विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज ३०, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

समय आजजस्तो थिएन । काठमाडौँ उपत्यकाभित्र हरेक बस्तीका चिम्नीबाट धुवाँ उडेको प्रस्ट देखिन्थ्यो । घरहरू औँलामै गन्न सकिन्थे । आपसी भाइचारा थियो । साह्रोगाह्रोमा छिमेकीको साथ हुन्थ्यो । टोलटोलमा आत्मीय भाव पाइन्थ्यो । एकर्थमा काठमाडौँको काँठमात्र होइन, मध्यसहर भनिने ठाउँले समेत सुदूर ग्रामीण समाजको हरक दिन्थ्यो । यही परिवेशमा जन्मे-हुर्केर दशैंको स्वाद चाखेका थिए, जलविद्युत् उद्यमी बटु लामिछानेले ।

दशैँ आउनासाथ नयाँ लुगा लाउने, मीठोमसिनो खाने, साथीभाइसँग दिनभरि खेल्ने र टोलमा पिङ हालेर रमाउने ती दिनहरू सम्झिँदा बटुको मन उही काठमाडौँतिर फर्किन्छ । उनी स्मृतिमा पुग्छन्- अब यहाँ ऊ बेलाको दशै-रौनक बाँकी छैन । पर्व उही छ, पात्रो उही छ, मन्दिरमा भीड लाग्छ तर चाडलाई जीवन्त बनाउने आत्मीयता, सादगी जीवनशैली र सामुहिक खुसी हराउँदै छ ।

फर्केर नआउने ती बितेका दिनले जति सम्झ्यो उति भावुक बनाउँछन् ।

जलविद्युत् क्षेत्रमा लामो अनुभव हासिल गरेका उनका लागि दशैँको अर्थ समयसँगै फेरिएको छ । बाल्यकालमा वर्षदिन कुर्दाका खुसी, युवावस्थामा जिम्मेवारी काँधमा आइपरेपछि साँघुरिँदै गएको उत्सवको उमङ्‌ग र व्यवसायमा ठूलो आर्थिक सङ्‌कट बेहोर्नुपर्दा चाड मनाउनै छोड्नु परेको नमीठो अनुभूति छ । तिनै अनुभवले खारिँदै आज अरूको खुसीमा आफ्नो सन्तुष्टि खोज्ने अवस्थामा पुगेका छन् ।

ऊर्जा खबरसँगको दशैँ कुराकानीमा उनले पुरानो काठमाडौँ बेस्सरी सम्झिए । नोस्टाल्जिक बने । केही हर्षित देखिए र खुलेर आफ्नो अनुभव सुनाए । उनको स्मृतिमा दशैँका रमाइला क्षण मात्र छैनन्, असफलताले सिकाएका पाठ र जीवनलाई पुनः उभ्याउने धैर्यका कथा पनि छन् ।

लाजिम्पाटको बाल्यकाल

बटु लामिछाने २०२१ साल कात्तिक २४ गते लाजिम्पाटमा जन्मिए । संयुक्त परिवारमा हुर्किए । उनका बुवा कामको सिलसिलामा घरबाहिर हुन्थे । बाजे–बज्यैको काख प्यारो थियो । परिवारको संरचना र परिवेशले उनलाई दशैँको सामुहिक खुसी प्रदान गर्‍यो । घना बस्ती, सवारीको चाप र आधुनिक सुविधा थिएन । उनले बाल्यकालमा देखेको यो सहर निकै फरक थियो । घरहरू कम थिए, प्रशस्त खुला ठाउँ थिए । खेत, खल्यान फाँट, चौरले उपत्यका सुन्दर देखिन्थ्यो । छरछिमेकी आफ्नै परिवारभन्दा कम थिएनन् ।

त्यतिबेला देशको आर्थिक अवस्था अहिलेको तुलनामा निकै कमजोर थियो । धेरै परिवारका लागि नयाँ लुगा लउनु र मीठोमसिनो खानु सामान्य थिएन । त्यसैले दशैँ बालबालिकाका लागि विशेष प्रतीक्षाको पर्व बन्थ्यो । उनी सम्झिन्छन्- चार-पाँच वर्षको उमेरदेखि नै दशैँको रमाइलो महसुस हुन थालेको थियो ।

