काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसम विज्ञान विभागलाई थप प्रविधिमैत्री बनाई ७ दिनसम्मको पूर्वामान क्षमता विस्तार गर्ने बताएका छन् । हाल ३ दिनसम्मको मौसमको पूर्वानुमान गर्ने क्षमता विभागसँग छ ।
मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्री क्षमता विस्तारका लागि मन्त्रालयले सहयोग गर्ने बताए ।
त्यस क्रममा उनले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, ३ दिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए । साथै चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे समेत उनले छलफल गरेका थिए ।
मनसुन सुरु हुने समय नजिकिँदै गएको उल्लेख गर्दै उनले सम्भावित विपत्बा६ हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशन दिए ।
उनले विभागलाई मौसम अध्ययनको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै त्यहाँबाट प्राप्त सूचना र तथ्याङ्क सरकारी निकाय तथा अन्य सेवाप्रदायक संस्थाले प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताए ।
सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक तथा कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी तथा विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली तथा बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराएका थिए ।