विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २०, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् केन्द्रको पुनर्निमार्णका क्रममा सम्पर्कविहीन ९३ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ । निर्माणस्थलका विभिन्न संरचनामा ठूलो क्षति पुगेपछि विद्युत्‌गृह जाने पहुँच सुरुङभित्र तथा बाहिर रहेका कर्मचारीको खोजी भइरहेको हो ।

त्यसका लागि प्रवर्द्धक कम्पनी, नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत निकायले विभिन्न तहबाट प्रयास गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार आज १९ गते बिहान ११ बजेसम्म ५१ जना नियमित कर्मचारी, १ जना सञ्चालक, २ जना दैनिक ज्यालादारी कामदार र तीनवटा ठेकेदार कम्पनी अन्तर्गत कार्यरत ३९ जना गरी कुल ९३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

बाढी आएको दिनदेखि नै आयोजनाले कर्मचारीको अवस्था पहिचान, खोज तथा उद्धार, सरकारी तथा सुरक्षा निकायसँग समन्वय, परिवार तथा आफन्तलाई सूचना प्रवाह, अस्पतालमा रहेका व्यक्ति तथा शवको विवरण सङ्‌कलन र विद्युत्‌गृहको सुरुङभित्र प्रवेश गरी खोजी गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

विद्युत्‌गृहको सुरुङमा २२० मिटरभित्रसम्म पुगेर खोजी, लेदो तथा गेग्र्यान हटाउन उपकरण तयारीमा; नेपाली सेनाको उद्धार टोली अनुकूल मौसमको प्रतीक्षामा

बाढी आएको दिनदेखि गरिएको खोजी तथा उद्धार कार्यको उपलब्धि

कम्पनीका अनुसार भदौ १० गते बिहान करिब ८:४० बजे रसुवास्थित भोटेकोसी नदीमा अकस्मात् ठूलो बाढी आएको जानकारी आयोजनास्थलबाट बाँच्न सफल स्थानीयमार्फत प्राप्त भएको थियो । त्यसपछि फोनमार्फत घटनाको अवस्थाबारे बुझ्दा बाढीको मात्रा अत्यन्त ठूलो रहेको र आयोजनास्थलका संरचना तथा मानिसमा ठूलो क्षति पुगेको हुन सक्ने प्रारम्भिक जानकारी बिहान करिब ९:०५ बजे प्राप्त भएको थियो ।

घटनाको गम्भीरता थाहा पाएलगत्तै काठमाडौँस्थित कम्पनी कार्यालयबाट आयोजनास्थलका कर्मचारीसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो । आयोजनास्थलका कुङकाङ घले, छिरिङ डोल्गर तामाङ र तन्जेन तामाङ भने आयोजनास्थल नजिकै अन्य स्थानमा रहेर जसोतसो ज्यान जोगाउन सफल भएको जानकारी प्राप्त भएको थियो ।

त्यसपछि घटनाको समयमा कार्यरत कर्मचारी तथा अन्य जनशक्तिको विवरण सङ्‌कलन गरिएको थियो । प्रारम्भिक रूपमा ५१ जना कम्पनी कर्मचारी, ६ जना दैनिक ज्यालादारी कर्मचारी र करिब ४२ जना ठेकेदार कम्पनी अन्तर्गत कार्यरत जनशक्ति सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको थियो ।

यसै क्रममा कम्पनीका सञ्चालक सुनौं औदी तामाङ तथा उहाँकी धर्मपत्नीसमेत सम्पर्कविहीन भएको जानकारी प्राप्त भएपछि कम्पनीले खोज तथा उद्धारलाई थप प्राथमिकताका साथ अघि बढाएको थियो ।

घटनास्थल पुग्ने प्रयास

आयोजनास्थलका कर्मचारीको अवस्था बुझ्न तथा सम्भावित उद्धार सुरु गर्न सञ्चालक समितिका सदस्य तथा निमित्त प्रमुख कार्यकारी अधिकृतसहितको टोली विमानस्थल पुगेको थियो । आयोजनास्थलसम्म पुग्न सक्ने हेलिकप्टरको व्यवस्था तथा चार्टरका लागि विभिन्न माध्यमबाट प्रयास गरिए पनि तत्काल सफल हुन सकेन ।