त्यतिबेला लामो दशैँबिदा हुन्थ्यो, घटस्थापनादेखि भाइटीकासम्म झन्डै एक महिना । केटाकेटीका पढाइको नियमित तालिका छुट्थ्यो । साथीभाइसँग रमाउने अवसर मिल्थ्यो । वर्षदिनको चाड नयाँ कपडा, मासु र मीठो खानेकुरामा सीमित थिएन; दिनभरि खेल्न पाउनुको स्वाद उनी शब्दमा व्यक्त गर्न नसकिने बताउँछन् ।

'कहिले घटस्थापना आउला र बिदा होला भन्ने प्रतीक्षा हुन्थ्यो,' उनी बाल्यकालीन खुसीमा हराउँछन् ।

नयाँ लुगा सिलाउने माहोल सुरु हुन्थ्यो । घरमा खसी वा बोका काट्ने वा कसको घरमा ठूलो खसी ल्याइयो भन्ने चर्चा हुन्थ्यो । देखावटी खर्चमा होइन, वर्षदिने चाडको खुसीमा सबै रमाउँथे । बिहानको चिसो मौसम, सफा बाटो र झरीपछि खुलेको आकाशले समेत यस पर्वमा उत्साह थपेको हुन्थ्यो ।

बटु त्यो परिवेशमा कविशिरोमणि लेखनाथ पौड्यालको दशैँ कविता स्मरण गर्थे । जसमा सफा एवम् खुला मौसम, हरियाली र रमाइलो वातावरणको बयान गाइएको छ-

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।

घटस्थापनादेखि नै लाजिमपाटका गल्ली र दोबाटोमा चहलपहल देखिन्थ्यो । बालबालिका डन्डीबियो, गुच्चा र 'ह्वाङराङ' खेल्थे । ह्वाङराङमा १०-१२ वटा गुच्चाको जोर-बिजोर मिलाइन्थ्यो । उमेर बढ्दै गएपछि बटु तेलकासा, फुटबल र क्रिकेटतिर पनि आकर्षित भए । दशैँको अर्को आकर्षण थियो लङ्‌गुरबुर्जा- टोलका दोबाटोमा खेल्नेहरू भेला हुन्थे । बालसुलभ उत्साहमा उनी थपिन्थे । घरबाट तरकारी किन्न दिएको पैसा हारेर फर्किँदाको डर, आमाको खप्की र बाल्यदिनको रोमाञ्चकता कसरी मेटिएलान् र ! ती 'फ्ल्यास ब्याक'मा दोहोरिइरहन्छन् ।

त्यो उमेरमा जितहारभन्दा खेलको रमाइलो र साथीभाइसँग बिताएको समय महत्त्वपूर्ण थियो । अहिले बालबालिका टेलिभिजन, कम्प्युटर, मोबाइल र भिडियो गेममा हराउने भए । यिनलाई त्यो दशैँको उमङ्‌ग र उत्साह सुनाए एकादेशको कथा भन्लान् ।

छिमेक र सम्बन्धहरू

बटुको बाल्यकालको अर्को अविस्मरणीय पक्ष छिमेकीसँगको आत्मीय सम्बन्ध हो । लाजिम्पाटमा घरहरूको दूरी भौतिकमात्र होइन, भावनात्मक निकटता थियो । वल्लोपल्लो घरमा आउजाउ सामान्य थियो । सुखदुःखमा जहाँ जे पाक्छ त्यसैले पेट भरिन्थ्यो । उनी सम्झिन्छन्- करिब चार वर्ष हुँदा बजैको निधन भयो । साना केटाकेटीलाई घरमा भात पाकेन । उनले धेरै दिन छिमेकमै खाए, खेले र सुते ।

चाडपर्वका बेला कसैको घरमा दुःख परेमा टोल-छिमेक नै शोकमा हुन्थ्यो । उनी अतितको पर्दा खोल्छन्- यस्तो बेला दशैँ नमीठो शोकधुन बनेर सकिन्थ्यो । आज काठमाडौँमा वल्लोपल्लो घरका मान्छेले एकअर्कालाई कमै चिन्छन् । छिमेकीको महत्त्व नै हराइसक्यो । उनी ठान्छन्- हामी आफैँलाई बिर्सिने निर्झन समाज बनाउँदै छौँ ।

