काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली ३बी–रातामाटे २२० केभी विद्युत् प्रसारण लाइन निर्माणको अघि बढाउने भएको छ । प्राधिकरणले नुवाकोटको किस्पाङ गाउँपालिकाका हुँदै बेलकोटगढी नगरपालिका–७ मा प्रस्तावित रातमाटे सबस्टेशनसम्म जम्मा २४.३ किमी प्रसारण लाइन र्मिाण गर्न प्रस्ताव गरेको हो । यसका लागि अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभाग समक्ष आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।
आयोजनाको नुवाकोटको किस्पाङ–५ मा रहेको २२०/१३२ केभी त्रिशूली सबस्टेसनदेखि विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका हुँदै बेलकोटगढी नगरपालिका–७ मा प्रस्तावित ४००/२२० केभी रातमाटे सबस्टेसनसम्मको डबल सर्किट रहने छ ।
प्रसारण लाइनअन्तर्गत अधिकतम ३८ मिटर उचाइका ४९ वटा एङ्गल टावर निर्माण गरिनेछन् । आयोजना निर्माणका लागि ७२.९३ हेक्टर जमिनि आवश्यक पर्ने छ । यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र (राइट अफ वे) अन्तर्गत ६७.०८ हेक्टर आवश्यक पर्ने छ ।
आयोजनाको निर्माण ३० महिना अर्थात् साढे २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । उक्त आयोजना निर्माण गर्दा कुनै उल्लेखनीय वातावरणीय प्रतिकुल असर पर्ने देखिए प्राधिकरणमा ३५ दिनभित्र लिखित सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विद्युत् विकास विभागले आइतबार सूचना जारी गरेको छ ।