विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको आर्थिक रूपान्तरणका लागि अतिरिक्त विद्युत्‌को आन्तरिक प्रयोग बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । अतिरिक्त विद्युत्‌को आन्तरिक प्रयोग बढाउन नसक्दा देशको आर्थिक समृद्धिसमेत पछि परेको उनीहरूको चिन्ता छ ।

मार्टिन चौतारीमा आयोजित मंगलबारको छलफल कार्यक्रममा अतिरिक्त विद्युत्‌को प्रयोगबाट नेपालको आर्थिक रूपान्तरण विषयमा आफ्नो प्रस्तुति राख्दै विनरक इन्टरनेसनलका क्लिन इनर्जी तथा सर्कुलर इकोनोमी निर्देशक विकास पाण्डेले नेपालमा हाल जडित प्रणालीमा विद्युत्‌को माग पूरा भएको अतिरिक्त विद्युत्‌को परिमाण बढ्न थालेको बताए ।

‘नेपालमा विद्युत् उत्पादनको दर प्रत्येक वर्ष १७ देखि २० प्रतिशतले बढेको छ भने खपतको वृद्धिदर भने प्रत्येक वर्ष घट्दै आएर हाल १० प्रतिशतको हाराहारीमा रहेको छ,’ उनले भने, ‘उत्पादनको वृद्धिदरकै अनुपातमा खपतको दरसमेत बढाउनुपर्छ, यसले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को वृद्धिदर अर्थात् आर्थिक वृद्धिदरमा सुधार ल्याउँछ ।’

हाल नेपालको अतिरिक्त विद्युत्‌को आन्तरिक खपतभन्दा पनि निर्यातमा ध्यान केन्द्रित भएको उनले बताए । नेपालबाट अतिरिक्त विद्युत्‌को निर्यात टेरावाट आवरमा पुगिसकेको भन्दै उनले हाल ०.७ टेरावाट आवर निर्यात हुन थालिसकेको बताए ।

‘बल्ल नेपालमा कुनै चिजको त पर्याप्त उत्पादन हुन थालेको छ,’ उनले भने, ‘यो गर्वको विषय हो तर नयाँ अवसरहरूको सिर्जना गरी रोजगारीको अवसर वृद्धि गर्दै देशको समग्र आर्थिक रूपान्तरका लागि विद्युत्‌को खपत बढ्न नसकेका कैयौँ क्षेत्रमा यसको खपत बढाउनु आवश्यक छ ।’

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्दै सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्दै हरेक क्षेत्रमा स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोग बढाउन विद्युत्‌को खपत बढाउनु अपरिहार्य रहेको उनको भनाइ छ ।

‘विद्युतीय सवारी, खाना पकाउने कार्य, कृषि सिँचाइ, पर्यटन, औद्योगिक क्षेत्रजस्ता कैयौँ क्षेत्रमा अझै पनि विद्युत्‌को प्रयोग पर्याप्त मात्रामा बढ्न सकेको छैन,’ उनले भने, ‘सिँचाइका लागि पानी तान्ने मोटर पम्पहरू चलाउन धेरै विद्युत् खपत हुनुपर्ने हो तर हालसम्म सिँचाइ क्षेत्रमा जम्मा २ प्रतिशत मात्र खपत भएको देखिन्छ ।’ घरमा बत्तीको लाइन जोडिएपछि उक्त घरपरिवारको खेतमा बिजुली नपुगे पनि सो क्षेत्रलाई विद्युतीकरण भएको क्षेत्रमा गणना गर्ने परिपाटीले पनि झन्डै ९८ प्रतिशत विद्युतीकरण हुँदा पनि विद्युत्‌को खपत यस्ता क्षेत्रमा बढ्न नसकेको उनले बताए ।

नेपालमा ३ मेगावाटको एउटा सानो आयोजना बनाउन केही करोड रुपैयाँ जुटाउन एक दर्जन बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नुपरेको सुरुवाती अवस्थाको स्मरण गर्दै उनले अहिले स्वदेशी लगानीमै सयौँ मेगावाटका आयोजना निर्माणमा अघि बढ्छन् भन्ने कुरा ३ दशकअघि कसैले परिकल्पना नै नगरेको जानकारी दिए ।

