काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायुकुमार श्रेष्ठलाई दिइएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार (वैशाख २२ गते) उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।
वितरण तथा ग्राहक सेवा निर्देशनालयको जिम्मेवारीमा रहेका उनी प्राधिकरणका उपकार्यकारी निर्देशक मध्ये सबैभन्दा वरिष्ठ हुन् । अर्को व्यवस्था वा कार्यकारी निर्देशकको नियुक्ति नहुँदासम्म उनले निमित्तका रूपमा प्राधिकरणलाई नेतृत्व गर्ने छन् । श्रेष्ठले बुधबार नै जिम्मेवारी ग्रहण गरी कार्य प्रारम्भ गरेका छन् ।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ कार्यान्वयनमा ल्याएसँगै वैशाख २१ गते कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वतः पदमुक्त भएका थिए । सरकारले विभिन्न निकायका राजनीतिक नियुक्ति कानुनी रूपमै खारेज गर्न उक्त अध्यादेश ल्याएको हो ।