काठमाडौँ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ । कम्पनीले लगानी विस्तारसँगै आफ्नो चुक्ता पुँजी बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले दूधकोशी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको ७० मेगावाट क्षमताको दूधकोशी–२ जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्तावमाथि अध्ययन गरी उक्त आयोजना लगानी तथा प्रतिफलका हिसाबले उपयुक्त देखिएकाले १०० करोड रुपैयाँसम्म अंकित मूल्यमा लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो ।
यसैगरी, कम्पनीले आफ्नो चुक्ता पुँजी २ करोड रुपैयाँ बराबरको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसअनुसार हाल कायम प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको योजना छ ।