पछि कम्पनीकै पहलमा काठमाडौँदेखि टिमुरेसम्म हेलिकप्टर उडान बुक गरी फिस्टेल एयरको हेलिकप्टरमार्फत तीन कर्मचारी टिकानाथ पौडेल, साङ्गे वाङचुक लामा र कर्पु सोनाम वाइवालाई खोज तथा उद्धारमा परिचालन गरिएको थियो ।

टोलीले आयोजनास्थल तथा आसपासका सम्भावित क्षेत्रमा खोजी तथा अवस्थाको जानकारी लिने काम गर्‍यो । दुई कर्मचारी टिमुरेमै बसेर दिनरात आसपासका सम्भावित क्षेत्रमा खोजीमा खटिएका थिए । एक जनाले घटनास्थलको वस्तुगत अवस्थाबारे फोटो तथा भिडियो सङ्‌कलन गरेका थिए ।

उक्त प्रयासकै क्रममा प्राप्त दृश्य सामग्री र प्रारम्भिक अवस्थाको समीक्षा गर्दै कम्पनीले सोही दिन साँझ ६ बजे सञ्चालक समितिको आकस्मिक बैठक बसेकको थियो ।

बैठकमा बाढीबाट आयोजनामा हुनसक्ने क्षति, कर्मचारीको अवस्था, त्यसबेलासम्म भएका खोज तथा उद्धारका प्रयास, सम्बन्धित निकायसँगको समन्वय तथा आगामी दिनमा गर्नुपर्ने खोज तथा उद्धारका विषयमा छलफल गरिएको थियो ।

हेल्प डेस्कदेखि ह्वाट्स एप समूहसम्म

घटनाको दिनदेखि नै सम्पर्कविहीन कर्मचारीका परिवार तथा आफन्तजनले कम्पनी कार्यालयमा फोन गरी जानकारी माग्न थालेका थिए । कम्पनीले उपलब्ध भएसम्मको सूचना आफन्तजनलाई उपलब्ध गराउने, घटनाक्रमबारे जानकारी दिने तथा भइरहेको खोज तथा उद्धारका प्रयासबारे नियमित रूपमा अवगत गराउने व्यवस्था मिलाएको थियो ।

आफन्तजनका गुनासा तथा जिज्ञासा सम्बोधन गर्न कम्पनी कार्यालयमै हेल्प डेस्क स्थापना गरिएको थियो । यसपछि कर्मचारी तथा सम्पर्कविहीन व्यक्तिका परिवार/आफन्तलाई छिटो र नियमित सूचना उपलब्ध गराउने उद्देश्यले ह्वाट्स एप ग्रुपसमेत स्थापना गरिएको थियो । यस खोज तथा उद्धारका क्रममा प्राप्त विवरण तथा प्रयासबारे जानकारी दिने र आफन्तबाट प्राप्त सूचना, गुनासा तथा सुझावका आधारमा थप काम अघि बढाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

संस्थागत समन्वय

कम्पनीले घटनाको प्रारम्भिक जानकारी सम्बन्धित सरोकारवाला तथा निकायलाई तत्काल गराएको थियो । नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, सम्बन्धित बैंक तथा बीमा कम्पनीलगायत निकायलाई आयोजनाको अवस्थाबारे जानकारी दिइएको थियो ।

त्यसैगरी, सञ्चालक समितिको निर्देशनअनुसार सरकारी तथा नियामक निकाय, बीमा कम्पनी, वित्तीय संस्था तथा अन्य सरोकारवालालाई आयोजनाको अवस्था र कर्मचारी सम्पर्कविहीन भएको विषयमा औपचारिक पत्राचार गरिएको थियो ।

सम्बन्धित बीमा कम्पनीलाई औपचारिक जानकारी तथा इन्सुरेन्स इन्टिमेसन पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी, रसुवालाई खोज तथा उद्धारमा समन्वय र सहयोगका लागि अनुरोध गरिएको थियो । यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, कुमारी बैंक, नबिल बैंक लगायत सम्बन्धित संस्थालाई घटनाबारे जानकारी गराइएको थियो ।

नियामक निकायका रूपमा नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डलाई समेत घटनाको अवस्थाबारे जानकारी गराइएको कम्पनीले जनाएको छ ।

