क्षति पुर्याउँदा आपूर्ति अनियमित हुन पुग्यो । सुगम क्षेत्रमा समयमै आपूर्ति सुचारु भए पनि दुर्गम क्षेत्रका धेरै ठाउँमा ढलेका पोल ठड्याउनुपर्ने हुँदा धेरै दिन लाग्यो ।

हावाहुरी चल्दा र पानी पर्दा विद्युत वितरण प्रणालीमा देखिएको यो समस्या नयाँ होइन । हावाहुरी, असिना पानी र चट्याङ थेग्न सक्ने वितरण प्रणाली नहुँदा उपभोक्ताले वर्षेनी यस्तै समस्या झेलिरहेका छन् । यसबाहेक प्रसारण तथा वितरण लाइन र सबस्टेसन ओभर लोड हुँदा पनि जथाभावी बत्ती काटिने गरेको छ ।

हावाहुरी, असिना–पानी वा मौसममा गडबडी हुना साथ बिजुली काटिन्छ । र, भनिन्छ, ‘ठूलो पानी परेका कारण सिस्टममा समस्या आयो । सिस्टम ट्रिप भयो वा पोल ढल्यो ।’ प्राधिकरण के अब मौसमलाई मात्र दोष दिएर उम्किन पाउला ? बिना सूचना जथाभावी बत्ती काटिने समस्या किन आइरहेको छ ? महिनामा पटक–पटक दोहोरिने यो समस्या समाधान गर्न प्राधिकरणले के गरिरहेको छ त ? यसै सम्बन्धमा ऊर्जा खबरले उपत्यका र उपत्यका बाहिरका वितरण केन्द्र प्रमुखको धारणा समेटेको छ ।

‘यो बर्खामा कुनै समस्या आउँदैन’

प्रज्वलमान श्रेष्ठ
प्रमुख, रत्नपार्क वितरण केन्द्र

रत्नपार्क वितरण प्रणालीमा अहिले समस्या छैन । बैशाख सुरुमा हावाहुरी सहितको वर्षाले २ दिन सेवा अवरुद्ध भएकै हो । त्यो बेला पनि नो लाइट टोलीले समस्याग्रस्त लाइनको मर्मत गरेर तत्कालै आपूर्ति सुचारु गर्यो । रुख वा पोल ढलेका ठाउँमा लाइन मर्मत गरेर सेवा सुचारु गराउन बढी समय लाग्यो होला । तर, सामान्य फल्ट भएका ठाउँमा तत्कालै सुचारु भएको थियो ।

राति समस्या आएका ठाउँको पनि पहिचान गरेर सेवा सुचारु गराएका छौं । बैशाख पहिलो साताबाहेकको समयमा रत्नपार्कले हेर्ने ४६ वटै ११ केभी फिडरमा कुनै समस्या आएको छैन । ग्रिडमा बढी समस्या छ । यस केन्द्रको फिडर जोडिएको सबस्टेसनमा समस्या आउँदा भने सबैतिर बत्ती जान्छ । यो रत्नपार्कबाट नभई ग्रिडका कारणले हुने गरेको छ ।

कहिले काहीँ रत्नपार्क जाने ६६ केभी सबस्टेसनमा समस्या आउँदा बत्ती जान्छ । यसो हुनुमा रत्नपार्कको कुनै दोष छैन । ६६ केभी सबस्टेसन डाउन हुँदा यस्तो हुन्छ । यो समस्या ग्रिडले हेर्छ । रत्नपार्कले आफ्ना सबै फिडरको स्तरोन्नति गरेको छ । माग र आपूर्ति व्यवस्थापन राम्रो बनाउन वितरण लाइनको मर्मत गरेका छौं । वितरण ट्रान्सफर्मर थप्ने तथा स्तरोन्नति गरेका छौं । अहिलेसम्म प्रणाली सुधार गर्न ३०० केभीका ४२ वटा वितरण ट्रान्सफर्मर थपेका छौं ।

