विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
भोटेकोसी बाढी प्रभाव र उद्धार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व-निर्देशक लीलानाथ भट्टराईले भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ, मानव निर्मित गुफा (क्याभर्न) तथा अन्य संरचनामा अड्किएका व्यक्तिहरूमध्ये अपवादबाहेक अधिकांश जीवितै रहेको सम्भावना रहेको बताएका छन् ।

बाढीपहिरोबाट भएको क्षतिका कारण विभिन्न जलविद्युत् आयोजनाका संरचनामा करिब १ हजार जना अड्किएको अवस्थामा उनीहरूलाई तत्काल उद्धारको प्रयास गर्नुपर्ने भट्टराईको भनाइ छ । उनका अनुसार आयोजनाका सुरुङ तथा भूमिगत संरचनाको प्रकृति हेर्दा प्रवेशद्वारको केही भाग पुरिएर वा थुनिएर सुरुङको केही भाग अवरुद्ध भए पनि सम्पूर्ण सुरुङ, पावरहाउस क्याभर्न तथा सम्बन्धित भूमिगत संरचना पूरै लेदो, पानी र डेब्रिजले भरिने सम्भावना कम हुन्छ ।

‘यस्तो प्रलयको अवस्थामा भाग्ने क्रममा केही हताहत भए पनि धेरैजसो व्यक्ति सुरक्षित स्थानमा बसेर उद्धारको प्रतीक्षामा रहेको हुन सक्छन्,’ भट्टराईले भने, 'चिलिमे जलविद्युत् केन्द्रको पावरहाउस क्याभर्नमा रहेका व्यक्तिहरूको उद्धारलाई विशेष प्राथमिकता दिनुपर्छ ।'

भट्टराई भन्छन्- पावरहाउसमा लेदो प्रवेश गर्न थालेपछि कर्मचारीहरू कन्ट्रोल बिल्डिङको भर्‍याङ हुँदै पावरहाउस क्याभर्नमा रहेको विद्युत्‌गृहको क्याभर्नदेखि पहुँच सुरुङ (Access Tunnel to Powerhouse Cavern) मा गएर सुरक्षित रही उद्धारको प्रतीक्षामा रहेको हुन सक्ने सम्भावना छ ।

त्यसैले प्रवेश सुरुङमा जम्मा भएको लेदो, माटो तथा डेब्रिज तत्काल हटाएर भूमिगत संरचनासम्म पहुँच स्थापना गर्नुपर्ने उनको सुझाव छ । ‘उद्धारमा ढिलाइ नगरी प्रवेश सुरुङमा भएको लेदो तथा डेब्रिज यथाशीघ्र हटाएर सकुशल उद्धार गरिनुपर्छ,’ उनले भने ।

भट्टराईले चिलिमे जलविद्युत् आयोजना नेपाली प्रविधि र पौरखबाट निर्माण भएको पहिलो जलविद्युत् आयोजनामध्ये महत्वपूर्ण आयोजना भएको उल्लेख गर्दै आयोजनाको निर्माणदेखि विद्युत् केन्द्र सञ्चालनसम्म लामो समयदेखि कार्यरत जनशक्ति र प्राविधिक ज्ञानको उपयोग उद्धारमा गर्नुपर्ने बताएका छन् ।

आयोजनाको निर्माणदेखि हालसम्म कार्यरत जनशक्तिसँग पावरहाउस, सुरुङ तथा भूमिगत संरचनाको विस्तृत जानकारी रहेकाले उद्धार अभियानमा चिलिमे कम्पनी व्यवस्थापनले नेतृत्व लिन सक्ने उनले बताए । उनी विगतमा यस कम्पनीको नेतृत्वमा रहेर जिम्मेवारी पूरा गरेका व्यक्ति हुन् ।

‘चिलिमेमा कार्यरत जनशक्ति र आयोजनाको संरचनाबारे उनीहरूसँग रहेको ज्ञानलाई उद्धारमा प्रयोग गर्नुपर्छ,’ उनले थपे, ‘सकुशल उद्धार भएको एक महिनाभित्रै केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सक्ने क्षमता चिलिमेले राख्छ । त्यसैले कम्पनी व्यवस्थापनले यो वास्तविकतालाई ख्याल गर्दै उद्धार कार्यको नेतृत्व लिनुपर्छ ।’

आवश्यक परे उद्धारका लागि वैकल्पिक वा नयाँ सुरुङ निर्माण गरेर भए पनि भूमिगत संरचनामा अड्किएका व्यक्तिको उद्धार गर्नुपर्ने भट्टराईको सुझाव छ ।

भट्टराईले चिलिमेमा मात्र नभई त्रिशूली–३ ‘ए’, रसुवागढी लगायत निर्माणाधीन तथा सञ्चालनमा रहेका अन्य जलविद्युत् आयोजनाका भूमिगत संरचनामा पनि यही रणनीति अपनाउन सकिने बताएका छन् । उनले जलविद्युत् आयोजनाका भूमिगत संरचनाबाहेक बाढीपहिरोबाट घर तथा अन्य संरचना क्षतिग्रस्त भएका स्थानमा पनि मानिसहरू भग्नावशेषभित्रका कुना–काप्चामा घाइते अवस्थामा जीवितै रहेको सम्भावना रहने बताए ।

त्यसैले, अहिले सञ्चालनमा रहेको खोज तथा उद्धार अभियानलाई थप तीव्रता दिँदै सम्भावित सबै स्थानमा व्यवस्थित खोजी गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३