टोलका बालबालिका एउटै विद्यालयमा पढ्थे । फर्किएपछि किताबकापी एकातिर फ्याँकेर खाजा खान नभ्याउँदै खेल्न दौडिन्थे । दशैँमा यही क्रम चल्थ्यो । बिहान खाएर घरबाट निस्किएका उनीहरू झम्के साँझमा फर्किन्थे । रमाइलोमा गृहकार्यको झ्याउलो को सम्झोस् तर कहिलेकाहीँ यसले पेटभरि गाली पनि ख्वाउँथ्यो । जब विद्यालय खुल्न दुई-तीन दिन बाँकी हुन्थ्यो, तब बटुहरू स्कुले झोला खोज्थे । मिल्किएका किताब-कापी टिपेर गृहकार्य गर्ने हतारो हुन्थ्यो । त्यो झल्कोले उनी घरी गम्भीर देखिन्छन्, घरी मुस्कुराउँछन् ।

आँखामा बालुवाटार बसाइको स्केच टाँसिन्छ- त्यहाँ पनि बाक्लो बस्ती थिएन । कसैका घरअघि पर्खाल थिएनन् । पवित्र वर्कशप आसपास एक दुई थिए । टङ्गालदेवी मन्दिरसम्म खुला थियो । त्यो मन्दिर नेवार समुदायको अन्त्येष्टिको थलो मानिन्थ्यो । छिमेकीहरू विभिन्न बाजागाजा सहित शव बोकेर जान्थे र अन्तिम कर्म गर्थे । कहिले घरमा खाना खाइरहँदा समेत त्यस्तो देख्नुपर्थ्यो ।

उता चाबहिल, बौद्ध, कपन र आरुबारी क्षेत्र अनन्त क्षितिज हावामा फैलिएजस्तो देखिन्थ्यो ।

दशैँ झझल्कोसँगै आएका प्रसंगको बटु चर्चा गर्छन्- ४४-४५ सालतिर उनले कपनमा साढे दुई लाख रुपैयाँमा डेढ रोपनी जग्गा किनेँ । हाँडीगाउँको भत्केको पुलनजिक करिब ५० हजार रुपैयाँमा ६ आना जग्गा छिनेको सम्झना ताजै छ । ती ठाउँमा पछि यति बाक्लो बस्ती र सडक विस्तार होला भन्ने कल्पनै थिएन ।

खेल संसार

बटु लामिछानेको बाल्यकालसँग जोडिएको अर्को विशेष स्थान हो- महादेव चौर । अहिलेको नेपाल राष्ट्र बैंकसँग जोडिएको खुला ठाउँ नै महादेव चौर थियो । त्यहाँ पिङ हालिन्थ्यो । बालबालिका भेला भएर पिङ खेल्थे, रमाउँथे र पर्वको उत्सव मनाउँथे । अहिले चौर छैन । एउटा स्कुल थियो । सायद त्यो अद्यापि होला तर अन्य क्षेत्र वडा कार्यालयलगायत संरचनाले पुरियो होला । यकिन छैन, लामो समयदेखि उनले त्यता पाइलो घुमाएका छैनन् । उनलाई लाग्छ- त्यो क्षेत्र खुला राखेर बालबालिकाका लागि खेलमैदान, नागरिकका लागि बस्ने, डुल्ने ठाउँ र हरियाली जोगाउन सकिन्थ्यो । यसो हुन सकेको भए काठमाडौँको दशैँ रौनक मर्थेन कि !

उनलाई लाग्छ, सहर विस्तारित हुनु स्वाभाविक हो तर विकासक्रममा समुदायलाई जोड्ने खुला ठाउँ हराउनु दुःखद । अहिलेका बालबालिका त्यस्ता ठाउँमा खेल्न नजालान् तर चौर, हरियाली र स्वच्छ वातावरणको आफ्नै महत्त्व छ । तिनले इतिहास र मानव सभ्यता जोगाइराख्छन् ।

थातबास बालुवाटार सर्‍यो । उनले पनि बाल्यकालको खुड्किलो चढ्दै गए । खेल्ने संसार फराकिलो भयो । डन्डीबियो र गुच्चा छोडेर रुचि फुटबल र क्रिकेटतिर पुग्यो । हालको रुसी दूतावास भवन पछाडि ठूलो मैदान थियो । बटु एउटा फुटबल क्लबसँग जोडिएर पाँच-सात वर्ष खेले । फुटबल खेल्न बटुहरू दशरथ रंगशाला जान्थे । त्यहाँ अरू पनि खेल हुन्थे । कुस्ती प्रतियोगिता हेर्नु अर्को आकर्षण थियो । त्यतिबेला 'ब्ल्याक प्यान्थर', ‘रेड प्यान्थर' र 'दारा सिंह'जस्ता चर्चित अनुहार कुस्तीबाज थिए । खेलकुद र मनोरञ्जनका ती दृश्य वर्तमान पुस्ताले कहाँ पाउनु ?

