विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महसुल समायोजन गरेको छ । आयोगले आगामी मंसिर महिनादेखि लागु हुने गरी विद्युतको नयाँ महसुल दर निर्धारण गरेको हो । 

नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल दरमाथि सम्बन्धित सरोकारवालासँग छलफल तथा परामर्शका क्रममा आएका सुझावको अध्ययन तथा विश्लेषणपछि नयाँ महसुल दर निर्धारण गरिएको आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । समायोजन भएको विद्युतको नयाँ महसुल दर मंसिर महिनादेखि लागु हुनेछ भने पुस महिनाको बिल ग्राहकले पाउने छन् ।

आयोगले घरायसी ग्राहकको हकमा विद्युत महसुल औसत २.८४ प्रतिशत घटाएर समायोजन गरेको छ । आयोगका अनुसार अब ५ एम्पिएरको विद्युत सेवा लिएका घरायसी ग्राहकले सिंगल फेज मिटरमा २० युनिट विद्युत निशुल्क पाउने छन् । 

यो वर्गका ग्राहकले २० युनिटको महसुल बाहेक मासिक ३० रुपैयाँ सेवा शुल्क मात्रै तिर्नुपर्नेछ । यसअघि घरायसी ग्राहकले १० युनिटसम्म यो सुविधा पाउँदै आएकोमा अब २० युनिट विद्युत निशुल्क पाउने भएका हुन् । यो सुविधाबाट प्राधिकरणका करिब २२ लाख ग्राहकले प्रत्यक्ष लाभ पाउने छन् । 

यस्तै, सिंगलफेजमा मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५, १५ र ३० एम्पिएरका ग्राहकका लागि अहिलेको महसुल दरमा २५ रुपैयाँ घटाएर समायोजन गरिएको छ । यो श्रेणीमा आउने ५ एम्पिएरका ग्राहकले अब मासिक १ सय रुपैयाँ तिर्नुपर्नेछ । १५ एम्पिएरका ग्राहकले १२५ र ३० एम्पिएरका ग्राहकले १५० रुपैयाँ तिरे पुग्ने आयोगले जनाएको छ ।

मासिक ४ सय युनिटभन्दा बढी विद्युत खपत भएमा ५ एम्पिएरका ग्राहकले १५० रुपैयाँ तिरे पुग्नेछ । यसअघि २०० रुपैयाँ तिर्नुपर्दथ्यो । १५ एम्पिएरका ग्राहकले १७५, ३० एम्पिएरका ग्राहकले २ सय रुपैयाँ र ६० एम्पिएरका सिंगल फेज मिटरका ग्राहकले २५० रुपैयाँ तिर्नुपर्ने भएको छ । यो वर्गमा आउने ग्राहकको विद्युत महसुल २५ रुपैयाँ घटाइएको हो ।

 सिंगल फेज मिटरका ग्राहकले मासिक ४ सय युनिटभन्दा बढी विद्युत खपत गरेमा प्रतियुनिट ११ रुपैयाँ महसुल तिर्नुपर्नेछ । यसअघि १२ रुपैयाँ तिर्दै आएकोमा १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको हो ।

यसैगरी, थ्रीफेज मिटरको सेवा लिएका ग्राहकको हकमा असारदेखि कात्तिक महिनासम्म र मंसिरदेखि जेठसम्म गरी २ प्रकारको महसुल दर आयोगले निर्धारण गरेको छ । असारदेखि कात्तिकसम्मलाई बर्खा याम र मंसिरदेखि जेठसम्म सुख्खा याम मानि फरक फरर महसुल दर तोकिएको छ ।

थ्रीफेज मिटरमा तल्लो भोल्टेल लेभल (२३०–४०० भोल्ट) को सेवा दिएका ग्राहकले बर्खा याममा मासिक ४ सय युनिटसम्मको खपतमा प्रतियुनिट १०.५० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ११.५० रुपैयाँ तिर्दै आएकोमा १ रुपैयाँ घटाएर १०.५० रुपैयाँ महसुल दर निर्धारण गरिएको आयोगले जनाएको छ ।