भदौ ११ गते : कम्पनीले सम्बन्धित निकायमा गराइएको आधिकारिक जानकारीको 'फलोअप' गर्दै खोज, उद्धार, बीमा तथा अन्य आवश्यक सहयोगका लागि संस्थागत समन्वयलाई निरन्तरता दिएको थियो । सुरुङमा फसेका तथा सम्पर्कमा नआएका कर्मचारीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विद्युत् प्राधिकरणलाई आयोजनामा विभिन्न स्थानमा खटिएका कर्मचारीको नामावलीसहित पत्राचार तथा अनुरोध गरिएको थियो ।

टिमुरेबाट उद्धार गरी त्रिशूली ल्याइएका तथा त्रिशूली अस्पतालमा उपचाररत व्यक्तिको सूची सङ्‌कलन गरी सम्पर्कविहीन व्यक्तिको पहिचान गर्ने प्रयास गरिएको थियो । थप खोजीका लागि हेलिकप्टर उडानको प्रयास गरिए पनि गृह मन्त्रालयका सम्बन्धित निकायसँग निरन्तर सम्पर्क गर्दा त्यस दिन उडान स्वीकृति प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ ।

यसैबीच अघिल्लो दिनदेखि टिमुरेको माथिल्लो क्षेत्रमा खोजीमा खटिएका कम्पनीका दुई कर्मचारीले निरन्तर खोजी गरेका थिए । पछि नेपाली सेनाबाट उनीहरूलाई धुन्चे उद्धार गरी ल्याइएको थियो । आयोजना क्षेत्र वरपरका गाउँबस्तीमा समेत ठूलो क्षति पुगेकाले स्थानीय बासिन्दाबाट उद्धार तथा खोजी कार्यका लागि कम्पनीको तर्फबाट थप पहल गरिदिन अनुरोध आएको थियो ।

भदौ १२ गते : खोज तथा उद्धारमा ढिलाइ भएको गुनासोसहित कम्पनीले सम्बन्धित निकायसँग निरन्तर संवाद र सहयोगका लागि अनुरोध गरेको थियो । सरकारका उच्च निकायसँग भेटी उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको थियो । त्यस दिन विद्युत् केन्द्रको बाँधस्थलस्थित डिस्यान्डर अपरेसन टनेलमा कार्यरत ६ जना दैनिक ज्यालादारी कर्मचारीमध्ये ४ जनाको जीवित उद्धार गरी धुन्चे अस्पताल ल्याइएको थियो ।

सोही दिन हेलिकप्टरबाट खोजीका लागि दुई वटा उडान स्वीकृति प्राप्त गरी आयोजनास्थलका सम्भावित क्षेत्रमा खोजी गरिएको थियो । कम्पनीले सरकारी तथा सुरक्षा निकायलाई आयोजनाको लोकेसन, लेआउट नक्सालगायत माग गरिएका प्राविधिक विवरण उपलब्ध गराउँदै उद्धार कार्यलाई तीव्र बनाउन अनुरोध गरेको थियो । रेस्क्यु टोलीसँग ड्रोन सर्भेका लागि समेत अनुरोध गरिएको थियो । विभिन्न अस्पतालमा उपचाररत तथा विभिन्न स्थानबाट उद्धार गरिएका व्यक्तिको सूची सङ्‌कलन गरिएको थियो । सामाजिक सञ्जालमा प्राप्त सूचना, फोटो तथा भिडियोका आधारमा सम्पर्कविहीन कर्मचारीको पहिचान गर्ने प्रयाससमेत गरिएको थियो ।

भदौ १३ गते : विद्युत् प्राधिकरणमार्फत 'रेस्क्यू टास्क फोर्स'सँग प्रत्यक्ष समन्वय गर्न छुट्टै ह्वाट्स एप ग्रुप बनाइएको थियो । विभिन्न प्राविधिक तथा वरिष्ठ कर्मचारी समूहमा विद्युत् केन्द्रसँग सम्बन्धित विवरण तथा सूचना आदानप्रदान गरिएको थियो । कम्पनीका सञ्चालक समिति सदस्य तथा वरिष्ठ कर्मचारी धुन्चे र बट्टार पुगेर खोज तथा उद्धारका लागि थप पहल गरेका थिए ।