उनी भन्छन्- ती दिन जीवनका अनमोल रत्नजस्तै थिए । अर्को अर्थमा सिकाइ, भोगाइ र समाज बुझ्ने नैतिक शिक्षाको पाठशाला । भविष्यको बाटो खन्ने सुरुवात बिन्दु । समय चिप्लिएको पत्तै नहुने । काठमाडौँले चोला फेर्दै गयो । त्यो सम्झनाको आँखीझ्यालमा पुरानो पर्दा बनेर हल्लिइरहन्छ, दन्त्यकथा जस्तै । आजका बालबालिका सुनेर हास्छन्, रमाउँछन् र बिर्सिन्छन् ।

रेडियो नेपाल र बाल कार्यक्रम

बटुको बाल्यकाल विशेष बनाउने पक्ष रेडियो नेपालसँगको सम्बन्ध पनि थियो । उनी कक्षा सातमा पढ्दादेखि नै बासुदेव मुनालले चलाउने बाल कार्यक्रममा सहभागी हुन्थे । त्यस समय रेडियो नेपाल मनोरञ्जन, साहित्य र सिर्जनात्मक अभिव्यक्तिको प्रमुख माध्यम थियो । टेलिभिजन र मोबाइलको पहुँच नभएको समयमा रेडियोमा आफ्नै आवाज सुन्न पाउनु बालबालिकाका लागि अत्यन्त हर्षको क्षण हुन्थ्यो ।

विद्यालयमा शुक्रबारे हाफ छुट्टीपछि उनी रेडियो नेपाल पुग्थे । तीन बजेदेखि तयारी र सहभागिता हुन्थ्यो । साँझ साढे पाँच बजे कार्यक्रम प्रसारण हुन्थ्यो । आफूले के बोलेँ, साथीहरूले कस्तो प्रस्तुति दिए ? आफ्नो आवाज कस्तो सुनियो ? जस्ता जिज्ञासाले रेडियो नजिक पुर्‍याउने उनी बताउँछन् ।

बाल कार्यक्रमले उनलाई सिर्जनातिर पनि आकर्षित गर्‍यो । बालदिवसमा कार्यक्रम तयारी गर्ने र दशैँ बिदामा गीत-कविता लेखिन्थ्यो । वाचन गर्नुअघि शीर्षक भन्नुपर्थ्यो । एक पटक उनको कविता उत्कृष्ट भएको अनुभव पनि छ तर शीर्षक भने सम्झनाबाट मेटिएको उनी सुनाउँछन् । निबन्ध लेखन र नाटकमा अभिनय गर्न सिके । ९ कक्षासम्म कविता, निबन्ध र नाटकयात्रा चलिरह्यो ।

नाटक बटु आफैँले लेखेनन् । दशैँ प्रसङ्‌गमा आधारित एउटा नाटकमा मीरा राणासँग अभिनय गरेको सम्झना छ, जसमा दशैँटीका लगाउनुअघि नुहाउनुपर्ने जस्ता सांस्कृतिक सन्दर्भ थिए । अभिनय गरेकै ६ दशक नाघिसकेको हुँदा कथावस्तु स्मृतिमा पातलो बनिसकेको छ । उनी हिजोका भावना साझा गर्छन्- बाल कार्यक्रममा बासुदेव मुनाल, पाण्डव सुनुवार र मीरा राणा लगायतसँग जोडिने अवसर पाउनु दशैँ चाडजस्तै हुन्थ्यो । उमा गुरुङ र राजु सिलवालसँग गहिरो मित्रता थियो । तिनै मध्येका किरण कारञ्जित अहिले कहाँ छन् ? धेरै भयो भेट छैन ।