४० वटा जति ट्रान्सफर्मरको ठाउँमा नयाँ राखेर स्तरोन्नति गरेका छौं । वितरण लाइनको कन्डक्टर र इन्सुलेटर फेर्ने काम पनि गरेका छौं । असन, महाबौद्धतिर४० वर्ष पुरानो फोर कोर केबल फेरेर एबिसी केबल राखेका छौं । वितरण प्रणाली सुधारका लागि धेरै काम भइसकेकाले यो बर्खामा सानो–तिनो पानीले वितरण प्रणालीमा खासै समस्या आउँदैन । अहिले हाम्रो वितरण प्रणाली अलि कमजोर नै छ । हावाहुरी चल्दा र पानी पर्दा प्रणालीमा आउने समस्या समाधानका लागि रत्नपार्क अन्तर्गत भूमिगत वितरण लाइन निर्माण भइरहेको छ । वितरण प्रणाली भूमिगत भएपछि भने यस्ता समस्या सधैंका लागि अन्त्य हुन्छन् ।

‘समस्यै समस्या छ, अल्पकालीन समाधानमात्र भइरहेको छ’

रामदुलार यादव
प्रमुख, लगनखेल वितरण केन्द्र

लगनखेलले दक्षिण ललितपुरको नख्खु खोलादेखि मकवानपुर सीमासम्म र पूर्वमा काभ्रेको लाकुरी भञ्ज्याङसम्मको क्षेत्र हेर्छ । यस क्षेत्रको वितरण प्रणालीमा समस्या छ । सहरी क्षेत्रका समस्या चाँडै समाधान भए पनि ग्रमीण क्षेत्रमा पुगेर आपूर्ति सुचारु गर्न अलि बढी समय लाग्ने गरेको छ ।

ललितपुरमा लामो वितरण लाइन ओभर लोड हुँदा बत्ती काटिने गरेको छ । यो समस्या ग्रामीण ललितपुरमा धेरै छ । समस्या आएको ठाउँमा उपभोक्ताले फोन गरेर जानकारी गराएको अवस्थामा लाइन मर्मत गरेर आपूर्ति चाँडै सुचारु गर्न सकिन्छ । तर, आफैं पुगेर समस्या पहिचान गरी समाधान गर्न बढी समय लाग्ने गरेको छ ।

बर्खा आउँदैछ । बर्खामा यो समस्या अझै बढी आउँछ । बर्खाको अल्पकालीन समस्या समाधान गर्न वितरण लाइन स्तरोन्नति गर्ने, तार छोएका रुखका हाँगाबिँगा काट्ने, कभर कन्डक्टर राख्ने, ट्रान्सफर्मर थप्ने लगायत काम गरिरहेका छौं । प्रणालीको थप सुधारका लागि केन्द्रीय कार्यालयसँग १ करोड ७५ लाख रुपैयाँ बजेट मागेका छौं । बजेट स्वीकृतिको प्रक्रिया अघि बढेको भन्ने सुनिएको छ । यो तयारी अर्को वर्षका लागि हो ।

अहिलेलाई अल्पकालीन समस्या समाधान गरेर आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । तर, यसले दीर्घकालसम्म धान्दैन । दीर्घकालीन समाधान खोज्न जिल्लामा सबस्टेसनको संख्या थप्नुपर्छ । कम दूरीका वितरण लाइन बनाउनुपर्छ । पुरानो प्रणाली स्तरोन्नति गरी नयाँ प्रविधिका उपकरण जडान गर्नुपर्छ ।

‘समस्या दोहोरिन नदिन हामी चनाखो भएर काम गरिरहेका छौं’