सम्पर्कविहीन कर्मचारीका फोटोसहितको विस्तृत विवरण विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराइएको थियो । अस्पताल तथा विभिन्न स्थानबाट उद्धार गरिएका व्यक्तिको सूची सङ्‌कलन गरी खोजी जारी राखिएको थियो । मिडिया, सरकारी निकायका वेबसाइट तथा सामाजिक सञ्जालबाट प्राप्त सूचना, फोटो र भिडियोको अध्ययन गरी सम्पर्कविहीन कर्मचारीको पहिचान गर्ने प्रयास गरिएको थियो ।

भदौ १४ गते : नेपाली सेनाको 'रेस्क्यू टास्क फोर्स'ले विद्युत्‌गृहको पोर्टलम आरइसिई (रिकन्नेसन्स) सर्भे गरी अध्ययन गरेको थियो । भौगर्भिक अवस्थाका कारण तत्काल सो स्थानमा हेलिकप्टर अवतरण गर्न नसकिने जानकारी प्राप्त भएको थियो । उद्धारका लागि आवश्यक सामग्रीसहित अर्को दिन तयारी गर्ने जानकारीसमेत प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई उद्धारमा भइरहेको ढिलाइबारे जानकारी गराउँदै कार्य छिटो अघि बढाउन आग्रह गरेको थियो ।

बाँधस्थल तथा विद्युत्‌गृहको सुरुङभित्र यथाशीघ्र खोजी तथा उद्धार गर्न र घट्टेखोलास्थित कार्यालय/आवासगृहभन्दा माथिल्लो भागमा ड्रोन सर्भे गर्न जिल्ला प्रशासन कार्यालय, रसुवा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरिएको थियो । कम्पनीका प्रतिनिधि प्राधिकरणमै उपस्थित भएर समेत अनुरोध गरेका थिए ।

भदौ १५ गते : खोज तथा उद्धारको अर्को महत्वपूर्ण चरण सुरु गरिएको थियो । विभिन्न अस्पतालमा रहेका बिरामीको विवरण तथा शवको नामावली र फोटो सङ्‌कलनका लागि कर्मचारी परिचालन गरेको थियो । विद्युत्‌गृहको सुरुङभित्र उद्धारका लागि खटिएको 'रेस्क्यू टिम'सँग कम्पनीका प्राविधिकले निरन्तर समन्वय गरी फोटो, भिडियो तथा अवस्थाबारे जानकारी लिएका थिए ।

दुई पटकको प्रयासमा 'रेस्क्यू टिम' विद्युत्‌गृहको सुरुङभित्र करिब २२० मिटरसम्म पुग्न सफल भएको थियो । त्यहाँसम्म पुग्दा उद्धार गर्नुपर्ने व्यक्ति भेटिएनन् । त्यसपछि अगाडिको भाग बाक्लो लेदोले पुरिएको भेटिएपछि थप अगाडि जान नसकिएको जानकारी दिइएको थियो । यसपछि सञ्चालक समितिले आकस्मिक बैठक बसी हालसम्म भएका सरकारी खोज तथा उद्धार प्रयासबाट अपेक्षित नतिजा नआएको निष्कर्षसहित थप प्रभावकारी कार्य अघि बढाउन सम्बन्धित सङ्‌घीय निकायलाई पुनः पत्राचार गर्ने निर्णय गरेको थियो ।

भदौ १६ गते : कम्पनीका सञ्चालक समितिका प्रतिनिधिले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा गृह मन्त्रालयमा उपस्थित भएर खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन छलफल गरेका थिए । त्यसै दिन सम्पर्कविहीन कर्मचारीका आफन्तजनसँग कम्पनी कार्यालयमा हालसम्म भएका प्रयास, प्राप्त उपलब्धि तथा आगामी उपायबारे छलफल गरिएको थियो । अपेक्षित नतिजा नआएको भन्दै थप पहल गर्नुपर्ने माग आफन्तजनबाट आएको थियो ।

सम्पर्कविहीनका प्रतिनिधि, सञ्चालक समिति तथा व्यवस्थापनका प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग मन्त्रालयमा बैठक गरिएको थियो । बैठकबाट खोज तथा उद्धारमा थप प्रयत्न गर्ने आश्वासन प्राप्त भएको कम्पनीले जनाएको छ ।

