काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई कार्यकाल पूरा नभई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अन्तरिम आदेश माग गर्दै सोमबार रिट दायर गरेका हुन् ।
२०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै पदबाट हटाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो । सरकारको उक्त निर्णयबाट आफू अन्यायमा परेको भन्दै शाक्य अदालत गरेका हुन् ।
शाक्यको मुद्दामा अदालतले छलफलका लागि मंगलबार दुवै पक्षलाई बोलाएको छ । त्यसपछि मात्रै अदालतले मुद्दाको सुनुवाइका लागि पेशी तोक्ने जनाइएको छ । उक्त मुद्दामा शाक्यको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, शम्भु थापा, भीमार्जुन आचार्य, सतिश खरेल र रमेश बडालले शाक्यको पक्षमा बहस गर्ने छन् ।
यसअघि पनि २०७७ साल माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त सरकारले २०७८ साउन २५ गते (६ महिनामै) पदबाट हटाएको थियो । त्यस निर्णयविरुद्ध समेत सर्वोच्च अदालतमा रिट दायर गरेका शाक्यको मुद्दामा ३२ पटक पेशी सरेपछि आदालतले कुनै फैसला दिएको थिएन । फैसला नै नपाई उनको ४ वर्षे कार्यकाल व्यतीत भएको थियो ।