काठमाडौँ । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्यस क्षेत्रका जलविद्युत् केन्द्र तथा आयोजना एवं विद्युत् पूर्वाधारमा कार्यरत झण्डै एक हजार जना व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ । १० वटा जलविद्युत् केन्द्र तथा आयोजना, एक सबस्टेसन तथा एउटा वितरण केन्द्रका कर्मचारी तथा कामदार हराएका हुन् ।
सरकार, नेपाल विद्युत् प्राधिकरण, नेपाली सेनासहितको खोज तथा उद्धार टोलीले निरन्तर प्रयास गर्दा पनि हराइरहेका व्यक्तिहरू फेला पर्न सकेका छैनन् । हराइरहेका व्यक्तिहरू मध्ये ८०५ आयोजनास्थल तथा पूर्वाधार क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् । त्यस्तै, सुरुङभित्र १७२ जना सुरुङरहेका छन् ।
पछिल्लो समय शुक्रबार माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङबाट १०औँ दिनमा २ जना कर्मचारीको सकुशल उद्धार गरिएको छ । केन्द्रबाट ४० जना अझै हराइरहेका छन् ।
सबैभन्दा बढी ५७६ जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली–१ को खोजी तथा उद्धार कार्य प्रभावकारी हुन सकेको छैन । आयोजनाको बाँध क्षेत्रबाट पानी लैजाने मुख्य सुरुङको ४० मिटर भित्रसम्म सेनासहितको उद्धार टोली पसेर हेर्दा आयोजनामा प्रयोग भइरहेका एस्काभेटरलगायत उपकरण तथा ठूला ढुङ्गासहितको लेदोले सुरुङ पुरिएको पाइएको थियो । त्यसपछि सुरुङभित्रको थप उद्धार हुन नसकेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका महाप्रबन्धक गिरिराज अधिकारीले बताए ।
त्यस्तै, ठूला एक्सकाभेटरलगायत उपकरणको अभावमा सुरुङबाट १२ जनासहित ९२ जना सम्पर्कविहीन रहेको रसुवागढी जलविद्युत् केन्द्र र १९१ जना सम्पर्कविहीन रहेको माथिल्लो त्रिशूली ३ ‘बी’मा समेत उद्धार कार्य प्रभावकारी बन्न सकेको छैन । बाढीले सयौँ फिटसम्म लेदो तथा ढुङ्गा ल्याएर आयोजनाका संरचनाहरू पुरेको भए पनि साना एक्स्काभेटरको प्रयोगले उत्खनन् कार्यमा समय लागेको पाइएको हो ।
ठूला एक्स्काभेटर लैजान ठूला क्षमताको हेलिकप्टर नेपालसँग नभएको र आयोजना स्थलमा ल्यान्ड गर्न सक्ने ठाउँ नरहेकोले चुनौती बढेको त्रिशूली जलविद्युत् कम्पनीकी प्रशासन प्रमुख लीला अर्यालले बताइन् । ‘ठूला एक्स्काभेटरको पार्टपुर्जा अलग गरेर आयोजनास्थल लैजाने प्रयास भइरहेको छ,’ उनले भनिन्, ‘ठूला एक्स्काभेटर नलगेसम्म खोज तथा उद्धारमा तीव्र प्रगति हुन नसक्ने देखिन्छ ।’
उनका अनुसार त्रिशूली–३ ‘बी’मा फेवा कन्स्ट्रक्सन कम्पनीका १४१, आयोजना प्रवर्द्धक कम्पनीका २१, चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेडका १२, इन्टर्नसिपका लागि गएका काठमाडौँ विश्वविद्यालयका ३ विद्यार्थी, ठेकेदार कम्पनीका ४ जना चिनियाँ र २ जना नेपाली तथा एक जना सुरक्षा गार्ड हराइरहेका छन् ।
त्यस्तै, ६० जना हराएको लाङटाङबाट १९ जनाको सकुशल उद्धार गरिएको छ । २ वटा शव निकालिएको छ । अझै ३९ जना सम्पर्कविहीन रहेका छन् । सुरुमै आयोजनाका प्राविधिक टोलीलाई उद्धारमा जान दिएको भए थप व्यक्तिको उद्धार हुन सक्ने सम्भावना भए पनि त्यसमा सरकार चुकेको आयोजना प्रवर्द्धक आरएम समूहका अध्यक्ष कृष्णप्रसाद आयार्यले बताए । अहिले पनि खोज तथा उद्धारको कार्य जारी रहेको उनको भनाइ छ ।
चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृह तथा सुरुङमा ६ जना सम्पर्कविहीन छन् तर उक्त आयोजनामा पनि ठूला एक्स्काभेटर लान नसक्दा उत्खनन, खोज तथा उद्धारमा तीव्र प्रगति हुन नसकेको चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक बाबुराजा महर्जनले बताए ।
महाविपत्पछिको प्रत्ययेक सेकेन्ड महत्त्वपूर्ण हुने भन्दै उद्धारमा एक्स्काभेटरसहितका चाँडो उत्खनन्गर्न सक्ने ठूला उपकरण प्रभावित क्षेत्रमा लैजाने कार्यमा ढिलो नगर्न सरकारलाई सम्पर्कविहीन कर्मचारी तथा कामदारका परिवारजन तथा आफन्तले दबाब दिँदै आएका छन् ।
सम्पर्कविहीन कर्मचारी तथा कामदारकाे सङ्ख्या
| क्र.सं. | आयोजना (मेगावाट) | आयोजना क्षेत्रमा | सुरुङमा फसेका | जम्मा |
| १. | रसुवागढी जलविद्युत् केन्द्र (१११) | ८१ | १२ | ९३ |
| २ | रसुवा भोटेकोसी आयोजना (१२०) | ४ | ४ | |
| ३ | लाङटाङ खोला जलविद्युत् आयोजना (२०) | ३९ | ३९ | |
| ४ | चिलिमे जलविद्युत् केन्द्र (२२) | ६ | ६ | |
| ५ | माथिल्लो त्रिशूली–१ (२१६) | ४६१ | ११५ | ५७६ |
| ६ | मैलुङ खोला जलविद्युत् आयोजना (५) | ७ | ७ | |
| ७ | माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् केन्द्र (६०) | ४० | सङ्ख्या नखुलेको | ४० |
| ८ | माथिल्लो त्रिशूली ३ ‘बी’ हब सबस्टेसन (१३२/२२० केभी) | १८ | १८ | |
| ९ | माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना (३७) | १९१ | सङ्ख्या नखुलेकाे | १९१ |
| १० | त्रिशूली जलविद्युत् केन्द्र (२४) | १ | १ | |
| ११ | देवीघाट जलविद्युत् केन्द्र (१४) | १ | १ | |
| १२ | नेविप्रा रसुवा वितरण केन्द्र (स्विचयार्ड) | १ | १ | |
| जम्मा | ८०५ | १७२ | ९७७ |