राजकुमार रमण
प्रमुख, भक्तपुर वितरण केन्द्र

भक्तपुर वितरण केन्द्रअन्तर्गत ४२ हजार ३ सय ४२ ग्राहक छन् । अहिले यहाँको वितरण प्रणालीमा खासै समस्या छैन । कुनै लाइन ‘ओभर लोडेड’ छैनन् । उपभोक्ताले मागे अनुसार विद्युत पाइरहेकै छन् ।

बैशाख २ गतेको हावाहुरी सहितको वर्षाले कहीँ–कहीँ आपूर्ति अवरुद्ध हुन पुगेको थियो । हामीले २ घन्टाभित्र अवरुद्ध सबै फिडरको आपूर्ति सुचारु गरायौं । त्यसयता समस्या आएको छैन । पानी, झरी पर्दा यस्तो समस्या आइरहन्छ ।

अब बर्खा सुरु हुँदैछ । बर्खामा विद्युत् आपूर्तिमा समस्या आउन नदिन वितरण लाइनको मर्मत तथा स्तरोन्नति गरेका छौं । रुखका हाँगाबिँगा काटेका छौं । बिदाका दिन पारेर लाइन स्तरोन्नतिको काम अहिले पनि गरिरहेका छौं । ट्रान्सफर्मर थपेका छौं । पुरानो नाङ्गो तारको ठाउँमा कभर कन्डक्टर राखिरहेका छौं ।

हावाहुरी आउँदा झरी पर्दा आपूर्ति अवरुद्ध हुने समस्याको दीर्घकालीन समाधान गर्न वितरण प्रणालीलाई भूमिगत बनाउनुपर्छ । जुन काम रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रले सुरु गरेका छन् । भएका लाइनमा पनि पुरानो नाङ्गो तारको ठाउँमा कभर कन्डक्टर राखेर स्तरोन्नति गर्नुपर्छ ।

‘भूमिगत वितरण लाइन नै समस्याको दिगो समाधान हो’

बाबुराम सुवेदी
प्रमुख, कुलेश्वर वितरण केन्द्र

देशको वितरण प्रणाली हावाहुरी, असिना–पानी, चट्याङबाट जोगिने खालको छैन । यही कारण चैत–बैशाखको समयमा जथाभावी समस्या देखिन्छ । यो पटक पनि लामो समयपछि हावाहुरी सहितको असिना–पानी आउँदा ठाउँ–ठाउँमा विद्युतीय पोलमा क्षति पुग्यो ।

विद्युत आपूर्ति अवरुद्ध हुने समस्या देखियो । बैशाख २ र ३ गते यस्तो समस्या आउँदा आपूर्तिमा समस्या आयो । संरचनामा क्षति पुगेकाले केही ठाउँको लाइन मर्मत गरेर आपूर्ति सुचारु गर्न दिनभरि नै लाग्यो ।

यो हाम्रो वितरण प्रणालीमा आइरहने समस्या हो । यो दशकौंदेखिको समस्या भए पनि तत्कालका लागि लाइन मर्मत गरेर आपूर्ति सुचारु गराउनुको विकल्प छैन । अल्पकालीन सुधारका लागि वितरण लाइनको मर्मत तथा स्तरोन्नति गर्ने गरिएको छ ।

दीर्घकालीन समाधानका लागि वितरण लाइनलाई भूमिगत बनाउनुपर्छ । जुन काम प्राधिकरणले रत्नपार्क र महाराजगन्जबाट सुरु गरिसकेको छ । विस्तारै अरू वितरण केन्द्रअन्तर्गतका प्रणाली पनि भूमिगत बनाउँदै लैजानुपर्छ ।

‘जिर्ण र होचा पोल विद्युत् वितरणका मुख्य समस्या बनेका छन्’

राजीव सिंह
प्रमुख, भरतपुर वितरण केन्द्र

भरतपुरको विद्युत आपूर्ति अनियमित छ । ‘सिस्टम’ गइरहन्छ । कन्डक्टरको साइज कम भएकाले यस्तो समस्या आइरहेको छ । वितरण लाइनका पोल पनि होचा र जीर्ण छन् । गर्मी बढिरहेकाले विद्युत्को माग बढिरहेको छ तर कमजोर प्रणालीले जुनसुकै बेला बत्ती काटिने समस्या धेरै छ ।

