काठमाडौँ । बंगलादेश सरकारले आफ्नो हरित ऊर्जा अभियानको हिस्सा स्वरूप सन् २०२८ को अन्त्यसम्ममा थप ८०९.५ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य अघि सारेाको छ । हाल देशको सौर्य ऊर्जा उत्पादन परिमाण १,४५१ मेगावाट रहेको छ, जसले देशको कुल जडित विद्युत् क्षमताको करिब ५.०१ प्रतिशत हिस्सा ओगटेको छ ।
बंगलादेश विद्युत् विकास बोर्ड (बिपिडिबी) का अध्यक्ष इन्जिनियर रेजाउल करिमले नवीकरणीय ऊर्जालाई बढावा दिने, कार्बन उत्सर्जन कम गर्ने र ऊर्जा सुरक्षालाई सुदृढ गर्ने सरकारको एकीकृत योजना सफल पार्न उक्त लक्ष्य अघि सारेको बताए । उनले बिपिडिबीले सन् २०२८ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रसारण प्रणाली (ग्रिड) मा ८०९.५ मेगावाट थप गर्ने लक्ष्य राखेको जानकारी दिए ।
ऊर्जा विश्लेषकहरूले छतमा जडान गरिने सौर्य ऊर्जा र अन्य नवीकरणीय आयोजनाहरूले आयातित इन्धनमा बंगलादेशको निर्भरतालाई उल्लेख्य रूपमा कम गर्न सक्ने बताएका छन् । बिपिडिबीका अधिकारीहरूले ५७२.६ मेगावाट उत्पादन गर्न १३ वटा सौर्य ऊर्जा आयोजनाका लागि टेन्डर आह्वान गरिसकिएको, करिब ५ मेगावाट थप सौर्य रूफटप पावर प्यानलहरू जडान भइसकेको र ती यसै वर्षको सेप्टेम्बरसम्ममा सञ्चालनमा आउने बताएका छन् ।
उनीहरूका अनुसार १,१७४ मेगावाट क्षमताका २६ वटा नवीकरणीय ऊर्जा केन्द्रहरू निर्माणाधीन छन् । ती मध्ये ६ वटा सरकारले र १,०६२ मेगावाट क्षमताका २० वटा निजी क्षेत्रले कार्यान्वयन गरिरहेका छन् । बिपिडिबीको तथ्याङ्क अनुसार मे २०२६ सम्ममा देशमा कुल ग्रिड-जडित विद्युत् उत्पादन क्षमता २८,९१९ मेगावाट छ । यदि उद्योगहरूले आफ्नै प्रयोगका लागि उत्पादन गर्ने क्याप्टिभ पावर र अफ-ग्रिड नवीकरणीय ऊर्जालाई गणना गर्ने हो भने यो परिमाण ३२,३३२ मेगावाट पुग्छ ।
गत शनिबारको वास्तविक उत्पादन १०,७५५ मेगावाट थियो भने अप्रिल २०२४ मा यो परिमाण १६,४७७ मेगावाट थियो । चालु गर्मी याममा विद्युत्को उच्चतम माग करिब १८,००० देखि १८,५०० मेगावाट हुने अनुमान गरिएको छ। बंगलादेशले हाल १,४५०.६७ मेगावाट सौर्य विद्युत उत्पादन गर्दछ, जसमध्ये १,०७३.५ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ र ३७७.१७ मेगावाट अफ-ग्रिड छ । नवीकरणीय स्रोतहरूमध्ये २३० मेगावाट जलविद्युत्, ६२ मेगावाट वायु ऊर्जा, ०.६९ मेगावाट बायोग्यास र ०.४ मेगावाट बायोमासबाट प्राप्त हुने गरेकाे छ ।
दिगो र नवीकरणीय ऊर्जा विकास प्राधिकरण (एसआरइडिए) को अध्ययनले बंगलादेशसँग सौर्य पार्क, रूफटप नेट मिटरिङ र सौर्य गृह प्रणाली (एएचएस) लगायतका स्रोतहरूबाट करिब १७४३.७६ मेगावाट जडित नवीकरणीय क्षमता रहेको देखाउँछ । सरकारी स्वामित्वको रुरल पावर कम्पनी लिमिटेड (आरपिजिसिएल) ले जमलपुरको मदारगञ्जमा १०० मेगावाट क्षमताको सोलार पार्क निर्माण गर्दैछ, जुन डिसेम्बर २०२६ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । निजी क्षेत्र अर्थात् स्वतन्त्र विद्युत उत्पादकहरूले ग्रिडमा १३२ मेगावाट उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
