काठमाडौँ । विद्युत् विकास विभागले अघि बढाएका कूल ४० मेगावाटका २ जलविद्युत् आयोजना विकास गर्न आशय पत्र पेस गरेका कम्पनी मध्ये २ कम्पनी संक्षिप्त सूचीमा परेका छन् । विभागले निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण (बुट) प्रारूपमा २७.९ मेगावाटको मध्य–इन्खुखोला जलविद्युत् आयोजना र १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत् आयोजना विकास गर्न साउन १० गते आशय पत्र आह्वान गरेको थियो ।
आशय पत्र पेस गरेका कम्पनी मध्ये सोलुखुम्बुमा प्रस्तावित मध्य इन्खु खोला आयोजना विकासका लागि अपर हेवाखोला जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको संयुक्त उपक्रम कम्पनी संक्षिप्त सूचीमा परेको हो । त्यस्तै, ताप्लेजुङमा प्रस्तावित मैवा खोला जलविद्युत् आयोजना विकासका लागि रिज लाइन इनर्जी लिमिटेड संक्षिप्त सूचीमा परेको छ ।
सूचीमा परेका आशयपत्रदाता कम्पनीहरूले ती आयोजना विकासका लागि अब प्राविधिक तथा आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा सिलबन्दी गरी असोज २६ गतेभित्र पेस गर्नुपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्दा प्राविधिक क्षमताका ४५ अङ्क, आर्थिक क्षमतामा ३५ अङ्क र अनुभवका लागि २० अङ्क निर्धारण गरिएको छ । प्राविधिक प्रस्तावमा कम्तीमा ६० अङ्क प्राप्त गर्ने प्रस्तावदाता मध्ये सबै भन्दा बढी अग्रीम शुल्क प्रस्ताव गर्ने कम्पनीलाई आयोजना विकासका लागि छनोट गरिने छ ।