मासिक ४ सय युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहकको हकमा बर्खा यामका लागि १.५० रुपैयाँ घटाएर १०.५० रुपैयाँ नै कायम गरिएको छ ।
यस्तै, सुख्खा यामको प्रतियुनिट महसुल दर पनि ५० पैसा घटेको छ । यो श्रेणीका ग्राहकले सुख्खा याममा अब प्रतियुनिट ११.५० रुपैयाँ तिर्नुपर्नेछ । यो महसुल दर बर्खा यामको भन्दा १ रुपैयाँ बढी हो ।

३३/११ केभी फिडरबाट विद्युत सेवा लिई मासिक १ हजार युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले बर्खा याममा प्रतियुनिट १०.५० रुपैयाँ नै महसुल दर निर्धारण गरिएको छ । यो अहिलेको महसुर दर भन्दा प्रतियुनिटमा ५० पैसा थोरै हो ।

१ हजार युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहकको महसुल दर भने १.५० रुपैयाँ घटेको छ । यो वर्गका ग्राहकले पनि अब बर्खा याममा १०.५० रुपैयाँ तिरे पुग्नेछ । सुख्खा याममा भने प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी, सिँचाइका ग्राहकको हकमा विद्युत महसुल ४०.६९ प्रतिशतले घटाएर समायोजन गरिएको आयोगले जनाएको छ । सिँचाइ वर्षका ग्राहकले टिओडी मिटर राखि ३३ केभी लाइनबाट विद्युत सेवा लिई राति ११ देखि  बिहान ५ बजेसम्म सिँचाइका लागि विद्युत उपयोग गरेमा प्रतियुनिट २ रुपैयाँ तिरे पुग्नेछ । यो अवधिमा सिँचाइका लागि विद्युत उपयोग गर्ने ग्राहकले अहिले प्रतियुनिट ३.५० रुपैयाँ तिर्दै आएका थिए ।

बिहान ५ देखि साँझ ५ बजेसम्म खेतबारी सिँचाइ गर्दा भने ३.१० रुपैयाँ तिर्नुपर्नेछ । यो समयको विद्युत महसुल पनि युनिटमा १.६५ रुपैयाँ घटाएर ३.१० रुपैयाँ कायम गरिएको आयोगले जानकारी दिएको छ ।

टिओडी मिटर बिना नै ३३ केभी लाइनबाट विद्युत लिने सिँचाइका ग्राहकले प्रतियुनिट २.५० रुपैयाँ तिर्नुपर्ने भएको छ । अहिलेको मौजुदा महसुल दरभन्दा यो प्रतियुनिटमा २.३० रुपैयाँ सस्तो हो ।

यस्तै, ११ केभी फिडरबाट सेवा लिएका सिँचाइका ग्राहकले प्रतियुनिट १.६० रुपैयाँ तिर्नुपर्ने भएको छ । यो श्रेणीमा आउने सिँचाइका ग्राहकको प्रतियुनिट महसुल २.२० रुपैयाँ घटाएर १.६० रुपैयाँ बनाइएको हो ।

टिओडी मिटर बिना २३०–४०० भोल्टबाट सिँचाइ गर्ने ग्राहकले प्रतियुनिट २.२५ रुपैयाँ तिर्नु पर्ने भएको छ । अहिले यो श्रेणीका सिँचाइ ग्राहकले प्रतियुनिट ४.३० रुपैयाँ तिर्दै आएका थिए । समायोजन भएको नयाँ महसुल दरमा प्रतियुनिट २.०५ रुपैयाँ घटाइएको छ । 

अन्य वर्गका ग्राहकको विद्युत महसुल भने यथावत राखिएको छ । आयोगले प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल माथि गत असोज १४ गते सार्वजनिक सुनुवाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit