काठमाडौँ । दोलखामा निर्माणाधीन तामाकोसी पाँचौँ जलविद्युत् आयोजना (९९.८ मेगावाट) को निर्माण कार्य ८ महिनापछि पुनः सुचारु भएको छ । सार्वजनिक तथा संरक्षित क्षेत्रको जग्गा भोगाधिकार प्राप्ति तथा स्वीकृतिसम्बन्धी प्रक्रियागत अवरोधका कारण २०८२ असार २३ गतेदेखि आयोजनाको निर्माण कार्य रोकिएको थियो ।
जटिलता फुकेका कारण अब तीव्र गतिमा निर्माण कार्य अघि बढ्ने प्रवर्द्धक तामाकोसी जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक रामकुमार यादवले ऊर्जा खबरसँग बताए । उत्तरगंगा जलविद्युत् कम्पनीबाट सरुवा भई गत फागुन ८ गते मात्र उनी तामाकोसीको जिम्मेवारीमा आएका थिए ।
जिम्मेवारी सम्हालेसँगै आफू आयोजनामा देखिएका मुख्य प्रशासनिक तथा संरचनागत समस्या समाधानमा सक्रिय भएको उनले जानकारी दिए । ‘विशेष गरी वन क्षेत्रसँग सम्बन्धित अवरोध हटाउने कार्यलाई मैले प्राथमिकताका साथ अघि बढाएँ,’ उनले भने, ‘हाल सार्वजनिक जग्गाको भोगाधिकार सम्झौता सम्पन्न भइसकेको छ भने गौरीशङ्कर संरक्षण क्षेत्र (जिक्याप) ले समेत आयोजनाका लागि आवश्यक स्वीकृति प्रदान गरिसकेको छ ।’
यसका लागि जिक्याप, संरक्षण विभाग तथा स्थानीय तहको समन्वयमा भोगाधिकार र स्वीकृतिका लागि आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए । यस कार्यमा विशेष गरी विगू गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको पहल तथा समन्वय महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
‘सामान्य प्रक्रियाबाट अघि बढाइएको भए वन कार्यालयले सूचना जारी गर्ने लगायतका चरण पूरा गर्न कम्तीमा ६ महिना लाग्थ्यो,’ उनले भने, ‘प्रशासनिक सहजीकरण र सम्बन्धित निकायबीचको समन्वयका कारण सो प्रक्रिया करिब १ महिनामै पूरा गर्न सकियो ।’ अबको दुई–तीन दिनभित्रै आयोजनाको निर्माण कार्य पूर्ण रूपमा सुचारु हुनेसमेत उनले स्पष्ट पारे ।
उनका अनुसार हाल आयोजनामा सिभिलतर्फको लट–१ अन्तर्गतका कामहरू मात्र सञ्चालनमा रहेका छन् । निर्माण व्यवस्थापनको अर्को महत्त्वपूर्ण चरण लट–२ को ठेक्का प्रक्रिया भने अन्तिम चरणमा पुगेको छ । यसका लागि प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आशयपत्र पेस गर्न आह्वान गर्दै सूचनासमेत जारी भइसकेको छ । ठेक्का प्रक्रिया टुङ्गिएपछि लट–२ अन्तर्गतका निर्माण कार्य पनि सुरु हुने अपेक्षा गरिएको छ ।
आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको प्रबन्ध निर्देशक यादवले बताए । आयोजनाको आरसिओडी (निर्धारित व्यावसायिक सञ्चालन मिति) २०८५ असार तय गरिएको छ । सो समयसीमाभित्र आयोजना निर्माण सम्पन्न गर्न आयोजनामा संलग्न ठेकेदार, परामर्शदाता तथा प्राविधिक टोलीले प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ छ ।
आयोजनाको भौतिक प्रगति पनि क्रमशः बढ्दै गएको छ । काम रोकिनुअघि आयोजनाको भौतिक प्रगति करिब १८ प्रतिशत पुगेको थियो । समस्या समाधान भएर काम पुनः सुरु भएसँगै हालसम्म आयोजनाको भौतिक प्रगति २१ प्रतिशत पुगेको उनले उल्लेख गरे ।
अब बाँकी रहेका प्रशासनिक तथा प्राविधिक प्रक्रिया क्रमशः टुङ्ग्याउँदै आयोजना निर्माणलाई तीव्र गतिमा अघि बढाइने छ । स्थानीय तह, संरक्षण क्षेत्र, प्रशासन र प्राविधिक टोलीबीचको सहकार्य कायम राख्दै निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
तामाकोसी पाँचौँ आयोजना निर्माण सम्पन्न भएपछि विशेष गरी दोलखा तथा आसपासका क्षेत्रको ऊर्जा पूर्वाधार सुदृढ पार्न तथा राष्ट्रिय ऊर्जा आपूर्ति प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
तामाकोसी–५ र २० मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण भएपछि माथिल्लो तामाकोसी जलाशयले यी आयोजनाले छाडेको पानी समेत पाउने छ । यसले गर्दा उक्त आयोजनाले ६ घण्टा ४५६ मेगावाटको पिकिङ इनर्जी दिने अपेक्षा गरिएको छ । माथिल्लो तामाकोसीले हाल सुक्खायाममा ४ घण्टा मात्रै ४५६ मेगावाट दिन सक्छ ।