काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने भएको छ । कम्पनीले नयाँ कार्यविधि अनुसार प्रतिस्पर्धामार्फत सिइओ नियुक्त गर्न लागेको हो ।
यसका लागि योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट कम्पनीले दरखास्त आह्वान गरेको छ । कम्पनीको सूचना अनुसार उक्त पदका लागि प्रतिस्पर्धा गर्न इलेक्ट्रिकल, मेकानिकल, सिभिल इन्जिनियरिङ वा व्यवसाय प्रशासन (एमबीए) मा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्ष वा सोही विषयमा स्नातक गरी १२ वर्षको व्यावसायिक अनुभव हासिल गरेको हुनुपर्नेछ । उमेरको हकमा दरखास्त दिने अन्तिम मितिसम्म ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ ।
जलविद्युत् आयोजना निर्माणमा अधिकृत स्तर वा सोभन्दा माथि काम गरेका तथा जलविद्युत् कम्पनीको सिइओ वा वरिष्ठ व्यवस्थापकीय तहमा रहेर काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले उल्लेख गरेको छ । आवेदकहरूले तोकिएका कागजातसहित कम्पनीको धुम्बाराहीस्थित कार्यालय वा कम्पनीको इमेल ([email protected]) मार्फत दरखास्त पेस गर्न सक्नेछन् । उम्मेदवारको छनोट कार्यसर्त अनुसार हुनेछ भने पारिश्रमिक तथा सुविधा आपसी सहमति र कम्पनीको नियमअनुसार तय गरिने जनाइएको छ ।
उक्त पदमा करार सेवाअन्तर्गत बढीमा ४ वर्षका लागि सिइओ नियुक्त गर्न लागिएको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दिन उल्लेख गरिएको छ ।