विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज १९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न सक्छन् । कोही कसैले त उनलाई मोडल वा फिल्म वा रङ्गमञ्चको कलाकार पनि भन्लान् तर सुसनमा यी सबै क्षमता पक्कै छ तर आज उनको पहिलो पहिचान एक जुझारु महिला ऊर्जा उद्यमीको छ ।

व्यवसायका अनेक आयम हुँदै ऊर्जा अर्थात् जलविद्युत विकासमा होमिएकी सुसन जलविद्युत प्रवर्द्धकमात्रै होइनन्, हक्की स्वभावकी कुशल व्यवस्थापक पनि हुन् । पछिल्लो समय उनको यही नेतृत्वदायी क्षमताले जलविद्युत क्षेत्रमा महिलाको उपस्थितिलाई थप लोभलाग्दो बनाएको छ । जलविद्युत क्षेत्रमा कार्यरत तथा नेतृत्वकर्ता अन्य नारी अनुहार नभएका होइनन् तर उनको निडर र कुशल व्यवस्थापकीय क्षमताले जोसुकैलाई लोभ्याउने गरेको छ ।

ललितपुर पाटनमा जन्मेकी सुसनले सन् १९९६ मा नेपाल कमर्स क्याम्पस, बानेश्वरबाट व्यवस्थापनमा स्नातक गरिन् । यसैगरी, सन् २००० मा जनप्रशासन क्याम्पसबाट सहरी तथा ग्रामीण विकासमा स्नातकोेत्तरको अध्ययन पूरा गरेकी थिइन् । स्नातकोत्तरपछि प्राविधिक शिक्षा आर्जनका लागि जापान उडेकी उनले फर्केर ‘डिजिटल सिस्टम’ नामको कम्पनी सञ्चालनमा ल्याइन् । उनी सम्झिन्छिन्, ‘मैले व्यवसाय सुरु गरेको त्यो पहिलो कम्पनीले कम्प्युटर मर्मत–संभारको काम गर्थ्याे ।’

२० वर्षको कलिलो उमेरमै व्यवसाय सुरु गरेकी सुसन कम्प्युटर मर्मतको काममा पनि आफैं खटिन्थिन् । जब यो क्षेत्रमा मारवाडी समूहको वर्चस्व बढ्दै गयो, तब उनलाई काम गर्न असहज बन्दै गयो र उनले यो व्यवसायलाई चटक्कै छोडिदिइन् । नेपालमा कम्प्युटर मर्मतमा व्यवसाय सुरु गरेकी उनी एका–एक युरोपतिर उडिन् । जर्मनी पुगेर सन् २००३ देखि बजार व्यवस्थापनमा ३ वर्ष काम गरिन् । त्यतिबेला, उनी ३–३ महिनामा नेपाल आउनेजाने पनि गरिरहन्थिन् ।

उच्च शिक्षा हासिल गरेको भएरै होला, परिवारले उनलाई नेपाल फर्केर केही गर्न निरन्तर घच्घच्याइरहेको थियो । परिवारको सल्लाह र आफूभित्र ‘केही गर्नुपर्छ’ भन्ने अठोट लिएर उनी नेपाल फर्किन् र व्यवसायमा हात हालिन् । उनले व्यवसायसँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सहभागी हुँदै अनुभवलाई अझ परिपक्व बनाउँदै आइन् ।

सुसन व्यावसायिक क्षेत्रमा मात्र होइन्, राजनीतिक वृतमा समेत उतिकै सक्रियरूपमा लागेकी छन् । यस मानेमा भन्न सकिन्छ, उनले व्यवसाय र राजनीतिप्रतिको रुझानलाई सँगसँगै लिएर हिँडेकी छन् । यसै क्रममा उनले गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री रहँदा करिब डेढ वर्ष र विश्वनाथ शाह शान्ति तथा पुननिर्माण मन्त्री रहँदा पनि एक वर्ष स्वकीय सचिवको जिम्मेवारीमा रहिन् ।