गायन क्षेत्रमा समेत उनको रुचि थियो । उमा र राजुले गायनमा सहयोग गरे तर गलामा सुर बस्न सकेन । धेरै अभ्यास गर्दा पनि सम्भव नभएपछि त्यसतर्फ उनले जोड गरेनन् । उनको सिर्जनात्मक यात्रामा बाल कार्यक्रमको विशेष भूमिका रह्यो । व्यवसायमा लागेपछि त्यो अभ्यास छुट्यो । तथापि, त्यो सिर्जनात्मक अभिव्यक्ति र आत्मीयता मस्तिष्कमा अमेट छ । विशेषतः मुनालप्रति उनको गहिरो सम्मान छ ।

बटु स्मरण गर्छन्- वासुदेव मुनालले धेरै प्रतिभालाई सिर्जनाको बाटो देखाए । नयाँ स्रष्टा जन्माउन महत्त्वपूर्ण भूमिका खेले । बाल्यकालमा पाएको त्यो प्रेरणा जीवनको अप्राप्य सम्पत्ति ठानेको छु ।

शक्तिपिठहरूको दर्शन

दशैँमा पशुपतिनाथ दर्शनको विशेष महत्त्व हुन्थ्यो । धार्मिक आस्था र साथीभाइसँगको सामुहिक यात्राको प्रसङ्ग उत्तिकै खास । घटस्थापनादेखि नवमीसम्म बिहानै उठेर पशुपतिनाथ र गुह्येश्वरी दर्शन गर्न जाने चलन थियो । करिब छ-सातदेखि आठ वर्षसम्म लगातार त्यसरी मन्दिर गएको उनलाई सम्झना छ । १०-१५ जनाको समूहमा बिहान दुई बजे नै उठेर नुहाइधुवाइ गरी टर्च बालेर होहल्ला गर्दै हिड्नुमा परमानन्द थियो ।

'मोटरसाइकल वा गाडीको सुविधा थिएन । कसले पहिले पुगेर दर्शन गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । कहिलेकाहीँ सुनसान ठाउँमा स्याल कराउँथ्यो,' बटु विगतका पाना पल्टाउँछन्, 'यसरी शक्तिपिठहरूको दर्शन गर्नु धार्मिक कर्ममा मात्र सीमित थिएन; साथीभाइसँगको सम्बन्ध बलियो बनाउने र पर्वको सामुहिक अनुभव बाँड्ने माध्यम थियो ।'

उनी निरश देखिन्छन्- अब ती चलन सबै हराए । हामीले सामाजिक सद्भावको विशेष अध्याय बिर्सिँदै गयौँ ।

जिम्मेवारीको भारी

१० कक्षासम्म पुग्दा दशैँको अर्थ नयाँ लुगा लाउनु, मासु खानु, साथीभाइ र खेलकुदमा केन्द्रित थियो । त्यसपछि बाटो बदलियो । एसएलसी उत्तीर्ण गरेर उनले वाणिज्य विषय पढे । वाणिज्य बैंकमा जागिर सुरु गरे र तीन-चार वर्ष काम गरे । बैंकमा काम गर्दागर्दै उनले व्यवसाय सुरु गरे ।

जागिरे दिन सम्झिन्छन्- प्रारम्भिक व्यवसायमा नोक्सानी बेहोरेपछि लोकसेवा आयोगको परीक्षा दिएँ । खरिदार, मुखिया र सुब्बाका सबै परीक्षा उत्तीर्ण गरेँ । करिब दुई वर्ष लेखापालमा काम गरेँ । जागिर, व्यवसाय र पारिवारिक जिम्मेवारी बढ्दै जाँदा दशैँको उत्साह घट्न थाल्यो । समय र उमेर मात्र कारण थिएनन्; आर्थिक जिम्मेवारी र व्यवसायको अनिश्चितताले पर्व मनाउने प्राथमिकता बदलिँदै गयो ।

