काठमाडाैँ । तामाकाेसी जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ९९.८ मेगावाट क्षमताको तामाकाेसी पाँचौँ जलविद्युत् आयोजनाले आर्थिक वर्ष २०८२/८३ मा २१.६८ प्रतिशत समग्र भौतिक प्रगति हासिल गरेको छ । वन क्षेत्र प्रयोग तथा सार्वजनिक जग्गा उपभोगको स्वीकृतिमा भएको ढिलाइका कारण करिब ८ महिना काम पूर्ण रूपमा ठप्प भए तापनि स्वीकृति पाएलगत्तै कामले तीव्रता पाएको कम्पनीले वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिवेदन अनुसार वन तथा वातावरण मन्त्रालयबाट २०८२ फागुन १९ गते स्वीकृति प्राप्त भएपछि फागुन २४ देखि निर्माण कार्य पुनः सुरु गरिएको थियो । काम रोकिएका बेला करिब १९ प्रतिशत रहेको भौतिक प्रगति पुनः कार्य प्रारम्भ भएको चार महिनाभित्रै २.६८ प्रतिशतले बढेर २१.६८ प्रतिशत पुगेको छ ।
आयोजनाको निर्माण कार्यलाई मुख्य तीन वटा ठेक्का प्याकेज (लट-१ सिविल तथा हाइड्रोमेकानिकल, लट-२ इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन र लट-३ स्थायी क्याम्प सुविधा) मा विभाजन गरी अघि बढाइएको छ । समीक्षा वर्षमा लट-१ अन्तर्गत सुरुङ तथा भूमिगत संरचनाको खन्ने काम तीव्र रूपमा अघि बढेको छ भने लट-२ को ठेक्का सम्झौता भई निर्माण व्यवसायी परिचालन भइसकेको छ ।
यस्तै लट-३ अन्तर्गत कार्यालय, आवासीय भवन, पर्खाल तथा पहुँच मार्गसहितको स्थायी क्याम्प निर्माण सम्पन्न भएको छ । प्रमुख भौतिक प्रगतिअन्तर्गत हेडपोन्ड (११,९६० घनमिटर), स्पिलवे, मुख्य पहुँच सुरुङ, ट्रान्सफर्मर क्याभर्न, र विद्युत्गृह पहुँच सुरुङको खनाइ सम्पन्न भएको छ । साथै मुख्य सुरुङको ७८४ मिटर (कुल लम्बाइको ९.६७ प्रतिशत) खन्ने काम सकिएको छ भने भूमिगत विद्युत्गृह निर्माणका लागि खनाइ कार्य ६४.७१ प्रतिशत पूरा भएको छ ।
अनुमानित निर्माण लागत कुल २१.९५ अर्ब रुपैयाँ रहेको यस आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) को वित्तीय ढाँचा कायम गरिएको छ । आयोजनामा नेपाल विद्युत प्राधिकरण, तामाकाेसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय सम्झौताअनुसार लगानी भइरहेको छ ।
आव २०८२/८३ सम्म आयोजनाको कुल वित्तीय प्रगति २५.९० प्रतिशत पुगेको छ, जसमध्ये समीक्षा वर्षमा मात्रै २.९९ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनाको हालसम्मको कुल खर्च ५.६९ अर्ब रुपैयाँ पुगेको छ । समीक्षा वर्षमा कर्मचारी सञ्चय कोषले १.२० अर्ब रुपैयाँ ऋण प्रवाह गरेसँगै कोषबाट प्राप्त कुल ऋण रकम १.५५ अर्ब रुपैयाँ पुगेको छ, जसले आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन सहज वित्तीय आधार खडा गरेको कम्पनीले जनाएकाे छ ।