पछि, नारायणकाजी श्रेष्ठले परराष्ट्र र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा समेत करिब डेढ वर्ष स्वकीय सचिवको रूपमा काम गरिन् । त्यही समयमा उनले लाइबेरियामा आयोजित ‘इन्टरनेश्नल डाइलग अन पिस विल्डिङ एण्ड स्टेड विल्डिङ’देखि संयुक्त राष्ट्र संघको महासभा अमेरिकासम्म पुगेर आफ्नो क्षमता प्रदर्शन गरेकी थिइन् ।

व्यवसायका अनेक आयाम

सुसन मनी प्लान्ट इन्भेष्मेन्ट प्रालि, पौरखी समुदायिक कृषि सहकारी लिमिटेड, पौरखी एग्रिकल्चर रिसर्च सेन्टर, जे एण्ड एन हाउजिङ एण्ड ल्यान्ड डेभलपमेन्ट प्रालि, ओजस्वी युपिभिसी प्रालि, स्काइ ब्लु लाइटिङ टेक्नोलोजी लगायत संस्थाकी अध्यक्ष हुन् । यसैगरी, मनी प्लान्ट नमुना वस्तीकी प्रमुख कार्यकारी अधिकृत, लालीगुराँस बाटिका स्कुलकी सञ्चालक समेत रहेकी छन् ।

उनले हाउजिङ व्यवसायमा संलग्न रहेर अहिलेसम्म करिब १०० वटा घर तथा अपार्टमेन्ट बनाएर सञ्चालनमा ल्याइसकेकी छन् । पछिल्लो ३–४ वर्षदेखि उनले झ्याल ढोका निर्माण गर्ने युपिभिसीको फ्याक्ट्री सञ्चालन गरिरहेकी छन् । उता, ठैबमा चिनियाँ कम्पनीसँगको साझेदारीमा एलइडी लाइटको फ्याक्ट्री पनि सञ्चालनमा छ ।

ऊर्जा विकासतिर

जापानबाट सिस्टम इन्जिनियरिङ र नेपालमा जन–प्रशासन अध्ययन गरे पनि सुसनमा ऊर्जा क्षेत्रमा काम गरेको अनुभव थिएन । जानेकै व्यवसायमा रमाइरहेकी उनले यसतर्फ काम गर्नुपर्छ भनेर खासै सोचेकी थिइनन् । हाउजिङ व्यवसायमा क्रियाशील रहेकै समयमा एका–एक उनलाई जलविद्युतमा काम गर्ने प्रस्ताव आयो । भोजपुरमा अलपत्र अवस्थामा रहेको पिखुवा खोला निर्माणमा जान उनलाई धेरैले प्रेरित गरे । तर, यो आयोजनाको विद्युत उत्पादन गर्न तोकिएको समयावधि सकिसकेको रहेछ ।

यसर्थ, पिखुवा खोलाले नै उनलाई यस व्यवसायमा तानेको भन्न सकिन्छ । भोजपुरमा राई समुदायको संगठन छ । संगठनका सह–संस्थापकसँग परिचयात्मक सम्बन्ध राम्रो रहेको हुँदा उनमा ‘यो आयोजना बनाउन सकिन्छ’ भन्ने आँट आयो । उनी पहिलादेखि नै निर्माण व्यवसायमा आवद्ध रहेको र जलविद्युत पनि निर्माण क्षेत्र नै परेकोले ‘काम गर्न सकिन्छ’ भन्ने थप हिम्मत बढेर आयो । त्यस आयोजनाका प्रवर्द्धकहरूसँग परामर्श गरी उनी आफैं आयोजनास्थल पुगिन् । सबै पक्षको अध्ययन गरेर आफैँले नेतृत्व लिई काम अघि बढाइन् ।