‘सुरुवाती दिनमा स्वदेशी लगानीमै केही ठूला जलविद्युत् आयोजना बनाउनुपर्छ भनेर डा. डम्मर नेपालीले सक्रियता लिनुभयो,’ उनले भने, ‘त्यसपछि चिलिमे बन्यो र बिस्तारै ठूला आयोजनामा बैंकहरू तथा व्यक्तिले ठूलो लगानी गर्न थाले ।’ अहिले पनि विद्युत्‌को उत्पादन निरन्तर बढिरहेकोले सोही अनुपातमा खपत बढाउँदै लैजान सरकारले विद्युत् खपतमार्फत आर्थिक रूपान्तरणका नीति लिनुपर्ने उनको भनाइ छ ।

‘नेपालको विद्युत् आवश्यकता वा माग कति हो र कति हुनुपर्छ भन्ने कुरा हामीले लिने देशको आर्थिक समृद्धिको नीतिमा भरपर्छ,’ उनले भने, ‘आर्थिक नीतिअनुसारको माग पूर्ति हुँदै गएपछि विद्युत्‌को खपतको वृद्धिदर पनि घट्दै जाने हो, यद्यपि हामीले आन्तरिक खपत नबढाएर पूर्णतया निर्यातमुखी बनाउँदै लगियो भने त्यो अझ लगानीका हिसाबले जोखिमपूर्ण बन्न जान्छ ।’

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव समेत रहेका ऊर्जाविज्ञ दिनेशकुमार घिमिरेले विद्युत्‌को आन्तरिक आन्तरिक खपत बढाउन आवश्यक पूर्वाधारको विकास नहुन्जेलका लागि अतिरिक्त विद्युत् निर्यातको नीति सरकारले लिएको धारणा राखे । अन्य क्षेत्रसहित डिजिटल सेवा क्षेत्रमा विद्युत्‌को खपत बढाउने नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा विद्युत् नियमन आयोगका सदस्य मधुसुधन अधिकारीले प्रसारण र वितरण शुल्क निर्धारण गरेर निजी क्षेत्रलाई समेत प्रसारण तथा वितरण लाइन निर्माणमा सहभागी गराउने गरी आयोगले निर्देशिका बनाइरहेकोले केही समयभित्रै प्रसारण तथा वितरण लाइन पूर्वाधार निर्माणका समस्या कम भएर जाने बताए । उनले विद्युत् उत्पादनको यो गतिलाई नरोकी खपतमा अघि बढ्नुपर्ने धारणा राखे ।

ग्रीन इनर्जी आट्रप्रेनर्स नेपाल (ग्रीन) का अध्यक्ष सूर्यप्रसाद अधिकारीले ऊर्जा उत्पादनमा निजी क्षेत्र सक्रिय रूप लागेको भए पनि आफैँले उत्पादन, प्रसारण, व्यापार जस्ता कम्पनी खोलेर ती क्षेत्रमा निजी क्षेत्रलाई अझै विश्वास नगरेको जस्तो आभास भएको गुनासो गरे । जलविद्युत्‌को विकास गर्ने कम्पनीको परिकल्पना निजी क्षेत्रले नै गरेको भए पनि सरकारले अहिले एचआइडिसिएललाई बैंक जस्तो बनाएको बताए । ‘अहिले सर्ट टर्म'का लागि अतिरिक्त विद्युत् निर्यात गरेको भए नेपालका २० हजारको सङ्ख्यामा रहेका माग केन्द्रमा विद्युत् पुर्‍याउन नसकिएको अध्ययनले देखाएको बताए ।

कार्यक्रममा ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीले आन्तरिक खपत वृद्धिका लागि कुन कुन क्षेत्रमा के कस्ता व्यवहारिक कार्यहरू गर्न सकिन्छ, त्यसको  स्पष्ट खाका बनाउनुपर्ने बताए । एनएमबि बैंकका दिगो बैंकिङ प्रमुख दिनेश दुलालले सुरुवाती चरणमा ३० वर्षअघि नेपालमा लगानीकै अभाव रहेको र अहिले आउँदा अवस्था उल्टिएर लगानीको अभाव हटे पनि विद्युत् बजारकै अभाव देखिएको बताए ।

इन्जिनियर विदुर पौडेलले गुणस्तरीय प्रसारण तथा वितरण पूर्वाधारको विकासबिना खपत बढाउन नसकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३