काठमाडौँ । भोटेकोशी नदी भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र कुल १२१ जना फसेको देखिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाली सेनाका ब्रिगेडियर जनरल सुभाषजंग थापाले यस्ताे बताएका हुन् ।
उनका अनुसार जलविद्युत् तथा सौर्य ऊर्जासहित १२ वटा विभिन्न आयोजनाबाट कुल ९१९ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । तीमध्ये १२१ जना आयोजनाका सुरुङभित्र फसेकाे देखिएको छ । सुरुङभित्र फसेकामध्ये हालसम्म ३ जनाको मात्रै सकुशल उद्धार गरिएको छ भने ४ जनाको शव फेला परेको छ ।
उनका अनुसार विवरणअनुसार माथिल्लाे त्रिशूली–१ मा ५० जना, माथिल्लाे त्रिशूली–३ ‘ए’ मा ४० जना, लाङटाङ खोला जलविद्युत् आयोजनामा ७ जना र चिलिमे जलविद्युत् आयोजनामा ७ जना सुरुङभित्र फसेका थिए ।
त्यस्तै, रसुवागढी आयोजनाको सुरुङमा ५ जना फसेका थिए भने बाँकी व्यक्ति त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङभित्र रहेको नेपाली सेनाले जनाएको छ ।