काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारी तथा मातहतका कार्यालयहरूलाई सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न परिपत्र जारी गरेकाे छ । संस्थाको आन्तरिक प्रशासनिक समन्वयलाई व्यवस्थित बनाउने र संस्थाको प्रतिष्ठामा असर पर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले यस्तो परिपत्र जारी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रशासन निर्देशनालयअन्तर्गत सुशासन व्यवस्थापन महाशाखाले बिहीबार परिपत्र जारि गर्दै सामाजिक सञ्जालमार्फत संस्थासँग सम्बन्धित आधिकारिक जानकारीबाहेकका सामग्री सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशन दिइएको छ । साथै सामाजिक सञ्जाल प्रयोग गर्दा ‘नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा सर्त नियामावली २०७५ (संशोधनसहित)’ मा भएको व्यवस्थाको पालना गर्न आग्रह गरिएको छ । संस्थाको गोपनीयता, प्रतिष्ठा तथा कार्यसम्पादनमा असर पर्ने खालका सामग्री प्रकाशन वा प्रसारण नगर्न कर्मचारीहरूलाई सचेत गराइएको छ ।
परिपत्रमा संस्थाकाे प्रचलित नियमावलीविपरीत सामाजिक सञ्जालकाे प्रयाेग गरेकाे पाइए सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।
प्राधिकरणले सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमार्फत संस्थाको विश्वसनीयता कायम राख्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो परिपत्र जारी गरिएको जनाएको छ ।