ऊर्जा मन्त्री इकबाल हसन महमुदले मंगलबार जिल्ला अधिकारीहरूको वार्षिक सम्मेलनमा सरकारले आगामी ५ वर्षमा ५,००० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको बताए । यो लक्ष्य प्राप्त गर्ने प्राथमिक कदमको रूपमा आगामी २ महिनाभित्र देशका सबै जिल्ला अधिकारीहरूको कार्यालयमा सौर्य प्यानल जडान गर्न निर्देशन दिइएको उनले बताए ।
प्रमुख ऊर्जा विश्लेषक सफिकुल आलमले लगानीकर्ताहरूको विश्वास पुन: स्थापना गर्न नीतिगत स्थिरता सुनिश्चित गर्न सरकारले एक विस्तृत ऊर्जा गुरुयोजना विकास गर्नुपर्ने सुझाव दिएका छन् । इन्डिपेन्डेन्ट इन्स्टिच्युट फर एनर्जी इकोनोमिक्स एण्ड फाइनान्सियल एनालिसिस (आइइइएफए) मा कार्यरत आलमले विगतको अन्तरिम सरकारमा कुनै पहल नभएका कारण बंगलादेशले हाल नवीकरणीय ऊर्जा विकासमा गतिरोध भोगिरहेको बताए ।
विद्यमान लक्ष्य अनुसार संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य ७ (एसडिजी ७) अनुरूप सन् २०३० सम्ममा २० प्रतिशत र २०४१ सम्ममा ३० प्रतिशत विद्युत् नवीकरणीय स्रोतबाट प्राप्त हुनेछ । कोस्टल लाइभलिहुड एण्ड इन्भायरोन्मेन्टल एक्सन नेटवर्क (क्लिन) का मुख्य कार्यकारी एवं ऊर्जा विज्ञ हसन मेहेदीले सरकारले १.० मेगावाट उत्पादन क्षमताको सौर्य प्यानल जडान गरे २.९४ देखि ३ करोड टाकाको आयात घट्ने बताए । सरकारले जनतालाई घरको छतमा सौर्य ऊर्जा जडान गर्न प्रोत्साहित गर्न सके सरकारी लगानीको आवश्यकता नपर्ने उनकाे भनाइ थियो । मेहेदीले कोइलाबाट चल्ने ऊर्जा प्लान्ट निर्माणका लागि यसअघि करिब १३,००० एकड जमिन अधिग्रहण गरिएको तर हालसम्म प्रयोगमा नआएको भन्दै नयाँ जग्गा प्राप्तिको सट्टा ती जग्गाहरू सौर्य प्लान्ट स्थापना गर्न प्रयोग गर्न सकिने र यसले प्रति युनिट मूल्य २३-२५ प्रतिशतले घटाउने बताए ।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (इरेना) को पछिल्लो प्रतिवेदनले सौर्य ऊर्जा प्रयोग गर्ने विश्वका प्रमुख उत्पादकहरूमा चीन पहिलो (१२,०२,१७८.८ मेगावाट), अमेरिका दोस्रो (२,११,६१०.१ मेगावाट) र भारत तेस्रो (१,३५,५०१.५ मेगावाट) रहेको देखाएको छ । त्यसपछि जर्मनी, जापान, ब्राजिल, स्पेन, इटाली, अष्ट्रेलिया र फ्रान्स रहेका छन् ।
राष्ट्रिय ग्रिड जडानको सन्दर्भमा भियतनामले हाल ८,७०० मेगावाट, फिलिपिन्सले २,६०० मेगावाट, श्रीलंकाले १,००० मेगावाट र पाकिस्तानले ८०० मेगावाट सौर्य ऊर्जा आफ्नो ग्रिडमा उपलब्ध गराउँछन् । श्रीलंकाले सन् २०३० सम्ममा आफ्नो ७० प्रतिशत विद्युत् नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादन गर्ने लक्ष्य राखेको छ ।
दक्षिण एसियामा पाकिस्तान कम्तिमा ३२,००० मेगावाटको हालको जडित सौर्य क्षमताका साथ विश्वको सबैभन्दा छिटो सौर्य ऊर्जा उत्पादन गर्ने मुलुक मध्य एक बनेको छ । उसले सन् २०३० सम्ममा ६० प्रतिशत विद्युत नवीकरणीय स्रोतबाट उत्पादन गर्ने योजना बनाएको छ । बेलायतस्थित द गार्डियनको एक विश्लेषण अनुसार सन् २०२२ मा युक्रेनमा रुसको पूर्णस्तरको आक्रमणले तरल प्राकृतिक ग्यासको मूल्य कीर्तिमानी उचाइमा पुगेपछि पाकिस्तानमा लाखौँ मानिस बिजुलीविहीन भएका थिए तर पछि सौर्य प्यानलको घट्दो लागत र सरकारी प्रोत्साहनले त्यहाँ सौर्य क्रान्ति ल्याएको छ । –एजेन्सीको सहयोगमा