‘जलविद्युत विकास निकै चुनौतीपूर्ण हो’ भन्ने सुन्दै आएकी सुसनले हिम्मतका साथ आयोजना निर्माणमा खटिइन् । निर्माणका क्रममा अनेक ठाउँमा भौतारिनु पर्ने, विद्युत खरिद सम्झौता (पिपिए), वन तथा वातावरण, ग्रिड कनेक्सन, प्रसारण लाइन, मुआब्जा लगायत अनेकौं समस्या पार गरेर पिखुवाको काम सम्पन्न भयो । अझ, अलपत्र अवस्थामा अरूले काम गर्न नसकेको आयोजना उनले सफल गराएरै छोडिन् । यसबाट पनि प्रस्ट हुन्छ, उनी यस क्षेत्रमा उदाएकी एउटी हिम्मतिली महिला हुन् । उनको बुझाइ छ, ‘जलविद्युत आयोजना निर्माण अन्य पूर्वाधारको तुलनामा १२५ गुण बढी चुनौतीपूर्ण छ ।’

पिखुवा खोला

प्रवर्द्धक इस्टर्न हाइड्रो पावर लिमिटेड रहेको २.५ मेगावाटको पिखुवा खोलाको क्षमता विस्तार गरी ५ मेगावाट पुर्याइयो । उनले काम सुरु गर्दा आयोजनाका महत्वपूर्ण उपकरणहरू भन्सारमै अड्किएका थिए । भन्सारमा अड्केका समानहरू सबै खिया लागेको, लेउ लागेको अवस्थामा थिए । सुसनले यी तमाम समस्याको निकास खोज्दै थप उपकरणहरू आयातको प्रक्रिया अगाडि बढाइन् र १८ महिनामा निर्माण पूरा गरी विद्युत उत्पादन गरेर देखाइन् ।

साँच्चै, यो उनको गौरवपूर्ण काम थियो । आयोजनामा लगानी जुटाउन उनी आवद्ध सहकारीले लगानी गर्ने निर्णय भएको थियो । तर, सहकारीले जलविद्युतमा लगानी गर्न नमिल्ने प्रावधानका कारण समस्या थपियो । पछि, एनएमबी बैंक लगानी गर्न तयार भयो । संस्थामा करिब एक हजार सदस्य थिए । उनीहरूलाई जम्मा पारेर आयोजनाको विस्तृत जानकारी दिएपछि सबैले ५ लाख, १० लाख रुपैयाँ लगानी गर्न सहमत भए । यसरी स्वपुँजी जुटाएरै भए पनि निर्माण पूरा गरिन् ।

लगानी व्यवस्थापनको टुंगो लागेपछि व्यवस्थापनको जिम्मेवारी सुसन आफैंले लिएकी थिइन् । उनको पहल र अहोरात्र खटाइका कारण यो आयोजनाबाट २ वर्षमै विद्युत उत्पादन भएको थियो । नयाँ बनाउनुभन्दा बिग्रेको आयोजनामा हात हाल्दा ‘धेरै कुरा सिक्ने मौका पाइएको’ उनको अनुभव छ ।

यही आयोजनाले नै उनलाई जलविद्युतमा आउने अनेक चुनौतीहरू चिनायो । ऊर्जा क्षेत्रको बजार बुझ्ने मौका दियो । उनी भन्छिन्, ‘त्यो बेला ५ मेगावाटको आयोजना बनाउने मान्छेलाई कसैले चिन्थेनन् तर बिग्रेको, अलपत्र आयोजना सफलतापूर्वक सम्पन्न भएपछि म यसैबाट ऊर्जा क्षेत्रमा परिचित भएँ ।’ सुसनको काम प्राधिकरणले मात्र होइन, विद्युत विकास विभाग र बैंकहरू सबैले थाहा पाएका थिए ।

पिखुलाले उत्पादन सुरु गरे लगतै फेरि अर्को अलपत्र अवस्थामा रहेको सिन्धुपाल्चोकको ७.२८ मेगावाटको याम्बालिङ खोलाको उद्दार गर्ने प्रस्ताव आयो । जस्तो भए पनि उनले यो आयोजनामा पनि आफू हाम फाल्ने निर्णय गरिन् । उनकै नेतृत्वका कारण अहिले यो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

