काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् भारतमा निर्यातका लागि पाएको स्वीकृतिको नवीकरण भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न ८ जलविद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको २८३ मेगावाट विद्युत् निर्यातका लागि दिएको स्वीकृति नवीकरण गरिदिएको हो ।
प्राधिकरणले देशभित्र खपतपछि अतिरिक्त विद्युत् भारतको प्रतिस्पर्धी विद्युत् बजार ‘इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स)’ को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात गरिरहेको छ ।
आइएक्समा बिक्री गर्न स्वीकृति पाएका ४ आयोजनाको नवीकरण भएको हो । ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आइएक्समा बिक्रीका लागि भारतबाट प्राप्त स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको विद्युत् निर्यातको स्वीकृति गत मङ्गलबारबाट लागू हुने गरी एक वर्षका लागि नवीकरण भएको हो ।
यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० विद्युत् बिक्री भइरहेको थियो । हरियाणा राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिँदै छ । प्राधिकरणले हरेक वर्षको जुन महिनादेखि अक्टोबरसम्म हरियाणालाई विद्युत् बिक्री गर्दछ । हरियाणालाई विद्युत् बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आइएक्समा पनि बिक्री प्राधिकरणले अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृत गरेको छ । अब ४ आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट आइएक्समा समेत निरन्तर बिक्री गर्न पाउने भएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएको आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए ।
उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृत गरिदिन समेत आग्रह गरेका थिए ।