बटुको हकमा व्यवसाय अघि बढाउनु सजिलो थिएन । सुरुमा ऊन प्रशोधनसम्बन्धी व्यवसाय, अर्थात् ऊल कार्डिङ उद्योग सञ्चालनमा संलग्न भए । पछि जलविद्युत् आयोजनाका उपकरण आपूर्ति र विकासमा जोडिँदै गए । यही क्रममा जीवनकै कठिन आर्थिक सङ्‌कट भोग्नुपर्‍यो । वर्ष ५०, ५१ र ५२ त शनि नै बने, व्यावसायिक बाटाका काँडैकाँडा । अवस्था यति बिग्रियो कि धन्नै घरजग्गा लिलामी भएन । पत्रिकामा ३३ पटकसम्म उनको नाम कालोसूचीमा पर्‍यो । यो सङ्‌कट आर्थिक हिसाबकिताबमा मात्र थिएन । समाजमा प्रतिष्ठा गुम्यो । बैंकिङ कारोबारमा संकुचन आयो । मनोवैज्ञानिक दबाबले सार्वजनिक कार्यक्रममा देखिनै मुस्किल परेको तीतो पोख्छन्, उनी ।

कुनै दिनको बैंक कारोबारमा पार्किङमा लुकेर उनले साथीमार्फत काम गराएका छन् । त्यही समयमा उनलाई हौसला दिने केही व्यक्ति भेटिए । लुम्बिनी बैंकसँग सम्बन्धित प्रसङ्गमा नारायणदास मानन्धरले दिएको साथ उनी आजीवन भुल्दैनन् । कसैले कालोसूचीमा परेको व्यक्तिलाई काम दिनुहुन्न भनेर दुत्कार्थे । मानन्धर काम गरेर ऋण तिर्न चाहने व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्थे । उनको आशय हुन्थ्यो- काम नगरी पैसा आउँदैन । काम दिएपछि नै कमाएर ऋण तिर्न सक्छ ।

बटु एकर्थमा मानन्धरलाई व्यावसायिक पाठशालाको गुरु नै मान्छन् ।

समयान्तरमा आर्थिक सङ्‌कटले दशैँ प्रभावित भयो । व्यवसायीको धर्म निर्वाह गर्दै उनको पहिलो प्राथमिकता कर्मचारीको दायित्व पूरा गर्नु हुन्थ्यो । ऋण खोजेरै पनि तलब-सुविधा मिलाउनुपर्थ्यो । यस क्रममा उनले आफ्नो दशैँ त्यहीँ समाहित भएको अनुभूत गरे । केही वर्ष त दशैँ मनाउनै छोडे ।

अनेक हण्डर खाँदै, लड्दै, पुनः उठ्दै उनले २०५४-५५ सालतिर आयात-निर्यात व्यवसाय थाले । सुरुमा उनले एलायन्स पावरद्वारा प्रवर्द्धित चाकु खोलाका लागि उपकरण आपूर्ति गरे । पछि थोप्पल खोला हुँदै अन्य आयोजनासँग जोडिए । यसले जलविद्युत् क्षेत्रको व्यवहारिक अनुभव दिलायो । पछिल्ला वर्षमा काम र प्रतिबद्धताले नै उनले व्यावसायिक क्षेत्रको विश्वास जिते ।

चाकु खोलामा पिजी शेर्पा, कृष्णबहादुर लामा, समन मानन्धर र प्रकाश मानन्धर लगायतको साझेदारी थियो । आज पिजी शेर्पा र प्रकाश मानन्धर भौतिकरूपमा छैनन् । चाकु 'लाफिङ बुद्ध' कम्पनीले सञ्चालन गरिरहेको छ । यहाँ काम गर्दा मिहिनेतबापत ३५ लाख रुपैयाँ बराबरको सेयर प्राप्त गरे । उनी खुसी साट्छन्- यो नै मेरो व्यावसायिक जीवनको बिउँपुँजी बन्यो । बिस्तारै आफैँले जलविद्युत्‌मा लगानी गर्ने क्षमता विकास गरेँ ।

बटुले लगानी गरेको पहिलो आयोजना लमजुङमा निर्मित ५ मेगावाटको सिउरी खोला हो । त्यसमा क्लिन इनर्जी डेभलपमेन्ट बैंक तथा बैंक अफ काठमाडौँ लगायतले लगानी गरेका थिए; जसमा गणेश कार्की, प्रेमकृष्ण महर्जन, शैलेन्द्र गुरागाईं र भोगेन्द्र गुरागाईंको संयुक्त लगानी थियो । सिउरी खोलापछि आफूले लगानी गरेका प्रत्येक आयोजनामा उनले प्रत्यक्ष व्यवस्थापनको जिम्मेवारी सम्हाले । व्यापारबाट आएको नाफा सबै जलविद्युत्‌मै खन्याउँदै आर्थिक आधार बलियो बनाउँदै लगे ।

