काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण ग्रिड महाशाखाअन्तर्गत लाहान सबस्टेसनमा कार्यरत इन्चार्ज रामकुमार महतोले घुस लिएको आरोप भन्दै प्रकाशित समाचारको खण्डन गरेका छन् । इन्चार्ज महतोले ‘लहान सबस्टेसनमा कार्यरत इन्चार्जले सेवा–करार कर्मचारीबाट ९० हजार घुस लिएको आरोप’ शीर्षकमा वैशाख २७ गते ऊर्जा खबरमा प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
महतो ऊर्जा पठाएको खण्डन पत्रमा भनेका छन् – ‘मैले कसैसँग रकम लिएको छैन । निज शिवशङ्कर महतोले खुश्बु निर्माण सेवाबाट कारोबार गरी निर्माण सामाग्री खरिद गरेको प्रमाणबाट स्पष्ट देखिन्छ । तसर्थ मेरो यसमा कुनै संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु ।’ शिवशंकर महतोले आफूलाई फसाउन खोजेको समेत उनको आरोप छ ।
सबस्टेसनका इन्चार्ज एवम् सहायक इन्जिनियर महतोले आफूलाई जागिर लगाइदिने नाममा ९० हजार रुपैयाँ घुस लिएको सोही सबस्टेसनमा सेवा करारमा कार्यरत कर्मचारी शिवशंकर महतोले आरोप लगाएका थिए । शिवशंकर महतोले खुश्बु निर्माण सेवा, लहान–२, सिराहाबाट आधिकारिक भ्याट बिल (बीजक नं. २७) अनुसार निर्माण सामग्री खरिद गरेको देखिएको छ ।
करार कर्मचारी महतोले इन्चार्ज महतोले आफ्नै छोरीको नाममा सञ्चालन गर्दै आएको ‘खुश्बु निर्माण सेवा’ नामक कम्पनीको नाममा राजविराजमा रहेको एनआइसि एसिया बैंकको खातामा २०८२ साल साउन १ गते रकम जम्मा गर्न लगाएको र साेही दिन आफूलाई करार सेवाकाे काममा हाजिर गराएकाे दाबी गरेका थिए ।