मादमे खोला

याम्बालिङमा काम सुचारु भइरहँदा सुसन र उनको समूहले २४ मेगावाटको मादेमा खोला अगाडि बढाइरहेको छ । निर्माण सुरु भएको करिब १ वर्षमै यसको ५४ प्रतिशतभन्दा बढी काम सकिइसकेको छ । आगामी एक वर्षभित्र विद्युत उत्पादन गर्ने अठोटका साथ उनले कार्यतालिका कार्यान्वयनलाई चुस्तता दिएकी छन् ।

कास्कीको मादी गाउँपालिका निर्माणाधीन आयोजनाको काम २०८१ साल भदौभित्र पूरा गर्ने लक्ष्य रहेको छ । ४ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष, एनआइसी एसिया र प्रभु बैंकले ७५ प्रतिशत लगानी गरेका छन् ।

अनेक चुनौतीहरू

सुसन ऊर्जा क्षेत्रमा सोचे भन्दा धेरै नै चुनौतीहरू रहेको बताउँछिन् । प्रकृतिको काम गरेपछि प्राकृतिक चुनौती स्वीकार्नै पर्ने उनको तर्कपूर्ण विश्लेषण छ । उनको विश्लेषण छ, ‘खोलामा बाढी आउँछ, काम गर्न गाह्रो हुन्छ, यो प्राकृतिक पक्ष हो तर पूर्व तयारी गरेर अगाडि बढ्दा चुनौतीसँग सामना गर्न सजिलो हुन्छ ।’

सुसनको अनुभवले भन्छ– जलविद्युत विकासका क्रममा सबैभन्दा बढी समस्या सामाजिक क्षेत्रमै छ । सिन्धुपाल्चोकमा काम गर्दा उनले यस्ता असाध्यै धेरै समस्यासँग जुध्नुपर्यो । त्यो ठाउँमा एक दिन काम गर्यो, अर्को ४ दिन रोकिने अवस्था थियो । काम गर्न नदिने, इन्जिनियरलाई कुट्ने जस्ता समस्या भइरहन्थे । यद्यपि, उनले यी समस्याहरूलाई परास्त गर्दै, चुनौती आँकेर नेतृत्व सम्हाल्दै आएकी छन् ।

सामाजिक समस्यापछि अर्को ठूलो अवरोध सरकारी निकायहरूमा छ । एउटा डेस्कबाट अर्को, अर्कोबाट अर्कोमा फाइल सर्दै काम टुंगिन वर्षौं लाग्ने गर्छ । अझ, धेरै समय त वन तथा वातावरण मन्त्रालयसँग जुध्नमै जाने गर्छ । यावत समस्या छिचोलेर आयोजना पूरा हुनु भनेको ठूलो विजय जित्नु जस्तै लाग्छ, उनलाई ।

‘निजी क्षेत्रले मिलेरै यो जटिलता चिर्नुपर्छ’ भन्छिन्, उनी । जलविद्युतमा एकद्वार प्रणाली लागू गर्ने कुरा २०३२ सालदेखि सुनेको सुन्यै छ । तर, काम नहुने परिपाटीले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको सुसनको ठम्याई छ ।

नारी सहभागिता

भोजपुरमा २ वर्ष लगाएर आयोजना बनाउँदासम्म यो क्षेत्रमा महिला वा पुरुषको संख्या के कति छ, उनलाई थाहा थिएन । बिग्रको, फालेको आयोजना पूरा गरेपछि अन्य प्रवर्द्धकहरू, सरकारी निकायका उच्च ओहोदाका व्यक्तिहरूले चिन्न थाले । चिनचान बढ्दै गयो, ऊर्जा विकासको बजार, आयोजना निर्माणको चरणहरू, सरकारी निकायमा हुने समस्याहरूलाई थप बुझ्दै गइन । जसले गर्दा उनलाई केही सहज भयो ।