उनी व्यवहारिक पाटो जोड्छन्- २०६२-६३ सालतिर कालोसूचीमुक्त भएपछि जलविद्युत् कम्पनीमा कार्यकारीकै भूमिकामा रहेर व्यवसाय अघि बढाएँ । आर्थिक सङ्‌कट, सामाजिक अप्ठ्यारो र पुनःस्थापनाको लामो प्रक्रियाले व्यवसायमा पैसा मात्र होइन, विश्वास र जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने पाठ सिकाएको छ ।

‘व्यवसायी ठग होइनन्'

व्यवसायमा घाटा हुँदा ऋण तिर्न नसक्ने अवस्था आउन सक्छ तर सबै ऋणी एकै हुँदैनन् ।

उनको अनुभवले भन्छ- मैले कठिन समयमा सापटी माग्नुपर्ने र भनेकै बेला फिर्ता गर्न नसक्दा धेरैको आलोचना सहेँ । पैसा नतिर्न खोज्ने र नभएर नतिर्ने व्यक्ति फरक हुन्छन् । जानीजानी चेक बाउन्स गराउने वा दायित्वबाट भाग्ने व्यक्तिको व्यवहार गलत हुन सक्छ । व्यवसाय बिग्रिएको व्यक्तिलाई बुझ्दै नबुझी चोर वा ठगको संज्ञा दिनु हुँदैन ।

बटुले कठिन समयका दातालाई बोलाएरै ऋण तिर्दै गए । कसैको पूरै रकम तिरे, कसैको हकमा हिस्साअनुसार मिलान गरे । व्यवसायमा आफूले कहिल्यै गलत बाटो समातेर बेइमानी नगरेको उनको दाबी छ । केही वर्ष व्यावसायिक समाजमा बदनाम हुनुपरे पनि दायित्व पूरा गर्दै गएपछि दृष्टिकोण फेरिएको अनुभव छ । ऋण नतिर्दा नराम्रो ठान्ने र तिरेपछि उही व्यक्ति असल कहिलने सामाजिक चस्मा उनले पटक-पटक लगाएका छन् । यही अनुभवले अरूको आर्थिक कठिनाइ बुझ्न सक्ने बनाएको छ ।

आम-व्यवसायीलाई उनको सुझाव छ- असफल व्यक्तिको अवस्था बुझ्नुपर्छ । सबैलाई एउटै मापदण्डमा राखेर मूल्याङ्‌कन गर्न हुँदैन । यो सिकाइले समेत मानिसको जीवनमा हरेक क्षण दशैँको अनुभूति दिलाउँछ ।

कर्मचारीको खुसी

व्यवसायमा स्थापित हुँदै जाँदा बटुको दशैँप्रतिको दृष्टिकोण बदलिएको छ । व्यक्तिगत खुसीभन्दा आयोजनास्थलमा कार्यरत कर्मचारी र कामदारको अवस्था बढी महत्त्वपूर्ण बनेको छ । जलविद्युत् प्रायः विकट पहाडी क्षेत्रमा बन्छन् । त्यहाँ इन्जिनियर, कर्मचारी तथा कामदार लामो समय घरपरिवारबाट टाढा हुन्छन् । दशैँजस्तो पर्वमा समयमै तलब, भत्ता र आवश्यक सुविधा उपलब्ध गराउनु व्यवसायीको धर्म सम्झिन्छन् उनी ।

अचेल कर्मचारीहरू खुसीले दशैँ मनाउँदा उनी तृप्त हुन्छन् । उनलाई लाग्छ, तमाम कर्मचारीको मिहिनेतको फल नै व्यवसायीको सफलता हो । स्वभावले कडा भए पनि आफ्नै परिवार बराबरका सहकर्मीको आधारभूत सुविधामा कहिल्यै कन्जुस्याइँ नगरेकोमा दृढ देखिन्छन् । उनको भोगाइले भन्छ- हरेक प्रवर्द्धकले सबै कर्मचारीको समस्या समाधान गरेरमात्र उन्नति गर्न सक्छन् । यसो हुन सके मात्र चाडपर्वपछि उनीहरू ताजा मनस्थितिमा काममा फर्किन्छन् । काममा उत्साह बढ्छ र निर्धारित समयमा काम सम्पन्न हुन्छ । यसैले उनीहरूको खुसीमै आफ्नो दायित्व र सफलता लुकेको ठान्छन् ।