समस्याग्रस्त ठाउँको स्तरोन्नति गर्ने, जीर्ण र होचा पोल फेरेर आपूर्ति नियमित गर्ने प्रयास गरेका छौं । बर्खामा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै वितरण लाइनमा पर्ने रुटको लत्रिएका हाँगाबिँगा काट्ने, कन्डक्टर बदली गर्ने काम गरेका छौं । जीर्ण र होचा पोल तथा तार फेर्ने काम पनि भइरहेको छ । वितरण प्रणालीको सुधारका लागि केन्द्रीय कार्यालयसँग थप बजेट मागेका छौं । बजेट स्वीकृत हुने क्रममा छ ।

‘३३ केभीको लोड नयाँ फिडरमा सारेर फोर्स लोडसेडिङको खतरा टार्यौं’

सरोजकुमार साह
प्रमुख, दमक वितरण केन्द्र

झापामा अहिले चैते धानको रोपाईं हुन्छ । रोपाईं चलिरहेकाले सिँचाइको माग धेरै छ । गर्मी बढ्दा एसी, पंखा लगायत विद्युतीय उपकरण चलिरहेकाले माग पनि बढ्ने क्रममा छ । अहिलेको बढ्दो माग व्यवस्थापन गर्न पाडाजुँगीबाट दमक आउने ३३ केभी लाइनको लोड अर्को ११ केभी लाइन निर्माण गरेर सार्यौं । यति नगरेको भए दमक क्षेत्रमा फोर्स लोडसेडिङ गर्नुपथ्र्यो । नयाँ वितरण लाइन बनाएपछि समस्या टरेको छ । अहिलेका लागि ठूलो राहत मिलेको छ ।

दमकबाट २ वटा फिडर मोरङको उर्लाबारी पनि जान्छन् । यी अहिले ओभर लोडेड छन् । यी फिडरको लोड उतै सिफ्ट गर्न उर्लाबारीमा सबस्टेसन बन्दैछ । तर, स्थानीयबासीले सबस्टेसनबाट निष्कने फिडर निर्माणमा अवरोध गरिरहेकाले लोड सिफ्ट हुन पाएको छैन । यसकारण, उर्लाबारी क्षेत्रको आपूर्तिमा अलि समस्या छ । स्थानीयको अवरोधले लोड व्यवस्थापन गर्न भइरहेको प्रयास सफल भएको छैन ।

संचरना ओभरलोड हुने बाहेक हावाहुरी सहितको वर्षाले पनि यस क्षेत्रको वितरण प्रणालीमा समस्या आउने गरेको छ । गत बैशाख ९ गते पूर्वमा ठूलो हावाहुरी आयो । हावाहुरीले वितरण लाइनका ५० वटा पोल भाँचिए । ठाउँ–ठाउँमा सेवा अवरुद्ध भयो । भाँचिएका ठाउँमा नयाँ पोल राखेर आपूर्ति सुचारु गर्यौं । भाँचिएका ठाउँमा पोल राख्न ४ दिन जति लाग्यो ।

ओभर लोडेड संरचनामा आउने समस्या लोड अन्त सारेर समाधान गर्न सकिन्छ तर हावाहुरी र पानी–झरीका कारण आउने समस्याको दिगो समाधान छैन । संरचना मर्मत गरेर आपूर्ति सुचारु गर्ने बाहेकको विकल्प नै छैन । समस्या न्यूनिकरण गर्न लाइन मर्मत, बुस कटिङलगायत काम गरेका छौं । समस्या आइहाले टोली परिचालन गरेर सेवा नियमित गर्ने प्रयास गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit