पर्सा । चालु आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज नाका हुँदै २ अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारी साधन भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारी साधन १०२ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आयात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको ९ महिनामा विद्युतीय सवारी साधन आयात शतप्रतिशतले वृद्धि भएको बताए । गत आवको ९ महिनामा १ अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारी साधन आयात भएको थियो ।
चालु आवको ९ महिनामा १ अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा ४८ करोड रुपैयाँको १७२ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको थियो ।
चालु आवमा ९६ करोड रुपैयाँको ७ हजार ३९८ वटा विद्युतीय मोटर साइकल आयात भएको छ । गत आवको सोही अवधिमा ५५ करोड रुपैयाँको ४ हजार २२७ विद्युतीय मोटरसाइकल आयात भएको थियो ।
त्यसैगरी चालु आवको ९ महिनामा ५३ करोड रुपैयाँको ४ हजार ६०६ वटा विद्युतीय तीन पाङ्ग्रे सवारी साधन आयात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड रुपैयाँको ३ हजार ६१३ वटा विद्युतीय तीन पाङ्ग्रे सवारी आयात भएको थियो ।