भदौ १७ गते : खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन कम्पनीले आफ्नै तर्फबाट पनि आवश्यक उपकरण जुटाउन थालेको थियो । विद्युत्‌गृहको सुरुङभित्र रहेको मलवा हटाउन स्काभेटर, डिजेल जेनेरेटर, सब्मेर्सीबल पम्प, होस पाइप तथा सम्बन्धित पार्टपुर्जा खरिद गरी त्रिशूली पठाइएको थियो ।

नेपाल आर्मीका १० सदस्यसहितको टोलीले घट्टेखोला तथा आसपासका क्षेत्रमा स्थलगत खोज तथा सञ्चालन गरेको थियो । खोजीबाट ८ जनाको शव प्राप्त भएको जानकारी कम्पनीले पाएको थियो । तर त्यसको फोटो तथा भिडियो कम्पनीले प्राप्त गर्न नसकेको जनाएको छ । विद्युत्‌गृहबाहिर सम्भावित क्षेत्रमा खोजीलाई थप विस्तार गर्न कम्पनीले दक्ष तथा अनुभवी रक क्लाइम्बर्स परिचालन गर्ने प्रक्रिया अघि बढाएको थियो । यसका लागि हिमालयन समिट क्लब प्रा.लि.सँग समन्वय गरिएको थियो ।

उता नेपाली सेनाको 'रेस्क्यू टिम'ले विद्युत्‌गृहमा स्काभेटर तथा अन्य उपकरण लैजान पुनः आरइसिआई गर्दा विद्युत्‌गृह अगाडिको स्थानमा नदीले थप कटान गरेको र उपकरणसहितको ठूलो हेलिकप्टर अवतरण गर्न नसक्ने अवस्था रहेको जानकारी दिएको थियो । कम्पनीले उक्त क्षेत्रमा पुनः आरइसिआई गर्न अनुरोध गरेको थियो । मौसम खराब भएपछि अर्को दिन सो कार्यका लागि तयारी गरिएको थियो ।

भदौ १८ गते : बिहान ९ बजेसम्म विद्युत्‌गृहको सुरुङभित्रको लेदो हटाउन खरिद गरिएका सबै उपकरण तथा सामग्री हेलिकप्टरबाट आयोजनास्थल लैजान त्रिशूलीमा तयारी अवस्थामा राखिएको थियो । नेपाली सेनाको 'रेस्क्यू टिम' तथा कम्पनीका दुई जना इन्जिनियरसहित विद्युत्‌गृहतर्फ लैजान आरइसिआई गर्न टोली प्रस्थान गरेको थियो ।

त्यसैगरी, बाढी आएको समयमा सम्पर्कविहीन कर्मचारीहरू जोगिनका लागि भागेर पुग्नसक्ने सम्भावित क्षेत्र पहिचान गरी खोजी गर्न हिमालयन समिट क्लबलाई कार्यदिशा दिइएको थियो ।

भदौ १९ गते : विद्युत्‌गृहको सुरुङभित्र रहेका कर्मचारीको उद्धारका लागि आवश्यक मिनी स्काभेटर, ३० केभिए डिजेल जेनेरेटर, सब्मेरिसिबल पम्प, होस पाइप लगायत सामग्री भदौ १७ गते नै धुन्चे हुँदै आयोजनास्थल पुर्‍याउने उद्देश्यले नुवाकोटको मैथली आर्मी क्याम्प, बट्टारमा पुर्‍याइएको थियो ।

नेपाली सेनाको 'रेस्क्यू टिम'ले विद्युत्‌गृहमा उपकरण लैजानुअघि गरेको रेकीमा विद्युत्‌गृह अगाडिको क्षेत्रमा नदीले थप कटान गरेको र उपकरणसहितको ठूलो एमआई–१७ हेलिकप्टर अवतरण गर्न नसक्ने अवस्था रहेको जानकारी दिएको थियो ।

त्यसपछि कम तौलको जेनेरेटर खरिद गरी मिनी स्काभेटर र ठूलो डिजेल जेनेरेटर पठाउने पहल गरिएको थियो । १९ गते बिहान १०:५० बजेसम्म खराब मौसमका कारण सामग्री धुन्चे पठाउन नसकिएको कम्पनीले जनाएको छ ।

