काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले मुलुकका विभिन्न स्थानमा पछिल्लो समय देखिएका सामाजिक तनाव तथा अशान्तिका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संस्थाले यस्तो आग्रह गरेको हो ।
अध्यक्ष मोहनकुमार डाँगीद्वारा जारी विज्ञप्तिमा कुनै पनि असहमति र विवादलाई संवाद, वार्ता तथा संवैधानिक र कानुनी प्रक्रियाबाट समाधान गर्न आह्वान गरिएको छ । नेपालको बहुसांस्कृतिक पहिचान र सहअस्तित्वलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउनु नै लोकतान्त्रिक अभ्यासको उत्तम बाटो भएको उल्लेख छ ।
ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार मान्दै इपानले जलविद्युत् आयोजनाको सफलताका लागि सुरक्षित लगानी वातावरण र सामाजिक सद्भाव अपरिहार्य रहेको स्पष्ट पारेको छ । सामाजिक अशान्ति, तोडफोड, बन्द र अवरोधले निर्माण लागत बढाउने, आयोजना लम्ब्याउने र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने संस्थाकाे चिन्ता छ ।
यसै सन्दर्भमा, इपानले सरकार र सम्बन्धित निकायहरूसँग जलविद्युत् आयोजना र अन्य विकास पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति एवं कानुनी शासन सुदृढ बनाउन माग गरेको छ । साथै, नागरिक समाज, निजी क्षेत्र र स्थानीय समुदायलाई सहकार्य र संवादमार्फत दिगो आर्थिक समृद्धि र राष्ट्र निर्माणको अभियानमा हातेमालो गर्न आह्वान गरिएको छ ।