काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ स्थापना गरी सञ्चालनमा ल्याएको छ । सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा नवीन कार्य गर्ने उद्देश्यका साथ यो कम्पनी स्थापना गरिएको हो ।
गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा, दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बनाउने लक्ष्यका साथ कम्पनीले काम गर्ने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘पूर्वाधार साझा गर्ने अवधारणामा आधारित कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भने ।
कम्पनीले इन्टरनेट सेवा प्रदायकलाई ‘प्लग–एण्ड–प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउने छ । यसो हुँदा सेवा प्रदायकले आफ्नै पोल गाड्ने वा तार टाँग्ने झन्झट गर्नु नपर्ने शाक्यको भनाइ छ ।
प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकको पूँजीगत खर्च उल्लेख्य घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको छ । यस्तै, प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट, पोललाई ‘प्यासिभ एसेट्स’का रूपमा भाडामा उपलब्ध गराउने छ ।
काठमाडौँ उपत्यकाको मुख्य समस्या रहेको तारको गुजुल्टो हटाउन कम्पनीले प्राथमिकताका साथ काम गर्ने जनाइएको छ । भूमिगत पाइपको साझा प्रयोगले सहरी सौन्दर्य फर्काउनुका साथै विद्युत् र टेलिफोन तारहरूको राम्रो व्यवस्थापन हुने पनि विश्वास लिइएको छ ।