व्यवसायीका लागि दशैँमा नयाँ लुगा किन्ने वा महँगो खानपिनको चलनभन्दा आवश्यक किनमेल र कामको जिम्मेवारी पूरा गर्ने महत्त्वपूर्ण हुने उनको अनुभव छ । उनको आफ्नै दशैँ पनि अब त्यही जिम्मेवारीसँग जोडिएको छ । दशैँमा मदिरापान वा जुवातास खेलेर रमाउने उनको बानी छैन । विगतमा परिवारसहित देशबाहिर घुम्न जाने गरेका उनी यस वर्ष नेपालमै बस्ने बताउँछन् ।
बरु आयोजनास्थलमा कार्यरत कर्मचारी र कामदारले दशैँ कसरी मनाउनेछन्, त्यो उनको चासोको विषय छ ।

रहेन त्यो दशैँ

बटु उहिले र अहिलेको काठमाडौँ-दशैँ तुलना गर्छन्- त्यो रौनकता अब कहाँ रह्यो र !

दशैँसँगै भित्रिने अनेक खेल, मन्दिर दर्शन, हर्षोल्लास अब छैन । अहिले पनि मन्दिरमा भीड लाग्छ, मानिसहरू घुम्न जान्छन् । पर्व मनाउँछन् तर यो सामुहिकताबाट चुँडेर एकल दुनियाँमा हराइरहेको चङ्गा जस्तै भएको छ । हिजो दशैँले समाज जोडेको थियो, आज साइबरिय दुनियाँले झटारो हानेर टुक्राटुक्रा पारेको छ । उनी भन्छन्- हामीले बाउबाजेले बोकेर ल्याएको सांस्कृतिक विरासत मास्दै गयौँ ।

आजका बालबालिकाको दशैँ पनि फरक हुँदै गएको उनले देखेका छन् । टेलिभिजन, कम्प्युटर, मोबाइल र डिजिडल खेलमा समय बिताउने । प्रविधिको विकास रोक्न नसकिने भए पनि त्यसले भाइचाराको सम्बन्धमा डढेलो लगाएको उनको दुखेसो छ । उनी अझै देखिरहेका छन्, महादेव चौर, लिङ्‌गे पिङको रमाइलो, लाजिम्पाटका गल्ली, पशुपतियात्रा र रेडियो नेपालसम्मको फराकिलो दुनियाँ ।

उतिबेला आर्थिक अभाव थियो तर मीठो आत्मीय सुगन्ध फैलिएको हुन्थ्यो । आज सुविधा बढे, अग्ला-अग्ला पर्खाल र तारजालीले सम्बन्ध जेलखानामा कैद छ । दशैँको मर्म नै आपसी सम्बन्ध, सद्भाव भाइचारा र सामुहिक खुसी हो तर अब बाजेका पालाको कथा भइसक्यो ।

बटु आफू पनि यो परिवेशमा निस्सासिएको पाउँछन् । त्यसैले बालुवाटार मध्यसहरको घरबास सारेर शिवपुरीको धुरी मुन्तिर अर्थात् नारनथान (पासिकोट) पुर्‍याएका छन् । लाग्छ- उनी गाउँ खोज्दै घना सहरबाट बसाइँ सरिरहेका छन् । त्यो दशैँ फर्केर त आउँदैन तर सांस्कृतिक जीवन जोगाउनु अबको दायित्व सम्झिन्छन्, उनी ।

टीका र जमरा लगाउनु मात्र हर्ष होइन, जिम्मेवारी र तल्लो तहका मानिसहरूको जीवनमा खुसी र उज्यालो थप्न सक्नुपर्छ । अब उनका लागि भुइँवर्गको खुसी, स्वच्छ सहर निर्माण, गाउँ-सहरबीचको भाइचारा र राज्यप्रतिको दायित्व नै बदलिएको दशैँ परिभाषा बनेको छ ।

प्रतिक्रिया दिनुहोस

लक्ष्मण वियोगी

जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३