काठमाडौँ । सल्यानको बागचौर नगरपालिकाका करिब १०० घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सल्यान वितरण केन्द्रले बिहीबारदेखि उक्त स्थानमा विद्युत् सेवा पुर्याएको हो ।
विद्युतीय सुरक्षा दिवसका अवसरमा नगरपालिका प्रमुख तथा वडा अध्यक्षको उपस्थितिमा विद्युत् सेवा शुभारम्भ गरिएको केन्द्रका प्रमुख नरेशदत्त रावलले ऊर्जा खबरसँग बताए । दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रमसहित ५० केभिए क्षमताका २ थान ट्रान्सफर्मर चार्ज गरी सञ्चालनमा ल्याई उक्त स्थानमा विद्युत् सेवा पुर्याएको उनले जानकारी दिए ।
उनका अनुसार बागचौरको वडा ९ मा पर्ने परिलेखमा एक थान र मौरेघारीमा १ थान गरी दुई थान ट्रान्सफर्मर जडान गरी सञ्चालनमा ल्याएको छ । गाउँमा राष्ट्रिय प्रसारणको बिजुली आएपछि स्थानीय खुसी भएका छन् ।
सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको उक्त क्षेत्रमा बिजुली सुविधा पुगेसँगै शीत भण्डारसहित लिफ्ट सिँचाइ तथा खानेपानी आयोजना सञ्चालनमा समेत सहजता आउने अपेक्षा गरिएको छ ।