तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहित प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको हो ।
प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खनन कार्य सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ ।
भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनाको उत्खनन तथा कङ्क्रिटिङको काम करिब सम्पन्न भएको छ । मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम अन्तिम चरणमा पुगेको भण्डारीले जानकारी दिए ।
भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक जेनेरेटर, टर्बाइन, सीसीटीभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको छ ।
त्यसैगरी, वातावरणीय बहावका लागि निर्माण गरिने विद्युत्गृह र बाँध सञ्चालन भवनको निर्माण पनि जारी छ । सिभिल संरचना निर्माणसँगै उपकरण जडान र परीक्षणको काम अघि बढाइएको आयोजनाले जनाएको छ ।
प्याकेज–२ अन्तर्गतका संरचना तथा उपकरण निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।