अहिलेसम्म पनि ऊर्जा विकासमा हिम्मतिली महिलाको उदय नभएको उनको निष्कर्ष छ । उनलाई लाग्छ, यो क्षेत्रमा चुनौती, समस्याहरू धेरै भएकाले पनि महिलाहरूको सहभागिता कम भएको हो कि ! आयोजना स्थलमा काम गर्न, त्यहाँ जान धेरै अप्ठ्याहरू छन्, जसले महिलाहरूलाई निरुत्साहित गरेको हो कि भन्ने लाग्छ । सरकारी निकायमा जाँदा पनि उनीहरूलाई पत्याइहाल्ने परिपाटी छैन । उनले बुझेकी छन्– जबसम्म मान्छेको पृष्ठभूमि थाहा हुँदैन, त्यहाँ केही कुराको पनि डिल हुँदैन ।’

जलविद्युतमा मात्र होइन, अन्य क्षेत्रमा पनि महिलाको सहभागिता न्यून छ । सुसन भन्छिन्, ‘बैंकर र क्यासियर भएर काम गर्नु छुट्टै कुरा हो । उच्च तहमा महिलालाई काम गर्न सजिलो हुँदैन । उनीहरूको आफ्नै चुनौती हुन्छ ।

‘जलविद्युतमा ९ देखि ५ बजेसम्म काम गरेर हुँदैन । कुनै बेला राति ९ बजे पनि साइट जानुपर्ने हुन्छ । यस्तो खालको वातावरण घरमा छैन भने महिलाहरू अगाडि बढ्नै सक्दैनन्, सुसनको अनुभवले यही भन्छ । घरायसी र पारिवारिक कारणले पनि महिलाहरू अघि आउन नसकेका हुन् भन्नेमा उनलाई पूरा विश्वास छ । यद्यपि, यो पुरुषको हकमा समेत उतिकै चुनौतीपूर्ण काम रहेको उनको बुझाइ छ ।

यी अवस्थाको सुक्ष्म मनन् गरेर उनले आफ्नो केन्द्रीय कार्यालयमा महिलालाई पहिलो प्राथमिकता दिएकी छिन । ‘तैपनि, कर्मचारी राख्ने बेला पनि पुरुषलाई राख्नुपर्ने बाध्यता आइसक्यो । किनकि, एक्कासी साइटमा जानुपर्यो भने महिला गइहाल्ने अवस्था हुँदैन,’ यो उनको कार्यालयको पनि वास्तविकता हो ।

उनको केन्द्रीय कार्यालयमा ५–६ जना महिला कर्मचारी छन्, आयोजनास्थलमा महिला राख्न खोज्दा परिवारसहित नै राख्नुपर्ने हुन्छ । यस्तो समस्याले पनि महिलालाई काम गर्न चुनौती थपिँदै गएको छ । ‘पुरुषले मात्रै महिलालाई बिगारेको र उसको वर्चस्व कायम भएको भन्न मिल्दैन,’ सुसन समाजका दुवै पक्षलाई विश्लेषण गर्छिन्, ‘महिलामा भएको हिनताबोधको भावनाले पनि चुनौतीहरू सिर्जित छन् ।’

उनी यो क्षेत्रमा आउने महिलाहरूलाई भनिरहन्छिन्, ‘पहिलो प्राथामिकता शिक्षा हो । आत्मविश्वासका साथ काम गरे, आत्मनिर्भर र पृष्ठभूमि बलियो भए अघि बढ्न कसैले छेक्दैन, रोक्दैन ।’ जलविद्युतमा उनको ६ वर्षको अनुभवले पनि धेरै कुरा सिकाएको छ । काम गर्दै सिक्दै जाने हुँदा हिम्मतका साथ तन्नेरी महिलाहरूलाई यो क्षेत्रमा लाग्न उनले निरन्तर प्रेरित गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३