काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि उननी प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका थिए । सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार गत वैशाख २१ गते अघिल्ला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वत: पदमुक्त भएका थिए । त्यसपछि वैशाख २२ गते श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी दिइएको थियो ।
निमित्त कार्यकारी निर्देशक बनाइनुअघि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको निम्मेवारीमा रहेका श्रेष्ठ उपकार्यकारी निर्देशक मध्ये सबैभन्दा वरिष्ठ रहेका थिए ।
को हुन् श्रेष्ठ ?
दीर्घायुकुमार श्रेष्ठ प्राधिकरणका कार्यकारी व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका विद्युत् इन्जिनियर हुन् । २०५४ सालमा प्राधिकरणको सेवामा प्रवेश गरेका उनीसँग विद्युत् क्षेत्रमा २८ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ ।
उनले भारतको अलीगढ मुस्लिम विश्वविद्यालयबाट सन् १९९६ मा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका हुन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक क्याम्पसबाट सन् २००५ मा सूचना तथा सञ्चार इन्जिनियरिङमा मास्टर अफ इन्जिनियरिङ गरेका छन् ।
भार प्रेषण केन्द्रको सिस्टम अपरेटर इन्जिनियरका रूपमा प्राधिकरणमा उनले सेवा यात्रा सुरु गरेका थिए । सन् २००५ देखि २००७ सम्म काठमाडौँ पूर्व वितरण केन्द्रमा सहायक प्रबन्धकका रूपमा काम गरेका उनले २००७ देखि २००९ सम्म विभिन्न वितरण केन्द्रमा सहायक प्रबन्धकको जिम्मेवारी सम्हाले । त्यसपछि हेटौँडा ग्रिड डिभिजनको प्रमुखका रूपमा सन् २०११ देखि २०१३ सम्म तथा कालीगण्डकी जलविद्युत् केन्द्रको प्रमुखका रूपमा २०१३ देखि २०१४ सम्म काम गरे ।
श्रेष्ठले प्राधिकरणका विभिन्न क्षेत्रीय कार्यालयको नेतृत्वसमेत गरेका छन् । उनले अत्तरिया क्षेत्रीय कार्यालयमा डिसेम्बर २०१४ देखि अप्रिल २०१५, हेटौँडा क्षेत्रीय कार्यालयमा अप्रिल २०१५ देखि जनवरी २०१६ र काठमाडौँ क्षेत्रीय कार्यालयमा जनवरी २०१६ देखि फेब्रुअरी २०१८ सम्म प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि फेब्रुअरी २०१८ देखि डिसेम्बर २०२० सम्म ग्रिड सञ्चालन विभागको प्रमुखका रूपमा काम गरे ।
डिसेम्बर २०२० देखि अप्रिल २०२६ सम्म श्रेष्ठले प्राधिकरणको प्रसारण निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी, अप्रिल २०२५ देखि मे २०२६ सम्म वितरण तथा ग्राहक सेवा निर्देशनालयको उपकार्यकारी निर्देशकको जिम्मेवारीमा समेत रहे ।
यी विविध पदीय जिम्मेवारी तथा भूमिकामार्फत उनले विद्युत् प्रसारण, वितरण, प्रणाली सञ्चालन तथा उपभोक्ता सेवासँग सम्बन्धित प्राधिकरणका महत्त्वपूर्ण कार्यक्षेत्रमा नेतृत्वदायी अनुभव हासिल गरेका छन् ।
श्रेष्ठको पेशागत दक्षताको मुख्य क्षेत्र विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीको व्यवस्थापन र नेतृत्व हो । ऊर्जा नीति निर्माण तथा कार्यान्वयन, राष्ट्रिय ऊर्जा पूर्वाधारको रणनीतिक योजना, ठूला ऊर्जा पूर्वाधार आयोजनाको विकास तथा कार्यान्वयन, प्रसारण प्रणाली सञ्चालन, ग्रिडको विश्वसनीयता र कार्यसम्पादन सुधारमा उनको विशेष अनुभव रहेको छ । साथै, अन्तरदेशीय विद्युत् व्यापार तथा क्षेत्रीय ऊर्जा सहकार्य, सरकारी तथा नियामक निकायसँग समन्वय र उच्चस्तरीय वार्ता, ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन, बजेट तथा लगानी योजना र संस्थागत सुदृढीकरणमा समेत उनको दक्षता रहेको छ ।
रणनीतिक नेतृत्व, नीति निर्माण, संस्थागत सुशासन, नियामकीय निगरानी, आयोजना व्यवस्थापन र संगठनात्मक रूपान्तरण उनकाका प्रमुख व्यावसायिक क्षमताका रूपमा प्रस्तुत भएका छन् । परियोजनाको योजना निर्माणदेखि कार्यान्वयन, अनुगमन र सम्पन्नतासम्म नेतृत्व गर्ने क्षमता तथा सरकार, नियामक निकाय र अन्तर्राष्ट्रिय साझेदारसँग प्रभावकारी समन्वयको अनुभवसमेत उनीसँग छ ।
विद्युत् प्रणाली सञ्चालनदेखि उत्पादन, प्रसारण र वितरण क्षेत्रको व्यवस्थापन हुँदै प्राधिकरणको उच्च व्यवस्थापन तहसम्म पुगेका श्रेष्ठको व्यावसायिक अनुभव विद्युत् क्षेत्रका विभिन्न आयाममा फैलिएको देखिन्छ । भन्डै ३ दशक प्राधिकरणमार्फत विद्युत् सेवामा रहँदा उनले प्राविधिक, व्यवस्थापकीय तथा रणनीतिक तहका विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् ।