स्थलगत खोज

विद्युत्‌गृहभन्दा बाहिर सम्भावित क्षेत्रमा सम्पर्कविहीनको खोजीका लागि कम्पनीले आफ्नै पहलमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर्स परिचालन गर्ने निर्णय गरेको थियो । यसका लागि हिमालय समिट क्लबसँग १८ गते सम्झौता गरी चार दिनका लागि टोली आयोजनास्थलमा परिचालन गरिएको छ ।

हाल उक्त टोली टिमुरेमा खोजीमा रहेको र थप हेलिकप्टर मगाएर घट्टेखोला क्षेत्रमा गई खोजी गर्ने तयारी भएको कम्पनीले जनाएको छ । १९ गते बिहानसम्म टिमुरेबाट कुनै सकारात्मक खबर प्राप्त नभएको कम्पनीको विवरणमा उल्लेख छ ।

तीन स्थानमा प्राविधिक

खोज तथा उद्धारमा आवश्यक सम्पर्क र समन्वयका लागि कम्पनीले विभिन्न स्थानमा आफ्ना प्राविधिक कर्मचारी तयारी अवस्थामा राखेको छ । नुवाकोटको बट्टारमा वरिष्ठ इन्जिनियरसहित दुई जना, रसुवाको धुन्चेमा दुई जना इन्जिनियर तथा विद्युत्‌गृह उद्धार टोलीलाई विद्युतीय जडान कार्यमा सहयोग गर्न एक जना इलेक्ट्रिकल ओभरसियर तयारी अवस्थामा राखिएको छ । यस्तै, धुन्चेमा नेपाली सेनाको विशेष उद्धार टोली मौसम अनुकूल हुनासाथ आवश्यक टुल्स तथा उपकरणसहित विद्युत्‌गृहमा परिचालन हुन तयारी अवस्थामा रहेको जानकारी छ ।

सूचना व्यवस्थापन

कम्पनीले उद्धार कार्यसँगै सम्पर्कविहीन कर्मचारीका परिवार तथा आफन्तलाई नियमित सूचना उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिएको जनाएको छ । सञ्चालकहरू स्वयम् नियमितरूपमा कार्यालयमा उपस्थित भई परिवार तथा आफन्तजनलाई हालसम्म भएका प्रयास, प्राप्त जानकारी तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने व्यवस्था गरिएको छ ।

विभिन्न अस्पतालबाट उपचाररत व्यक्ति तथा शवको विवरण सङ्‌कलन, उद्धार गरिएका व्यक्तिको सूची तयार गर्ने, सञ्चारमाध्यमबाट प्रकाशित सामग्रीको अध्ययन गर्ने तथा सामाजिक सञ्जालमा आएका फोटो, भिडियो र सूचनाको आधारमा सम्पर्कविहीनको पहिचान गर्ने प्रयास पनि जारी राखिएको छ ।

यससँगै कम्पनीले नेपाल सरकारका विभिन्न निकाय, नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बीमा कम्पनी, बैंक तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

लेदो हटाउने चुनौती

भदौ १५ गते गरिएको दुई चरणको खोजीमा 'रेस्क्यु टिम' विद्युत्‌गृहको सुरुङभित्र करिब २२० मिटर पुगे पनि त्यसपछि मलवा थुप्रिएका कारण अगाडि बढ्न नसकेको अवस्थाले उद्धारको मुख्य चुनौती विद्युत्‌गृहको सुरुङभित्र जमेको लेदो हटाउनु बनेको छ । यसका लागि कम्पनीले आवश्यक स्काभेटर, जेनेरेटर, पम्प तथा अन्य सामग्री जुटाइसकेको छ । ठूलो हेलिकप्टर अवतरण गर्न नसक्ने भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण ती सामग्री आयोजनास्थलसम्म लैजान सकिएको छैन ।

यही कारण नेपाली सेनाको विशेष उद्धार टोली मौसम अनुकूल हुने प्रतीक्षामा रहेको छ भने कम्पनीले वैकल्पिक उपकरण तथा सानो तौलका सामग्रीमार्फत उद्धार अघि बढाउने प्रयास पनि गरिरहेको छ । ठूलो प्राकृतिक विपद्, आयोजनास्थलको भौगोलिक अवस्था, नदी कटान, सुरुङभित्र थुप्रिएको लेदो र प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३